कार्यविधि नहुँदा सुन दान लिन सकेका छैनौँ : संस्कृतिमन्त्री पाण्डे

हिमाल प्रेस १५ फागुन २०८१ १५:०३
18
SHARES
कार्यविधि नहुँदा सुन दान लिन सकेका छैनौँ : संस्कृतिमन्त्री पाण्डे काठमाडौँको गुह्येश्वरीमा बिहीबार धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालको कार्यालय शुभारम्भ समारोहमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत। तस्बिर : हिमालप्रेस

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कार्यविधि नभएका कारण पशुपति मन्दिरका लागि सुन दान लिन नसकिएको बताएका छन्। धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)को बिहीबार गुह्येश्वरीमा शुभारम्भ गर्दै उनले अब चाँडै कार्यविधि बनाएर सुन दान लिइने बताए।

उनले कार्यविधि नभएकै कारण गोवाका मुख्यमन्त्रीले पशुपति मन्दिरको शिवलिंगको नाग परिवर्तनका लागि सुन दान दिन्छु भन्दा पनि स्वीकार गर्न नसकिएको बताए। मन्त्री पाण्डेले भने, ‘गोवाका मुख्यमन्त्रीबाट पशुपति शिवलिंगको नाग परिवर्तन गर्नका लागि कति सुन चाहिन्छ दिन्छु भन्ने प्रस्ताव आएको छ।’ मन्दिर क्षेत्रमा दान लिइने सुनका विषयमा कार्यविधि बनाउन समिति गठन गरिएको जानकारी पनि मन्त्री पाण्डेले दिए।

‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ। पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ’, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका पाण्डेले भने।

मन्त्री पाण्डेले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने बताए। ‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरुले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ’, उनले भने। धर्म र संस्कृतिका क्षेत्रमा कलम चलाउने पत्रकार अरुका तुलनामा अनुशासित एवं उदाहरणीय बन्नुपर्ने मन्त्री पाण्डको विचार थियो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवर्द्धन महाशाखाका प्रमुख डा. वंशदीप शर्मा खरेलले अथर्ववेदको उपवेदका रूपमा रहेको आयुर्वेद सनातन चिकित्सा पद्धति हो भन्दै यसको विशेष संरक्षण र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए। समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले २०७६ देखि अनौपचारिक मञ्चका रूपमा काम गरिसकेपछि धर्म, संस्कृतिका विषयमा कलम चलाउने पत्रकारको अनुरोधअनुसार वैधानिक संस्थाको स्वरुप दिइएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast