
काठमाडौँ- रूपन्देहीको कञ्चन गाउँपालिका-१ बेलबरियाका राजन पौडेल वार्षिक ७० लाख रुपैयाँको च्याउ बेच्छन्। उनले सञ्चालन गरेको टिम स्पिन्जर च्याउ फार्ममा च्याउको बिउसँगै केन्य र मिल्की जातका च्याउ उत्पादन हुने गरेको छ। ७० लाख रुपैयाँको बिक्री गर्दा ३० लाखसम्म नाफा हुने गरेको पौडेलले जानकारी दिए। उनले भने, ‘पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने छैन। जाँगर भए आफ्नै बारीमा पैसा फल्छ।’ कन्ये च्याउको बजार मूल्य किलोको दुई सयदेखि दुई सय ५० रुपैयाँ छ। मिल्की च्याउ दुई सय रुपैयाँ केजीमा बिक्री भइरहेको पौडेलले बताए।
परिवारका हरेक सदस्यको मिहिनेतले सफलता हासिल भइरहेको उनले बताए। ‘सुकुटी च्याउको व्यापार पनि राम्रै फस्टाइरहेको छ। च्याउको बजारमा राम्रो माग छ। कन्ये च्याउ बाह्रै महिना उत्पादन हुन्छ। सिजन हेरेर मिल्की र डल्ले च्याउ उत्पादन हुन्छ’, उनले भने। एक बिघामा २० वटा टनेलभित्र च्याउ खेती गरेका पौडेलले च्याउको बिउ पनि उत्पादन गर्छन्।
उनी भन्छन्, ‘मिहिनेतले फल दिएको छ। त्यही भएर च्याउखेती रोजेँ। म अहिले यसैमा खुसी छु। विदेश जानुभन्दा नेपालमै कृषि कर्म गर्छु भनेर गाउँमै बसेँ।’
पौडेलका बुबाले पनि च्याउखेती गरेका थिए। बुबालाई सघाउने क्रममा च्याउखेतीप्रति आकर्षण बढेको उनी बताउँछन्। पौडेलले १ किलो परालमा ८ सय ग्रामदेखि १ किलोसम्म च्याउ उत्पादन गर्छन्। उनले फार्ममा दैनिक तीन सयदेखि पाँच सय केजी केन्य र मिल्की च्याउ उत्पादन हुने गरेको बताए। पौडेलले च्याउखेतीका लागि प्रशिक्षकका रूपमा विभिन्न संघसंस्थामार्फत तालिम समेत दिने गरेका छन्।
च्याउखेतीका लागि खासै ठूलो लगानी नलाग्ने उनी बताउँछन्। उनले १४ वर्षअघि २-३ लाख लगानीमा च्याउ खेती सुरु गरेका थिए। अहिले त्यही लगानी बढेर एक करोडभन्दा बढी पुगेको छ। कन्ये च्याउ गहुँको छ्वाली, मकैका खोस्टा, तोरीको डाँठलगायतमा पनि फलाउन सकिन्छ। परालमा खेती गर्न सजिलो हुँदा यसैको प्रयोग बढी हुने पौडेलले बताए।
च्याउको बिउलाई लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बिक्री गर्दै आएको उनले जानकारी दिए। बुबाकै साथसहयोग पाएर आफू उद्यमी बन्न सफल भएको पौडेल बताउँछन्। आफ्नो खेतीमा उत्पादन भएको च्याउ पूर्ण रूपमा अर्गानिक भएका कारण मागअनुसार उत्पादन गर्न नसकिएको पौडेलले बताए।
पौडेललाई सुरुमा कुनै ‘ब्रान्ड नेम’ नभएसम्म उपभोक्ताले झट्टै विश्वास नगर्लान् भन्ने डर थियो। आत्मविश्वासका साथ उत्पादनमा जोड दिँदा आफू सफल भएको उनी बताउँछन्। ग्रामीण भेगको कृषि क्षेत्रमा चुनौती थुप्रै छन्। मुख्य बजार टाढा र सडकको पहुँच नहुँदा कृषिमा ठूलो समस्या भए पनि राज्यले बेवास्ता गर्दै आएको उनको आरोप छ। उनलाई सरकारले बजारीकरण, बिउ, मल र प्राविधिक क्षेत्रमा सहयोग गरोस् भन्ने अपेक्षा छ।
सरकारले अनुदानभन्दा पनि कृषि उत्पादनमा तालिम दिनुपर्ने उनको माग छ। सरकारले अनुदानका नाममा पैसा बाँड्दा कतिपय व्यक्तिलाई मात्र फाइदा भएको उनी बताउँछन्। उनले भने, ‘च्याउखेतीमा प्लास्टिक र पराल चाहिने हो। पराल किसानसँगै हुन्छ प्लास्टिक किन्नुपर्छ। यसका लागि सरकारले सामान्य तालिम दिए मात्र हरेक नेपालको घरघरमै च्याउ उत्पादन गर्न सक्छन्।’
पछिल्लो समय स्थानीय तहले नयाँनयाँ कार्यक्रम सञ्चालन गरे पनि किसानसम्म नपुगेको उनी बताउँछन्। कृषि कर्ममा लाग्ने युवाहरुको संख्या बढ्दै गए पनि सरकारले व्यवस्थापन गर्न नसकेको पौडेलको आरोप छ।