
आज महाशिवरात्री। आराध्यदेव पशुपतिनाथको विशेष पूजाअर्चना दिन। सनातन हिन्दु धर्मावलम्बीहरू शिव स्तुतिमै व्यस्त भएका छन्। आजै नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाको स्थापना दिवस पनि हो। सेनाले नेपालको प्रमुख धर्मका रूपमा रहेको हिन्दुत्वलाई आफ्नो शक्तिको आधार मान्दै आएको छ। सबै गणको नाम देवीदेवताका नाममा छन्। गणमा देवीदेवता र कोतको नित्यपूजा हुन्छ। दैवीशक्तिलाई आफ्नो सैन्य क्षमताको महत्त्वपूर्ण पक्षका रूपमा लिएको नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ।
सेनाले काठमाडौँको सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। जंगीअड्डा मातहत तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि विभिन्न कार्यक्रम आयोजना भएका छन्। शान्ति सेनामा खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा पनि सेना दिवस मनाउने चलन छ।
तत्कालीन राजा पृथ्वीनारायण शाहको कमान्डमा नेपालको पहिलो सैनिक संरचना बनेको तथ्यका आधारमा सेनाले स्थापना दिवसका रूपमा मनाउन थालेको हो। पृथ्वीनारायण शाहले शिवरात्रीकै दिन गोरखाली सेना तय गरेर साना राज्यमाथि आक्रमण गरी नेपाल एकीकरण प्रक्रिया अगाडि बढाएको इतिहासमा पढ्न पाइन्छ। सेनाले स्थापना दिवस मनाउन थालेकोचाहिँ तीन दशकअघिदेखि हो। नेपाली सेना स्थापनाको एउटै मिति नभएकै कारण पृथ्वीनारायण शाहको कमान्डमा तय भएको दिन अर्थात् शिवरात्रीलाई सेना दिवसका रूपमा मनाउन थालिएको सैन्य अधिकारीहरू बताउँछन्।
नेपाली सेना दक्षिण एसियाली क्षेत्रकै पुरानो सेना पनि मानिन्छ। नेपाली सेनाको गठन सन् १७४४ (१८०१ साल) मा भएको थियो। त्यतिबेलादेखि समूहमा उत्रिएर लडाइँमा होमिएको नेपाली सेना यस क्षेत्रकै पुरानो रहेको सैन्य इतिहासविद्हरू बताउँछन्। उनीहरूका अनुसार नेपाली सेनाको स्थापनाको ठ्याक्कै मिति भेटिएको छैन।
नेपाली सेनाका पूर्वसहायक रथी एवम् इतिहासविद् प्रेमसिंह बस्न्यातले नेपाली सेनाको गठन विक्रम संवत् १६१६ मा भएको उल्लेख गरेका छन्। गोरखा राज्यको स्थापनासँगै सेना गठन भएको उनको निष्कर्ष छ। उनका अनुसार गोरखा राज्यको फौज संगठित भएकै वर्ष नुवाकोट र कान्तिपुरमाथि विजय हासिल गरेपछि नेपाली सेनाले शाही नेपाली सेनाका रूपमा परिचय बनाएको हो।
इतिहासविद् दिनेशराज पन्तका अनुसार ब्यारेकीय हिसाबले नेपाली सेनाको स्थापना विक्रम संवत् १८१९ फागुन १० गते (२ सय ६२ वर्षअघि) भएको हो। त्यतिबेला गोरखा गोरख गणका रूपमा स्थापना भएको थियो। त्यसअघि नेपाली सेना रहे पनि गण बनिसकेको थिएन। बस्न्यातको अध्ययनलाई आधार मान्ने हो भने नेपाली सेना यतिबेला ४६५ वर्ष भएको मानिन्छ। सेना आफैँले भने २ सय ६२ वर्षअघि स्थापना भएको मान्दै आएको छ। अर्थात् नेपाली सेनाले आफ्नो सांगठनिक स्वरूप १८१९ सालदेखि सुरु भएको मान्दै आएको छ।
नेपाली सेना ४६५ वर्षअघि स्थापना भएको भन्ने आधार पुष्टि हुन सकेको छैन। सोही कारण नेपाली सेना २ सय ६२ वर्षअघि गठन भएको मानिन्छ। यद्यपि यसबारे खोजअनुसन्धान जारी छ। स्थापना भएको करिब दुई सय वर्ष गोरखाको संगठित सेनाले लडाइँ लडेन। त्यही कारण पनि सेनाको इतिहास छोटिएको हुनसक्ने इतिहासविद्हरू बताउँछन्। गोरखा राज्यमा भगीरथ पन्तको कमान्डमा सुरु भएको नेपाली सेनामा हाल अशोकराज सिग्देल प्रमुख छन्।
तत्कालीन गोर्खा फौजबाट शाही नेपाली सेना बनेको नेपाली सेनाको वीरता, साहस र समर्पणबाट बेलायतीहरू प्रभावित भएका थिए। उनीहरू ब्रिटिस इस्ट इन्डिया कम्पनीमार्फत छिमेकी भारत प्रवेश गरिसकेका थिए। बेलायतीहरूले नेपालीलाई आफ्नो सेनामा लिन थालेको भने सुगौली सन्धि (सन् १८१६) पछि हो। भारतीय र बेलायती सेनामा पनि नेपाली युवा भर्ती हुन पाउँछन्।
बेलायतसहित धेरै मुलुकले नेपाली सेनाको प्रशंसा गर्दै आएका छन्। नेपाली सेनाले दुवै विश्वयुद्ध र त्यसपछि शान्ति स्थापना कार्यमा देखाएको इमानदारी, वीरता र बहादुरीका कारण प्रशंसा पाएको हो।
विश्वशान्तिका लागि नेपाली सेना अहिले पनि विश्वभर फैलिएको छ। नेपाली सेनाले २०१५ सालदेखि राष्ट्रसंघमार्फत विश्वशान्तिमा योगदान गर्दै आएको छ।
भारतीय सिपाही विद्रोह दमनका लागि १९१० सालमा नेपाली सेना भारत पुगेको थियो। त्यसपछि प्रथम विश्वयुद्ध र बजरिस्तानको लडाइँ लडेको नेपाली सेनाले अफगानिस्तानमा अंग्रेजका पक्षमा लडेको थियो। यसैगरी नेपाली सेनाले दोस्रो विश्वयुद्धमा भारतलाई साथ दिएर लडाइँ लडेको थियो। नेपाली सेनाले तत्कालीन भोट राज्य अर्थात् तिब्बतसँग तीन पटक लडाइँ लडेको थियो। एकपटक तिब्बत र चीनसँग संयुक्त लडाइँ लडेर विजय समेत हासिल गरेको थियो।
पृथ्वीनारायण शाहको नाातिका पालासम्म राज्य विस्तार अभियान पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म पुगेको थियो। तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीसँगको युद्धमा भूभाग गुमाएपछि सन् १८१६ मा सुगौली सन्धि भएको थियो।
नेपाली सेनाले मित्र मुलुकलाई पनि गुन लगाएको छ। भारतमा गएर युद्ध लडेकै हो। खम्पा विद्रोह नियन्त्रणमा लिने काम पनि नेपाली सेनाबाट भएको थियो। खम्पा विद्रोह रोकेर नेपाली सेनाले उत्तरी छिमेकीको पनि मन जितेको थियो। फकल्यान्ड युद्ध होस् या अन्य बाह्य युद्धमा पनि नेपाली सेनाको नाम उत्तिकै लिइन्छ।
नेपाली सेनालाई शाहवंशीय शासनको ११ औँ पुस्तासम्म शाही नेपाली सेनाका रूपमा चिनिन्थ्यो। तत्कालीन शाही नेपाली सेनाले राजा ज्ञानेन्द्रलाई साथ नदिएर नेपाली नागरिकको सेना हुन स्वीकार गरेपछि २०६५ सालमा राजतन्त्र अन्त्य भएको हो। २०६३ साल जेठ ४ गते पुनर्स्थापित प्रतिनिधिसभाको घोषणाबाट शाही नेपाली सेनाको नाम नेपाली सेनामा परिवर्तन गरिएको थियो।
२०६३ सालमा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरबारको नियन्त्रण पूर्ण रूपमा अन्त्य गरी संसद् मातहत ल्यायो। २०६८ सालमा तत्कालीन माओवादी लडाकुलाई समेत समायोजन गरिएपछि नेपाली सेनाको संख्या करिब एक लाख रहेको बताइन्छ। सेनामा महिलाको प्रवेश पनि भइरहेको छ। महिलाको संख्या पाँच प्रतिशत पुर्याउने लक्ष्य लिए पनि बढ्दै गएको छ।
नेपाली सेना विकास निर्माणमा पनि संलग्न छ। असजिला विकास निर्माण कार्य नेपाली सेनालाई दिने गरिएको छ। सेनाले बनाएका सडक मुलुकका विकट पहाडी क्षेत्रमा भरपर्दो मानिएका छन्। काठमाडौँ-मधेश जोड्ने रणनीतिक मार्गका रूपमा परिचित काठमाडौँ-निजगढ (द्रूत मार्ग) नेपाली सेनाले बनाइरहेको छ। यसमा पनि केही सेना र केही राजनीतिक दलका नेताको स्वार्थ समूहले गर्दा मुअब्जा टुंगो लाग्न सकेको छैन। अन्य स्थानमा पनि कैयौँ गुणा महँगो टेन्डर दिएर समयमा काम सम्पन्न हुन नसक्ने देखिएको छ।
सेनाभित्र अनुशासित ढंगले काम हुन नसक्दा यसमा पनि समस्या आएको हो। सेनाको नेतृत्वमा पुगेपछि सीमित व्यक्तिको घेरामा पर्ने र त्यहाँ सेवा निवृत्त (रिटायर्ड) पछि आफ्ना केही पुस्तालाई पुग्ने रकम जम्मा गर्ने सोच राख्नाले समयमा काम पूरा नभएको देखिन्छ। राजनीतिक नेतृत्वको साथ लिएर सेनाले इमानदारिताका साथ कुरा गरेमा मुआब्जा समस्याको विषय होइन। राजनीतिक नेतृत्व भड्किएला र आफ्ना कमजोरी बाहिर आउला भनेर त्यसमा पहलकदमी लिने आँट सेनामा देखिँदैन।
सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो। राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ। सेनामा अनुशासन, चेनअफ कमान्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ। पछिल्लो समय सेनामा लडाइँ नलडी भाग्ने प्रवृत्ति देखिएको छ। सेनाभित्र केही उच्च अधिकारी श्रीमतीलाई विदेशी नागरिक बनाएर आफू पनि त्यसतर्फ जान खोजेको चर्चा हुन थालेको छ। त्यस्ता सैनिक अधिकारीले मुलुकका लागि कसरी लड्ला भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ।
त्यस्तो विषयमा कतिपय उच्च सैनिक अधिकारीको नाम मुछिँदा पनि नेतृत्वले बेवास्ता गर्ने प्रवृत्ति बढेको अवस्था छ। सेनाको श्रीमती/श्रीमान्ले विदेशी नागरिकता लिएर विदेशमा बस्ने अनि नागरिकता र पासपोर्टमा मिति फरक पारेर चलाखीपूर्ण ढंगले व्यवस्थापन गर्ने कार्य सेनाभित्र हुन थालेको जंगीअड्डाका अधिकारीहरू बताउँछन्। यस्तो विषयमा नेतृत्व पनि जानकार छ। संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले विदेशी नागरिकता लिने र लिनका लागि तयारी गरेको जानकारी मात्र थाहा भएमा पनि सेनाका अधिकारीमाथि छानबिन गरिने बताएका छन्। यस्तो मामिलालाई मजाकको रुपमा सेनाले लिन नखोज्नु भन्दै खतिवडाले सेनाको नेतृत्वलाई सचेत गराएका हुन्।
सेनामा नागरिकता काण्ड सामान्यझैँ देखिएको भन्दै उनले यसतर्फ पनि संसद्मा कुरा उठाउने बताए। यसलाई गम्भीर रूपमा नेतृत्वले लिएन भने यो त्रुटिमा सेनाले संसद्मा नेतृत्वदेखि नै जवाफ दिनुपर्ने हुन्छ। नेपाली सेना भनेको मुलुकको हितमा अन्तिमसम्म लड्न तैनाथ संगठन हो। यति जिम्मेवारी बोकेको संगठनका अधिकारीहरूकै विदेश मोह जाग्ने हो भने यसले नेपालको रक्षा कसरी गर्न सक्छ भन्ने प्रश्न उठेको छ। यो सामान्य प्रश्न होइन।
सकारात्मक सोच राखेर र गलतलाई गलत तथा राम्रोलाई राम्रो भन्ने र केही बिचौलियालाई चिरेर अघि बढ्न सकेमा नेपाली सेना साँच्चै गर्व गर्नलायक छ। बेलाबेलामा नेपाली सेनाले राजाको सुरक्षा त गर्न सकेन अन्यको के गर्ला? भन्ने पनि प्रश्न उठ्दै आएको छ।
नेपाली सेनाले राष्ट्रिय सम्पत्तिका विभिन्न क्षेत्रमा विश्वासिलो गरी सुरक्षा दिन आवश्यक छ। उदाहरणका लागि बिजुली, टेलिफोन टावर, ऐतिहासिक गढी र दरबार, राष्ट्रिय निकुञ्ज तथा संग्रहालयको सुरक्षा नेपाली सेनाले दिइरहेको छ। यसबाट सैनिक-नागरिक सम्बन्ध बलियो बन्दै पनि गएको छ।
मानवअधिकारको विश्वव्यापी मान्यता आत्मसात् गर्दै नेपाली सेना अघि बढिरहे पनि त्यसलाई जनमानसमा पुर्याउन भने चुकेको छ। चेन अफ कमान्डमा चले पनि चित्त नबुझेको विषय कानुनतः राख्दासमेत कारबाहीमा पर्ने र वरिष्ठविरुद्ध केही बोल्नेबित्तिकै नजरमा पर्ने प्रवृत्ति सेनाभित्र कायमै छ। यो दास प्र था जस्तै हो। केही गल्ती देखेर बोलेको होला, यसमा सच्चिनुपर्छ भन्ने सोच सैनिक नेतृत्वमा आएको देखिँदैन। आफू अनुकूल भए राम्रो अनुकूल भएन वा प्रश्न उठ्यो गलत भन्ने प्रचलनबाट सेना माथि उठ्न सकेको छैन।
विपत्मा नेपाली जनताको जिउज्यानको सुरक्षा दिन पनि सेना अघि सर्दै आएको छ। त्यो सेनाको गर्विलो पाटो हो। त्यसमा अडेर सेना अघि बढ्न सकेमा नेपाली सेनाले अहिले मनाइरहेको २६२ औँ सेना दिवसको सान्दर्भिकता उच्च हुन्छ। अन्यथा संविधानअनुसार नेपाली सेनाको परमाधिपतिका रूपमा राष्ट्रपति रहेकाले त्यही वरिपरि घुम्ने, विदेश जाने हतियार मात्रै बनाउने, राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने बहानामा राजनीतिक नेतृत्व र बिचौलियासँग मिलेर मुलुक खोक्रो पार्ने काम मात्र हुनेछ। अनि सेना आमआलोचनाको केन्द्रमा रहनेछ। सेना महत्त्वाकांक्षी बनेमा मुलुक पाकिस्तान र बंगलादेशजस्तो हुने विषय हामीले भुल्न हुँदैन।
नेपाली सेनाको आधुनिकीकरणमा भारतले प्रशिक्षण दिएको हो। भारत र नेपाली सेनाबीच मानार्थ प्रधानसेनापतिको सम्बन्ध छ। त्यो मानार्थको अर्थ नेपाली सेना र भारतीय सेना एकअर्काबीच सहकार्य गर्छन् र एकले अर्कालाई पछ्याउँछन् भन्ने पनि हो। जसरी भारतमा सेना राजनीतिक नेतृत्वअन्तर्गत रहेर काम गर्छ त्यसरी नेपाली सेनाले पनि काम गर्न आवश्यक छ। बंगलादेश र पाकिस्तानमा जस्तो राजनीतिक नेतृत्वलाई सुझाउने वा शासन हत्याउने चरित्रको सेना हुनु हुँदैन। यसमा राजनीतिक नेतृत्व पनि चनाखो हुनुपर्छ।
प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने अधिकार भएकाले पनि सेना आमनागरिकको हो भन्ने बुझ्नुपर्छ। सैनिक संरचना पनि त्यसरी बनेको छ।
विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने शिक्षालय नेपालमा छ। जस्तै- वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेज, वार कलेज नगरकोट आदि। इन्जिनियरिङ कलेज र विश्वविद्यालय स्थापना गर्न लागेको सेनाले पाकिस्तान र बंगलादेशको शैली अपनाउनु उचित होइन। यसमा सचेेत हुनै पर्छ।
छिमेकी भारतको वा अमेरिकी सेनाको गतिलाई पकड्न आवश्यक छ। शैली भने आफ्नै मुलुक सुहाउँदो हुनुपर्छ। विश्वशान्तिका लागि लडेको, नागरिक एकताको प्रतीकका रूपमा रहेको नेपाली सेना विश्वमा शान्तिका लागि पहिलो रोजाइ बनेकोले त्यो स्तर कायमा राख्न सफल रहनुपर्छ। बिचौलियाबाट सेना बच्नुपर्छ। मानार्थ भारतको तर अभ्यास बंगलादेश र पाकिस्तानको जस्तो हुनु हुँदैन।
विपत् व्यवस्थापन र असजिला ट्र्याक एवम् सडक निर्माणमा आमनागरिकको मन जितेको नेपाली सेनाभित्र अधिकृतलाई मोजमस्ती सिपाहीलाई बंकरको बास पार्नु हुँदैन। राजनीतिक मामिलामा सेना आफैँ बोल्दै हिँड्ने पनि होइन। सेनाको जिम्मेवारी नेतृत्वलाई सुरक्षा परिषद्मार्फत सुझाव दिनु हो। सेनाको प्रवक्ताको कार्यालयले राजनीतिक कुरा बोलिदिने हो भने सेनाको कद घट्नेछ।
यससम्बन्धमा पूर्वराजा ज्ञानेन्द्रको शाहीकाल स्मरणीय छ। त्यतिबेला ज्ञानेन्द्रकै हठले शाही विरासत अन्त्य भयो। त्यसैले सेनाको नेतृत्वले सानो भन्दा सानो कुरालाई ध्यानमा राख्नुपर्छ। सैनिक नेतृत्व राजनीतिक नेतृत्व खुसी हुन्छ भनेर पुस्तक लोकार्पण र सामान्य कार्यक्रममा जानु उचित होइन। सेनाले पनि भाषण गर्दै हिँड्ने हो भने दलका नेता र सेनामा के फरक? सैनिक नेतृत्वले सेना दिवसमा यस्ता विषयमा ध्यान पुर्याओस्। जय शम्भो! जय नेपाली सेना!!