
काठमाडौँ- देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले बारा, झापा, तनहुँबाट मंगलबार पक्राउ गरेको हो।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम १ किलो ७५० ग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने २१ वर्षीय रवीन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा.६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
झापाको दमक नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२० ट्याब्लेट र स्पास्पेन १२० ट्याब्लेटसहित पाँचथर मिक्लाजुङ गाउँपालिका-५ रबि बस्ने २६ वर्षीय विशाल भुजेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेटसहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ भुलभुले बस्ने ३० वर्षीय श्याम कुमार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौँबाट लमजुङतर्फ आउँदै गरेको बा.२ ख १४३९ नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।