
काठमाडौँ- महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिँदैछ।
महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्। आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ। पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ।
९ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ। यो करिब पौने १२ बजे सकिन्छ। करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ। पौने तीन बजे हाराहारीमा यो सकिन्छ। चौथो प्रहर पूजा करिब ३ बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ। जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ।
महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्त्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ। प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ।
यसबाट आशुतोष भगवान् शिव खुशी हुने धार्मिक विश्वास छ। यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गंगाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहेको छ।
यसैबीच पशुपति क्षेत्रमा आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए।
राति २ बजे नै खुले पशुपतिका चार ढोका खुले
महाशिवरात्रिका अवसरमा मंगलबार राति २ बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ। यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्नसक्ने गरी व्यवस्थापन गरिएको छ।
कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्किने गरेका छन्। गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ। नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ।
यो वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए। सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ।
मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली-गौशाला तथा एयरपोर्ट-तिलगंगा भएर पिंगलास्थान-सुमार्गी भवन हुँदै चार शिवालय-पञ्चदेवल दक्षिण ढोकाबाट एक-एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
यसैगरी तिलगंगा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए।
नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगंगा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ। आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्छ।
महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ। रासस