
पोखरा- पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणमा छानबिनका लागि अर्का एक जना इन्स्पेक्टर पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा विवेक जोशी हुन्। उनलाई पोखरास्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
मंगलबार कास्की जिल्ला अदालतबाट घटनाको अनुसन्धानका लागि ७ दिन म्यादसमेत थप भइसकेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
सिन्धुपाल्चोककी २८ वर्षीया महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्। इन्स्पेक्टर बेसिकको तालिम गरिरहेकी उनी शनिबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकको महिला शौचालय नजिक बिममा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
महतको प्रेमी भनिएका १६ बेसिकका ती इन्सपेक्टर जोशीविरुद्ध महतको परिवारले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएको थियो। उनीहरूबीच प्रेम सम्बन्ध रहेको र प्रेमीकै कारण महतले ‘आत्महत्या’ गरेको परिवारजनको दाबी छ।
यसैबीच सशस्त्र प्रहरी हेडक्वार्टरले उक्त घटनाको छानबिन गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।
२०७२ सालमा सिपाही पदमा नाम निकालेर सेवा प्रवेश गरेकी महतले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। गत वर्ष सशस्त्र प्रहरी निरीक्षक पदमा नाम निकालेर उनले तालिम सुरु गरेकी थिइन्।