
काठमाडौँ- नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियानअन्तर्गत पहिलो दिन सोमबार झापामा आयोजित कार्यक्रममा मञ्चमा बोल्दाबोल्दै झोक्किएर गायब भएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार चितवन पुगेर माफी मागेका छन्। श्रेष्ठले भने, ‘त्यो घटनालाई लिएर सबैप्रति म सकारात्मक धारणा राख्दै म सार्वजनिक रूपमा म क्षमा चाहन्छु।’
झापाको कार्यक्रममा नारायणकाजीले आफूलाई कम बोल्न दिन प्रयास गरिएको भन्दै बोल्दाबोल्दै झोक्किएर छोडेर हिँडेका थिए। नारायणकाजी मन्तव्य राखिरहँदा झापाका माओवादी संयोजक राजु आचार्य छेउमा पुगेका थिए। त्यसै क्रममा श्रेष्ठले, ‘मैले सक्नुपर्ने भयो?’ भन्दै रिसाएका थिए। आचार्यले होइन होइन भन्दा पनि उनी आफ्नो भनाइ नसक्दै हिँडेका थिए।
श्रेष्ठले आफूले बोल्न सुरु गर्दा मनोवैज्ञानिक अवरोध गरिपछि आफूलाई बिझाएको बताए। यद्यपि उनले त्यसलाई सामान्य घटनाका रूपमा लिन अनुरोध गरेका छन्। श्रेष्ठले भने, ‘मैले बोल्न सुरुवात मात्रै के गरेको थिएँ, अलिकति त्यहाँ मनोवैज्ञानिक अवरोध जस्तो स्थिति पैदा भयो। त्यसले मलाई बिझायो नै। त्यो कुरा सत्य हो। यसलाई सामान्य घटनाका रूपमा लिन अनुरोध गर्दछु।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा असाधारण एकता सुदृढ हुँदै गएको बताए। उनले भने, ‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा अहिले हामी पार्टीको रूपान्तरण र पुनर्गठन अभियान अगाडि बढाइरहेका छौँ। यो पार्टीलाई एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउने प्रक्रिया अगाडि बढ्दैछ। यसमा अझ हामी प्रभावकारी ढंगमा अगाडि बढ्छौँ। त्यो घटनासँग यसको कुनै सम्बन्ध छैन।’
झापामा आफूले देखाएको व्यवहारले पार्टीले जारी राखेको अभियानलाई कुनै असर नपार्ने भनाइ श्रेष्ठको छ। उनले अभियान असाधारण ढंगले सफल हुने दाबी गरे। मधेश केन्द्रित अभियानमा अध्यक्ष प्रचण्डसहित अन्य शीर्ष नेता संलग्न रहे पनि श्रेष्ठ भने चितवन पुगेका छन्। उनले अभियानमा कहिलेदेखि समेटिने भनेर केही बताएका छैनन्।