
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यालय शिक्षा विधेयक-२०८० संसद्को चालु अधिवेशनबाट पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन्। बूढानीलकण्ठस्थित उनकै निवासमा मंगलबार बिहान पुगेका नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले विधेयक पारित गर्न आफूले पहल गर्ने बताएका हुन्।
भेटमा सहभागी महासंघका एक प्रतिनिधिले हिमालप्रेससँग भने, ‘प्रधानमन्त्रीसँग १/२ दिनमा भेट हुन्छ। म कुरा गर्छु’ भन्नुभयो।’ महासंघ टोलीले चालु अधिवेशनबाटै शिक्षक कर्मचारीका सहमतिअनुसार विधेयक पारित गराउन पहलकदमी लिइदिन देउवासँग आग्रह गरेको थियो। विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। देउवाले महासंघका प्रतिनिधिहरूसँग १० मिनेट कुरा गरेका थिए।
देउवाले महासंघको टोलीलाई विधेयकका विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेटेर विधेयक पारितका विषयमा दबाब दिन निर्देशन दिएका थिए। सभापति र मन्त्रीलाई भेटिसकेको जानकारी गराउँदै महासंघका प्रतिनिधिले सभापति देउवालाई भने, ‘विधेयक पारित गर्न अब सभापतिज्यूले नै ले पहल लिइदिन आग्रह गर्दर्छौं।’
देउवाले महासंघका प्रतिनिधिलाई शिक्षा विधेयक समस्या समाधान गर्न बनेको संयन्त्रलाई पनि भेट्न आग्रह गरेका थिए। संयन्त्रमा कांग्रेसबाट रमेश लेखक, गगनकुमार थापा र पूर्णबहादुर खड्का तथा एमालेबाट शंकर पाेखरेल र योगश भट्टराई छन्।
सभापति देउवालाई भेट्न नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, संस्थागत विद्यालय शिक्षक युनियनका कार्यवाहक महासचिव भूपाल उप्रेती, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीलगायत बूढानीलकण्ठ पुगेका थिए।