
काठमाडौँ- नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बिमा क्षेत्रलाई विकास र अर्थतन्त्रको महत्त्वपूर्ण अंग बनाउन सक्रिय रहने बताएका छन्। प्राधिकरणको कार्यकारी अध्यक्षमा सोमबार नियुक्त भएका ओझाले बिमा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन विभिन्न योजना ल्याउने पनि बताए।
ओझाले भने, ‘नेपालको बिमा क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन नयाँ योजना ल्याउनेछु। बिमाका फाइदा-बेफाइदा र यसले सीधा विकाससँगै अर्थतन्त्रसँग जोड्ने पहल गर्नेछु’, उनले भने। यसैगरी बिमा साक्षरता र बिमा वित्त तालिमलाई थप व्यवस्थित बनाइने उनले बताए। उनले बिमा क्षेत्रलाई अर्थतन्त्रको एउटा ठूलो हिस्सा बनाउन पहल गर्ने बताए।
उनले भने, ‘बिमा भनेको सुरक्षा र आर्थिक बचत हो भनेर हामीले बुझेका छनौँ। यस क्षेत्रमा शिक्षाको ठूलो अभाव छ। त्यसैले म बिमा साक्षरतामा मेरो जोड हुनेछ। ३३ वर्षीय ओझा नेपाली मिडिया, वकालत, अध्यापन र कर्पोरेट परामर्श सेवामा कार्यरत थिए।
नेपालको अर्थतन्त्रलाई सूक्ष्म रूपले विश्लेषण गर्दै आएका उनी केही समयअघिसम्म चाणक्य मिडियाले सञ्चालन गरेको आर्थिक अनलाइन क्लिकमान्डु डटकममा वरिष्ठ प्रबन्धक एवम् विशेष संवाददाताका भूमिकामा थिए। ओझालाई आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको हो।
उनी सञ्चार र कर्पोरेट क्षेत्रको उच्च व्यवस्थापकीय तहसमेत गरी १२ वर्षको कार्य अनुभव भएका कारण आफू छनोटमा परेको बताउँछन्।
ओझाको नियुक्तिलाई लिएर कतिपयले कम अनुभवी व्यक्ति प्राधिकरणको अध्यक्ष बनाइएको भनेर आलोचना गरेका छन्। उनले भने नेपाली अर्थतन्त्रका विषयमा गहिरो अध्ययन गरेको, दिगो विकास, अर्थतन्त्रमा गुणात्मक प्रतिस्पर्धा र वित्तीय समावेशीकरणका विषयमा लामो समयदेखि काम गर्दै आएका कारण आफू बिमा प्राधिकरण अध्यक्षका लागि योग्य भएको दाबी गरे।
तपाईँ अर्थमन्त्रीका नजिक भएका कारण बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएको चर्चा छ भन्ने प्रश्नमा उनले भने, ‘यो गलत प्रचार हो मसँग यस क्षेत्रमा काम गर्नसक्ने क्षमता छ। कसैसँग नजिक हुँदैमा यस्तो जिम्मेवारी पाइँदैन।’
नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति’ले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।अंकभारका आधारमा पहिलो नम्बरमा परेका ओझालाई सरकारले अध्यक्ष नियुक्त गरेको थियो। २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर ओझाले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्।
अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा सरकारले ओझालाई बिमा कम्पनी नियामक निकायको नेतृत्व सुम्पिएको हो। यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायरगरेपछि कार्यकाल सकिनु एक महिना बाँकी अघि पदमुक्त भएका थिए। सिलवाल पदमुक्त भएपछि साढे दुई महिनायता प्राधिकरणको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले गरिरहेका छन्।