…अनि झ्वाँकिएर मञ्चबाटै हिँडे नारायणकाजी

हिमाल प्रेस १३ फागुन २०८१ ७:४९
204
SHARES
…अनि झ्वाँकिएर मञ्चबाटै हिँडे नारायणकाजी

काठमाडौँ- नेकपा माओवादी केन्द्र प्रतिपक्षमा धकेलिएसँगै पार्टी निर्माण अभियानमा उभिएको छ। पार्टीभित्रका विवाद ‘साम्य’ भएको दाबी गर्दै माओवादी केन्द्र विभिन्न अभियानमा जोडिएको हो।

कहिले पहिचानवादीको पक्षमा वकालत गर्ने त कहिले परिवर्तनकारी शक्ति आफू रहेको दाबी गर्ने प्रवृत्ति माओवादीमा चलिरहेको छ। पार्टीभित्र एक रहेको सन्देश दिन माओवादीले आफ्नो महाधिवेशन पनि धकेलेको छ। पार्टीभित्र नेतृत्व चयनमा चुनाव हुने भएकाले माओवादी महाधिवेशन सारिरहेको नेताहरू सुनाउँछन्। माओवादी जनताकहाँ जाने भन्दै विभिन्न अभियानमा जोडिएको छ।

यही सन्दर्भमा माओवादीले सोमबारदेखि तराई मधेश ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ झापाबाट सुरु गर्‍यो।  आइतबार नै झापा पुगेका माओवादी नेताले आफूहरू एक रहेको सन्देश दिने प्रयत्न गरेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपलब्ध दोस्रो स्तरका नेतालाई एक बनाएर तस्बिर खिचाउँदै एकताको सन्देश दिने प्रयत्न गरेका थिए। नेपालकै सबैभन्दा होचो भूभाग केचनाकवलमा उपलब्ध सबै पदाधिकारी हातेमाले गर्दै एक भएको सन्देश दिएका थिए। तर, यो एकता लामो समय टिकेन। कार्यक्रमको उद्घाटनशत्र चल्दैगर्दा मञ्चमै तिक्तता र रिस देखियो।

यता,उपमहासचिव जनार्दन शर्माले त पार्टीमा नयाँ नेतृत्व चाहिने दाबी गरेका थिए। उनले माओवादी परिवर्तन हुन नेतृत्व परिवर्तन हुन आवश्यक रहेको बताएका थिए। त्यसपछि वरीयताअनुसार बोल्ने पालोमा परेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको ‘व्यवहार’ले कार्यक्रम नै खल्लो बनायो।

किनकि, नारायणकाजी मञ्चमै झ्वाँकिएका थिए। कारण के थियो भने कार्यक्रममा नारायणकाजीले आफूलाई कम बोल्न दिने प्रयास गरेको भन्दै झोकिएर बोल्दा बोल्दै छोडेर हिँडेका थिए।

नारायणकाजी मन्तव्य राखिरहँदा झापाका माओवादी संयोजक राजु आचार्य छेउमा पुगेका थिए। त्यसै क्रममा श्रेष्ठले, ‘मैले सक्नु पर्ने भयो?’ भन्दै रिसाएका थिए । आचार्यले होइन होइन भन्दा पनि उनले आफ्नो मन्तव्य नराखी हिँडेका थिए। यसपछि बोलेका प्रचण्डले सामान्य घटना भएको भन्दै साम्य पार्न खोजेका थिए। माओवादीका नेताहरूका अनुसार त्यो घटनापछि नारायणकाजी दिनभर मञ्चमा देखिएनन्। यता कार्यक्रम भने भइनै रह्यो।

‘व्यालेन्स’ मिलाउन खोजेका प्रचण्ड
त्यसपछि बोलेका प्रचण्डले नारायणकाजीको विषय सामान्य भएको बताएका थिए। प्रचण्डले बुझाबुझ नभएका कारण सामान्य विवाद भएको जनाउ दिएका थिए। ‘म गल्तीबोध गर्न चाहन्छु। यो घटना घट्न गयो।’ प्रचण्डले भनेका थिए।

प्रकाशित: १३ फागुन २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast