
काठमाडौँ– आईसीसी च्याम्पियन्स ट्रफीबाट आयोजक पाकिस्तान र बंगलादेश बाहिरिएका छन्। पाकिस्तानमा जारी यो सिजनको च्याम्पियन्स ट्रफीबाट साविक विजेता पाकिस्तानसँगै बंगलादेश बाहिरिएका हुन्। उनीहरूले समूह चरणका दुई खेल गुमाउँदा बाहिरिनु परेको हो।
बंगलादेशमाथि न्युजिल्यान्डले सानदार जित निकालेसँगै पाकिस्तान र बंगलादेश बाहिरिएका हुन्। यो खेलसँगै भारत र न्युजिल्यान्ड सेमिफाइनलको बाटो तय गरेका छन्।
रचिन रविन्द्रको शतकसँगै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ।
बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ।
समूहको अन्तिम खेल न्युजिल्यान्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।
२३७ रनको लक्ष्य न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्याण्डको जितमा रचिन रवीन्द्रले सर्वाधिक १ सय १२ रन जोडे। उनले १ सय ५ बलको सामनामा १२ चौका र १ छक्का प्रहार गरे । चौथो विकेटका लागि रचिन र टम लाथमले १ सय २९ रनको साझेदारी गरे । लाथमले ७६ बलमा ३ चौकाको सहयोगमा ५५ रन जोडे।
अघिल्लो खेलमा शतक प्रहार गरेका विल योङले रनको खाता खोल्न सकेनन् । डेभोन कन्वे ४५ बलमा ३० तथा ग्लेन फिलिप्स २१ रनमा नट आउट रहे । बंगलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो ।
बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे । उनले १ सय १० बलमा ९ चौका प्रहार गरे। जाकिर अलि ५५ बलमा ४५ तथा रिशाद होसनैन २६ रन बनाए ।
ओपनर तान्जिद हसन २४ तथा तस्किन अहमद १० रनमा आउट भए । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।