
काठमाडौँ- नर्सरीबिना बोटबिरुवा हुर्काउन कठिन हुन्छ। नर्सरीमा हुर्किएका बोटले पछि फल पनि राम्रो दिन्छ। यस्तै नर्सरी मानिन्छ, राजनीतिक दलमा विद्यार्थी संगठनलाई। विद्यार्थीे संगठन बलियो नभएका दल त्यति शक्तिशाली छैनन्। त्यसैले दलका लागि विद्यार्थी संगठन ‘नेता उत्पादन गर्ने कारखाना र हुर्काउने नर्सरी’ मानिन्छ। विद्यार्थी राजनीतिबाट आएका नेताहरू ‘बौद्धिक’ र ‘तार्किक’ हुन्छन् भन्ने बुझाइ राजनीतिशास्त्रीहरूको छ।
विद्यार्थी कमजोर बने पार्टी कस्तो बन्ला? दुई वर्षअघि नेकपा माओवादी केन्द्रले यही समस्या झेलिरहेको थियो। चरम गुटबन्दी र समानान्तर गतिविधिले विद्यार्थी संगठनप्रति निराशा थियो। एक समूहले अर्कोलाई आरोप लगाउने र आधिकारिक कमिटीविरुद्ध अर्को कमिटी खडा गर्ने संस्कार बसेको थियो क्रान्तिकारीमा।
पार्टीले २०७८ असोजमा पञ्चा सिंहलाई संगठनको अध्यक्ष बनाएपछि विवाद भित्रिएको हो। पञ्चाविरुद्ध समानान्तर कमिटी बनाउने र आरोप लगाउने क्रम अर्को सम्मेलन नतोक्दासम्म चलिरह्यो।
पार्टीले समाधानको बाटो खोजे पनि निकास निस्केन। माओवादी केन्द्रले क्रान्तिकारीको विवाद समाधान गर्न छानबिन गर्न कार्यदल बनायो, पटकपटक छलफल चलायो। विद्यार्थी संगठनभित्रको विवाद साम्य हुने संकेत नदेखिएपछि माओवादीले क्रान्तिकारी विघटन गर्ने सम्मको छलफल चलाएको थियो।
पार्टीले समस्या सुल्झाउन विद्यार्थी इन्चार्ज फेर्यो। इन्चार्ज तोकिए हिमाल शर्मा। हिमाललाई क्रन्तिकारीभित्रको समस्या समाधान गर्न सजिलो थिएन। एकातिर विद्यार्थी-विद्यार्थीको विवाद र अर्कातिर नेताले सञ्चालन गरेका गुटैगुट। यस्ता समस्या समाधान गर्नुपर्ने अभिभारा लिएका हिमाल कसरी सफल त?
पञ्चा सिंह नेतृत्वमा आएपछि क्रान्तिकारीमा प्रमुख समस्या देखियो, समानान्तर कमिटी। सिंहविरुद्ध उपाध्यक्ष पवन कार्कीले समानान्तर कमिटी बनाएर गतिविधि जारी राखे। समानान्तर कमिटी जिल्ला तहसम्म फिँजिएको थियो। त्यसैले समाधान सजिलो थिएन। ‘मैले सबै विद्यार्थीलाई एक ठाउँमा ल्याउने कोसिस गरेँ तर समस्या विद्यार्थीमा मात्र थिएन’, उनी भन्छन्। उनी समाधान खोज्दै नेताकहाँ पुगेपछि क्रान्तिकारीको विवादमा पार्टी नेतासम्म जोडिएकोमा स्पष्ट भए।
विद्यार्थीको समानान्तर गतिविधि बढाउनमा पार्टीका नेता भित्रभित्रै सक्रिय थिए। अनि हिमालले पार्टी नेतासँग छलफल चलाए। त्यसअघि पनि क्रान्तिकारीको समस्या समाधानको प्रयत्न नभएको होइन। रमेश मल्लको नेतृत्वमा पूर्वअध्यक्षहरू रत्न ढकाल र नरेन्द्र न्यौपानेको कार्यदल बनेको थियो। कार्यदलले समाधानको बाटो भेटेन। कार्यदलको निष्कर्ष थियो- विद्यार्थी संगठनको समस्याको कारण माओवादीका नेताहरू हुन्। कार्यदलले विद्यार्थी संगठनमा समस्या हुनुको अर्थ विद्यार्थीमा मात्र सीमित थिएन।
हिमालअघिका इन्चार्ज हितमान शाक्यले पनि समाधान नखोजेका होइनन्। परिणाम ‘शून्य’ भयो। क्रान्तिकारीबाटै उदाएका हिमालले विद्यार्थीमा चल्ने बहसदेखि ‘खेल्ने हावा’ सम्म बुझेका थिए।
तत्कालका लागि विद्यार्थीलाई एकजुट बनाउनुपर्ने त थियो। तर एक ठाउँ जोडेर मात्र समाधान हुने थिएन, ‘स्वार्थ’ मिल्नुपर्ने थियो। हिमालले सबै विद्यार्थीलाई एकजुट हुन अनुरोध गरे। ‘विद्यार्थीलाई मप्रति आशा थियो, त्यही कारण अघि बढ्न खोजेँ’, हिमाल भन्छन्। उनले कमिटी भंग गरिदिए र आयोजक कमिटी बनाए। यो पनि ९९९ सदस्यीय। यसमा सबै पक्षका विद्यार्थी समेटिए। विद्यार्थीका समस्या बुझ्दै तत्काल महाधिवेशनको वातावरण बनाउने विश्वास दिलाएपछि विवाद मत्थर हुन थालेको हिमाल स्मरण गर्छन्।
‘सबैलाई संगठन चाहिएको थियो। मैले महाधिवेशनले नयाँ नेतृत्व तय गर्छ भनेर विश्वास दिलाएँ’, हिमाल भन्छन्। कार्की समूह पनि सहमतिमा आयो। हिमालले प्रस्ताव राखे, ‘तत्काल पञ्चाकै नेतृत्वमा अघि बढौँ। अर्को महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ।’
क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट उनै पञ्चा निर्वाचित भएकी थिइन्। आकांक्षीमध्ये ‘टिकेप्रथा’ बाट पञ्चालाई अध्यक्ष बनाइएको थियो। जुन पद्धतिको विरोधमा अरू आकांक्षी लागे। यत्तिकैमा अध्यक्षका आकांक्षी पवन कार्कीले समानान्तर गतिविधिमा बढाएका थिए। पवन समूहले पञ्चामाथि आर्थिक पारदर्शिता नभएको आरोप लगाएको थियो।
संगठनात्मक रूपमा सल्किएको आगो व्यक्तिगत रिसइबीमा परिणत हुने त्रास थियो। महाधिवेशनको ‘मिति’ को आसमा विद्यार्थी सहमति नजिक आउन थालेपछि सन्तोषको सास फेर्न पाएको सम्झन्छन् हिमाल। ‘विद्यार्थीहरू एकजुट हुन तयार भए अनि सहज भयो’, उनी भन्छन्।
एकै कार्यकालमा तीनवटा चुनाव गराएका हिमाल
क्रान्तिकारीमा आन्तरिक चुनाव हुने अवस्था २१ औँ सम्मेलनबाट टुटेको थियो। उक्त सम्मेलनमा चुनावबाटै रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए। हिमाल २३ औँ सम्मेलनमा पनि चुनाव नै चाहन्थे।
हिमाल ‘टिकेप्रथा’ विरुद्ध थिए तर पार्टी विपक्षमा उभिन्थ्यो। उनले विद्यार्थीलाई साथ लिए। अधिकांश विद्यार्थीलाई चुनावबाटै नेतृत्व चयन हुनेमा विश्वस्त बनाए।
यत्तिकैमा अखिलको २३ औँ सम्मेलन तोकियो। असोजमा तोकिएको सम्मेलनमा चुनाव गराउने गरी हिमाल अघि बढेका थिए। ‘सम्मेलनमा पार्टीले पहिलेजस्तै चुनाव नगराउन भन्यो,’ हिमाल भन्छन्, ‘मैले मानिनँ।’ चुनावबिना नेतृत्व चयन गरिए संगठनमा पुरानै संकट उत्पन्न हुने चिन्ता हिमाललाई थियो।
राष्ट्रिय सम्मेलनअघि क्रान्तिकारीमा देशभर प्रतिनिधि छनोट भएको थियो। हिमालका अनुसार प्रतिनिधि छनोटमा पनि अधिकांश ठाउँमा चुनाव भयो। असोजमा सम्मेलन त तोकियो तर आन्तरिक किचलोका कारण स्थगित भयो।
‘एक किसिमको ट्रयाक समातेको थियो फेरि अन्योलमा परियो’, हिमाल भन्छन्। सम्मेलन सकिए पनि नेतृत्व चयन भएन। अब उनको हातमा पनि केही थिएन। प्रश्नचाहिँ उनीमाथि तेर्सिन्थ्यो, ‘सम्मेलन सकियो, नयाँ नेतृत्व खोइ?’ हिमाल आफैँले पार्टी नेतृत्वसमक्ष वस्तुस्थिति अवगत गराए।
‘मैले पार्टी नेतृत्वलाई सोधँे। उमेर हद नलगाए संगठनमा नेतृत्व चयन गर्न गाह्रो पर्छ,’ हिमाल भन्छन्, ‘यसपछि पार्टीले उमेर हदका लागि चुनाव मिति तोक्यो।’
इतिहासमा पहिलो पटक क्रान्तिकारीमा उमेर हदको निर्वाचन तोकियो। माओवादीले निर्णय गरेर उमेर हदका पक्षमा ३२ वर्षे लाग्ने र नलाग्ने (खुला) विषयमा विद्यार्थी प्रतिनिधिहरूले मतदान गरे। गत पुसमा हिमालकै अगुवाइमा उमेर हद लाग्ने वा नलाग्ने निर्वाचन भयो। देशभरका प्रतिनिधिले मत हाले। जहाँ उमेर हदकै पक्षमा मत बढी आयो। अन्ततः लाग्यो उमेर हद। अब फेरि क्रान्तिकारीमा नेतृत्व चयनको अर्को चुनाव गर्नुपर्ने भयो।
जसले लगाए स्ववियुमा पनि उमेरहद!
हिमाल २०६७ सालमा हिमाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए। उनी नेतृत्वमा रहेका बेला स्ववियुमा २८ वर्ष उमेर हद लगाइएको थियो। ‘विश्वविद्यालयमा डबल डिग्री गर्ने अनि विद्यार्थी बनिरहने अवस्था थियो,’ हिमाल भन्छन्, ‘यसरी हुँदैन अब पुस्तान्तरणका पक्षमा लाग्नुपर्छ भन्ने मेरै एजेन्डा थियो।’
हिमाल त्यसबेला ‘पाका’ विद्यार्थीसँग ‘आँखी’ बने। ‘यसपछि म संगठनमा पनि उमेर हद लाग्नुपर्छ भन्नेमा पुगेँ’, उनी स्मझन्छन्। पुस्तान्तरणकै लागि लडेका हिमालले यसअघि संगठनभित्रै पनि चुनौती दिएका थिए। उनी क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बनेर सफल काम गरेका थिए। अर्को पुस्ताका लागि ‘खाली ठाउँ छाड्छु’ भन्दा पार्टी नेतृत्व विपक्षमा उभिएको थियो। उनले तत्काल राजीनामा दिए।
‘सम्मेलन गर्न समय मिलेन, तीन महिना अध्यक्ष बन्नु भनियो,’ हिमाल भन्छन्, ‘तर म अब यहाँबाट अघि बढ्दिनँ भनेर राजीनामा दिएँ’, ‘म सधैँ पुस्तान्तरण र अझ बढी नयाँ पुस्ताप्रति विश्वास गर्ने व्यक्ति हुँ। टिके प्रथा र नेतृत्व थमाउने कुरामा विश्वास गर्दिनँ।’
सेनाबाट गिरफ्तार र अज्ञात हुँदाका ती दिन
हिमाल माओवादी ‘जनयुद्ध’का लडाकु हुन्। उनी व्यवस्था परिवर्तनका लागि लामो समय संघर्षमा सहभागी भए। राज्यविरुद्ध लड्दालड्दै उनी तत्कालीन शासकका ‘आँखी’ बने। २०६० कात्तिक ४ गते असनबाट हिमाललाई सैनिक पोसाक लगाएको समूहले पक्राउ गर्यो।
‘मलाई २७ महिना भैरवनाथ गणमा बेपत्ता बनायो,’ हिमाल भन्छन्, ‘आँखामा पट्टी लगाइएको हुन्थ्यो। कहाँ छु पत्तै नहुने।’ सेनाले हिमाल पक्राउ गरेको कुरा गुपचुप राखेको थियो। ‘मेरो परिवारलाई पनि थाहा थिएन। परिवारले बेपत्ता बनाएको प्रमाण दिँदा समेत सेनाले सार्वजनिक गरेन’, उनले भने।
मानवअधिकार आयोगले पनि हिमालको पक्षमा बोल्यो। देवी शर्मा, (हिमाल शर्माकी श्रीमती) ले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिन्। उनी आफ्नो पतिलाई स्वतन्त्रताबाट वञ्चित गरिएको र बेपत्ता पारिएको उजुरी लिएर स्थानीय प्रहरी, प्रशासन र सैनिक अधिकारीहरूसमक्ष गइन्। उनको माग कतैबाट सुनुवाइ भएन।
सर्वोच्च अदालतले २०६२ पुस ४ गते हिमालको हिरासत गैरकानुनी घोषित गर्दै मुक्त गराउन आदेश दियो। समस्या त्यतिमा मात्र सीमित भएन। सोही दिन उनलाई फेरि पक्राउ गरी जेल पठाइयो। ‘मविरुद्ध त्यस बेला १९ किसिमका मुद्दा लगाइएको थियो’, हिमाल भन्छन्।
हिमाललाई कहिले नख्खु जेल त कहिले गोरखा जेलमा सारिन्थ्यो। ‘मलाई २०६२/०६३ को जनआन्दोलन र त्यसपछिका कार्यक्रमसमेत थाहा थिएन’, हिमाल भन्छन्। सर्वोच्च अदालतको फैसलापछि उनी २०६४ जेठ १८ मा मुक्त भएका थिए।
विद्यार्थी संगठन : पहिले र अहिले
लामो समय विद्यार्थी संगठन हाँकेका हिमाल अहिले पनि विद्यार्थीसँगै छन्। उनले विद्यार्थीभित्रको समस्या समाधान गरे। माओवादी पदाधिकारी बैठकले फेरि उनलाई फेरि विद्यार्थी इन्चार्जको जिम्मेवारी दिएको छ।
‘म हट्ने तयारीमा थिएँ तर पार्टीले फेरि जिम्मेवारी दियो’, हिमाल भन्छन्। आफूले विद्यार्थी राजनीतिको नेतृत्व गर्दा र अहिलेको विद्यार्थी राजनीति भिन्न देख्छन् हिमाल। ‘पहिले हामी राजनीतिक गतिविधिमा लाग्थ्यौँ। त्यही समय थियो,’ हिमाल भन्छन्, ‘अब शैक्षिक आन्दोलनमा होमिने बेला आएको छ।’
पछिल्लो समय त विद्यार्थी राजनीति पनि मुद्दाका लागि भन्दा व्यक्तिगत स्वार्थका लागि केन्द्रित भइरहेको बुझाइ हिमालको छ। ‘अहिले समाज नै परिवर्तन भएको छ। यसैले पनि केही लाभका पद लिन आवश्यक छ,’ शर्मा भन्छन्।
पहिले विद्यार्थीले नेता खोज्थे, अहिले नेताले विद्यार्थी खोज्छन्
यसअघिको पदाधिकारी निर्वाचनमा क्रान्तिकारीमा अनेक गुट रहेको कुरा बाहिर आउँथ्यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत गुटमा जोडिए। हिमालकै नाम पनि गुटमा जोडियो। गुटका विषयमा हिमालको भिन्नै धारणा छ। उनी प्रचण्डले गुट बनाउन आवश्यक नभएको दाबी गर्छन्।
‘प्रचण्ड गुट बनाउनु थियो भने निर्वाचन किन गराउनुपर्यो र?’ हिमाल भन्छन्। उनी निर्वाचनपछि प्रवृत्ति बदलिएको दाबी गर्छन्। ‘पहिले विद्यार्थीले नेता खोज्ने प्रचलन थियो, अहिले नेताले विद्यार्थी खोज्नुपर्ने भएको छ’, उनी भन्छन्। अधिवेशनले अनुहार मात्र होइन क्रान्तिकारीमा पुस्तान्तरण गरेको हिमालले बताए।
लामो समय एउटै संगठनमा बसिरहनु नपर्ने पद्धतिको विकास भएकाले क्रान्तिकारी झनै सफल हुने उनको विश्वास छ। हिमाल अझै क्रान्तिकारीका लागि केही गर्न बाँकी रहेको बताउँछन्। उनका अनुसार अब प्रदेशको विवाद मिलाउन केन्द्रित हुनुपर्नेछ। क्रान्तिकारीमा उमेर हद लागेपछि केन्द्रमा ३२ वर्षमुनिको नेतृत्व छ भने प्रदेशमा ३२ माथिको नेतृत्व छ। प्रदेशका अध्यक्षहरूले वरीयतामा विवाद निकालेका छन्। वरीयता नमिलेमा बहिष्कार गर्नेसम्मका धम्की आइरहेको हिमाल बताउँछन्। उनी भन्छन्, ‘यो त सामान्य विवाद हो। मिलाउन लाग्नुपर्छ।’