
काठमाडौँ- नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरुमा अर्को उत्सव थपिएको छ, ‘काठमाडौँ उत्सव’। काठमाडौँ उत्सवको पहिलो संस्करण फागुन १६ र १७ मा हुने भएको छ।
दुई दिने उत्सव उपत्यकाको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा हुने आयोजकले जनाएको छ।
साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौँको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरु समेटिएको काठमाडौँ उत्सवका अध्यक्ष प्रकाश समीरले बताए। उत्सवकाे आयोजना गाेँधुलि कला साहित्य प्रतिष्ठानले गरेकाे हाे।
उत्सवमा १५ सत्र हुनेछ। युवा पुस्ताको काम, उपस्थिति र सोचलाई केन्द्रमा राखेर छलफलहरु राखिएको काठमाडौँ उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले बताए।
संवाद र कविता गजल प्रस्तुतिबाहेक महोत्सवमा काठमाडौँको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने आयोजकले जनाइएको छ। पाका कविका कविताबाट सुरू हुने उत्सव नयाँ पुस्ताका कवितासँग समापन हुनेछ।
पहिलोदिन केके हुँदैछ?
काठमाडौं उत्सवका संयोजक तथा कवि गजलकार बाबु त्रिपाठीकाअनुसार महोत्सव आठ जना स्थापित कविको कवितावाचनबाट उद्घाटन हुनेछ।
उद्घाटनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नेछन्।
त्यसपश्चात काठमाडौँ उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र रहनेछ। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा छलफल गर्नेछिन्।
उत्सवको पहिलो दिन लेखक ध्रुवचन्द्र गौतम र वसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’ शीर्षकमा छलफल हुनेछ। पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरुण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले ‘सम्पदा, संस्कृति र सभ्यता’ शीर्षकमा काठमाडौँको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षबारे छलफल गर्नेछन्।
‘ज्ञान विवेक र विज्ञान’ विषयमा हुने अर्को सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीसँग ‘सानो संसार, ठूलो संसार’ शीर्षकमा भलाकुसारी गर्नेछिन्।
उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको महोत्सवका सल्लाहकार दीप दर्पण बताए। उनले भने, ‘काठमाडौँ उत्सवलाई नियमित रुपमा हुने साहित्यिक महोत्सवभन्दा केही भिन्न बनाउने प्रयास गरेका छौँ। हामीले विज्ञका मात्र नभई किनारामा पारिएका भुइँ मान्छेका विचारलाई पनि विशेष प्राथमिकता दिएका छौं।’ भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नेछिन्।
दोस्रो दिन हुने छलफल सत्र
उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यमा डायस्पोराको अवस्था विषयमा प्रवचन दिने छन्।
‘फिल्म निर्देशनमा नयाँ पुस्ता’ शीर्षकमा निर्देशक सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरले सहजकर्ता प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्ने छन्।
फाइन आर्टसको सेरोफेरो कलाकार एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझाबीच हुने ‘कला एक फ्युजन’ शीर्षकमा कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्नेछन्।
ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच ‘आख्यानमा द्वन्द्व र दर्शन’ शीर्षकमा छलफल हुनेछ। सत्रलाई आख्यानकार उमा सुबेदीले सहजीकरण गर्नेछिन्।