
काठमाडौँ- समाजमा शिक्षकहरूको मूल्य र सम्मान सुनिश्चित गर्न तत्काल पाँचवटा कदम चाल्नैपर्ने निष्कर्ष प्रमुख तीनवटा शिक्षक संगठनहरूले निकालेका छन्।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन्।
सरकारले शिक्षकहरूको तालिममा सुधार गर्नुपर्ने, शिक्षकहरूको कामको बोझ घटाउनुपर्ने, शिक्षकहरूको तलब सम्मानजनक र प्रतिस्पर्धी बनाउनुपर्ने माग उनीहरूको छ। यसैगरी शिक्षकहरूको अधिकारको सुनिश्चितता र शैक्षिक विशेषज्ञताको सम्मान गर्नुपर्ने तथा शिक्षाका र शिक्षक–विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्नुपर्ने सुझाव उनीहरूका छन्।
शिक्षक कर्मचारीका पेसागत समस्या समाधान नहुँदा शिक्षामा सुधार हुन नसकेको उनीहरूको भनाइ छ। शिक्षक कर्मचारीका माग सम्बोधन गर्न सरकारले ढिलाइ गर्दा त्यसको असर गुणस्तरीय शिक्षामा परेको विज्ञप्तिमा उल्लेख छ।
सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको ट्रान्सफरर्मिङ एडुकेशन समिटबाट प्रेरित भएको उल्लेख गर्दै शिखर सम्मेलनले शिक्षा प्रणालीले सामना गर्नुपरेका कठिनाइहरूलाई सही रुपमा पहिचान र कार्यान्वयनको प्रस्ताव गरेको तीनवटै संघसंगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिअनुसार शिक्षकको अभाव र उच्च विस्थापन दरका कारण विद्यार्थीको उपलब्धि घट्दै गएको, धेरै शिक्षकहरूले पेसामा आबद्ध भएको दुई वर्षभित्र राजीनामा दिएकाले शिक्षक अभाव भएको र यो पेसाले योग्यतम व्यक्तिहरूलाई आकर्षित गर्न सकेको छैन।
शैक्षिक सुधारनिम्ति उनीहरूले कुल राष्ट्रिय बजेटको २० प्रतिशत वा कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत हरेक वर्ष शिक्षामा लगानी गर्नुपर्ने बताएका छन्। शैक्षिक समस्या समाधान भएमा, शिक्षकको सम्मान र कदर भएमा विद्यार्थीको सिकाइ वातावरण सुध्रिने, शिक्षाको गुणस्तर बढ्ने र विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्ने उनीहरूको भनाइ छ।
नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन विश्व शिक्षक महासंघसँग आबद्ध सदस्य युनियनहरू हुन्।