
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्रले सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्। नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
मानिसलाई कन्भिन्स गर्न सक्ने अद्भुत माध्यम चलचित्र भएको उल्लेख गर्दै उनले भने, ‘दुनियाँले सत्यको जित चाहिरहेको छ र चलचित्रमार्फत समाजलाई ठूलो प्रभाव पार्न सकिन्छ।’
पाको पुस्ताले नै निराशाको व्यापार गरिरहेको भन्दै नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्नेमा मन्त्री पाण्डेले जोड दिए।
उनले भने, ‘अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ।’
मन्त्री पाण्डेले चलचित्र र कलाले भाषा नबुझेर पनि भाव बुझ्न सक्ने क्षमताको चर्चा गरे। उनले भने, ‘कलाको कुनै भाषा हुँदैन। भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ। यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्छ।’
समारोहमा गीतसंगीत र नाटकसमेत प्रस्तुत गरिएको उल्लेख गर्दै उनले कर्णालीको परिवेशमा आधारित नाटकको सम्झना गरे। पाण्डेले नयाँ पुस्तालाई आशावादी बनाउनुपर्नेमा जोड दिए।
उनले नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको बताउँदै नेपालमा अर्बौं कमाइ गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेको बताए।
‘अर्ब कमाउन सक्ने दर्जनौँ चलचित्र बनाउन सकिन्छ। यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्छ,’ मन्त्री पाण्डेले भने।
नेपाललाई खुला संग्रहालयको संज्ञा दिँदै उनले नेपालका बस्ती, हिमाल र समुदायमा विदेशी चलचित्र निर्माणका सम्भावनाहरूलाई सदुपयोग गर्नुपर्ने उल्लेख गरे।
‘नेपालको विविधतापूर्ण संस्कृतिलाई प्रवद्र्धन गर्दै विदेशी चलचित्रलाई नेपालमा छायांकन गर्न प्रोत्साहित गर्नुपर्छ,’ उनले भने।
मन्त्री पाण्डेले पर्यटन प्रवद्र्धनमा चलचित्रको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे। ‘चलचित्रमार्फत नेपालका प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदालाई विश्वभर चिनाउन सकिन्छ,’ उनले भने।
उनले नेपाल सरकार चलचित्र निर्माणमा आवश्यक पर्ने नीति तथा पूर्वाधार विकास गर्न तयार रहेको समेत बताए।
समारोहमा विभिन्न देशका फिल्म निर्माता, कलाकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपाल र अफ्रिकी देशहरूबीच सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।