अबुधाबी अनुभव : साँघुरिएको विश्व र मिडिया सम्मेलनमा उठेका मुद्दा

चन्द्रशेखर अधिकारी ११ फागुन २०८१ २१:०७
12
SHARES
अबुधाबी अनुभव : साँघुरिएको विश्व र मिडिया सम्मेलनमा उठेका मुद्दा

कुनै समय संयुक्त अरब इमिरेट्स (यूएई) का सहरहरू अबुधाबी र दुबई प्रायः ट्रान्जिटका रूपमा मात्र टेकिने भूमि थिए। वैदेशिक रोजगारी, व्यवसाय र उच्चशिक्षा अध्ययनको समेत रोजाइका ठाउँ बनेकाले नेपालीका लागि ती सहर अब नौला रहेनन्। यूएईलाई हामी विगत अढाई दशकदेखि रोजगारी दिने मुलुकका रूपमा चिन्छौँ। त्यहाँ गएर नेपालीले व्यवसाय पनि सञ्चालन गरेका छन्। कतिपयले बहुराष्ट्रिय कम्पनीको माथिल्लो ओहोदामा रहेर काम गरिरहेका छन्। नेपालीले त्यहाँ पुगेर गरेको प्रगति लोभलाग्दो छ। यूएईमा न्यून ज्यालामा काम गर्न गएका नेपाली मात्र रहेको भन्ने बुझाइ गलत छ।

यसपटक भने अबुधाबीमा आयोजित एउटा सम्मेलनमा सहभागी हुने अवसर जुरेको थियो। कार्यक्रम हो विश्व मिडिया कांग्रेसको तेस्रो संस्करण २०२४। अबुधाबीको राष्ट्रिय प्रदर्शनी केन्द्र (एडीएनईसी) मा मंसिर १२, १३ र १४ सम्पन्न कांग्रेसमा विश्वभरका सञ्चार, प्रविधि र नीति निर्माणसँग सम्बन्धित प्रमुख व्यक्तिहरू सहभागी थिए। ‘मिडियाको भविष्य : नवप्रवर्तन, प्रविधि र टिकाउ विकास’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), मेटाभर्स, डिजिटल सञ्चार र मिडियाको विश्वसनीयताजस्ता विषयमा विभिन्न सत्रहरूमा छलफल भएका थिए।

कांग्रेसमा विश्वभरका प्रमुख सञ्चार प्रतिष्ठान, प्रविधि कम्पनीहरू, सेनाका आमसञ्चार विज्ञहरू, कूटनीतिक प्रतिनिधिहरू र नीति निर्माताहरूबीच छलफल तथा सहकार्यको अवसर जुटेको थियो। मिडियामा प्रविधिको भूमिकाबारे विस्तृत छलफल गर्दै पत्रकारिता तथा समाचार सम्प्रेषणमा देखापरेका चुनौतीहरूमाथि पनि बहस भएका थिए। यहाँ सोही कार्यक्रममा सहभागी भएर फर्किएपछिको अनुभव र अन्तर्राष्ट्रिय सञ्चार एवम् प्रविधिका क्षेत्रमा भएका विकासबारे चर्चा गरिएको छ।

उक्त कार्यक्रम यूएईका उपराष्ट्रपति, उपप्रधानमन्त्री र राष्ट्रपतिको मन्त्रिपरिषद्का प्रमुख सेख मन्सुर बिन जायद अल नाह्यानको संरक्षणमा आयोजना भएको थियो। कतिपयले यूएईमा पनि राष्ट्रपति हो र? समेत भनिएको सुनियो।

कांग्रेसमा एक सय १३ मुलुकका एक हजार पाँच सय पत्रकार एकै छानामुनि भेला भएका थिए। यसको संयोजन यूएई सरकारअन्तर्गत अबुधाबीका शासक (रुलर)ले गरेका थिए। सीएनएन, बीबीसी, डीडब्लू, अलजजिरालगायतमा पढिए/देखिएका अनुहारसँग प्रत्यक्ष भेटवार्ता भएको थियो। केही भने पत्रकारितामा पाँच दशक बिताएका पनि सहभागी थिए। सम्मेलनले विश्वभरका प्रमुख मिडियाका अगुवाहरू, पत्रकारहरू र प्रविधिका विज्ञरूलाई एकसाथ छलफल मात्र गराएन समस्याको उजागर गरी समाधानका उपायबारे पनि केही नयाँ अवधारणाको विकास गरेको छ।

सम्मेलनमा आमसञ्चार र पत्रकारिताको विषय मात्र थिएन, छोटा र लामा फिचर फिल्म निर्माणका साथै एआई प्रयोग गरेर समाचारवाचनदेखि डाटाको उपयोग गर्नेसम्मका विषयमा छलफल भएका थिए। पत्रकारितामा संसार कहाँ चुक्दै गएको छ भन्ने विषयमा गहन विश्लेषण भए। एआईले पारेको सहजता र एआईमा भर पर्नुपर्दा समस्या परेको विषय पनि उठेको थियो। सम्मेलनको साइडमा प्रदर्शनी र छुट्टै अन्तरसंवाद सञ्चालन भएका थिए।

सम्मेलनमा सहभागी धेरैको भनाइ थियो- अब विश्व साँघुरियो, आफ्नो भाषा प्रवर्धन सहज छैन, एआईले सबैलाई एक भाषा एक विश्व बनाउँदै लगेको छ। संस्कृति पनि जुन भाषा बढी बोलिन्छ विश्वमा त्यसकै प्रभाव रहने विषयमा चर्चा भयो। नयाँ प्रविधि केके विकसित भएका छन्? मिडियामा अहिले प्रयोग भइरहेका विषय बहसमा कसरी आएका छन्? मुलुकको उत्पादन र विकासलाई मिडियाले कसरी लिएको छ? जस्ता विषयमा पनि छलफल भए।

सम्मेलनमा मिडियामा आइरहेको परिवर्तन, नयाँ प्रयोग, चुनौती र सम्भावनामा केन्द्रित भएर अनुभव आदानप्रदान भएका थिए। धनी र गरिब मुलुकको पत्रकारिता उस्तै रहेको निष्कर्ष थियो। कतिपयले त पत्रकारिता विकसित मुलुकको भन्दा विकासोन्मुख मुलुकको राम्रो रहेको पनि बताएका थिए। छिमेकी भारतको पत्रकारिता यतिबेला चीनको भन्दा कमजोर हुँदै गएको विषय त्यहाँ उठेको थियो।

सम्मेलनको सत्रमा कूटनीतिक विषयदेखि प्रविधिको विषयसम्म बहस भएका थिए। कार्यक्रमका सहभागीलाई बहसमा संलग्न गराइएको थिएन। यस्तो किन गरिएको र फ्लोरबाट किन प्रश्न नलिएको जस्ता विषय उठेपछि अर्को वर्षदेखि कार्यक्रमको ढाँचा परिवर्तन गर्ने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका थिए।

‘मिडिया फर ब्रिजिङ कल्चर्स’ भन्ने मुख्य नारासहित आयोजित सम्मेलनले सांस्कृतिक विविधता, समावेशी सञ्चार र डिजिटल परिवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको थियो। डेटामा आधारित पत्रकारिता, विश्वसनीयता र पारदर्शिताको सवाल, सांस्कृतिक अन्तरसम्बन्ध र मिडियाको भूमिकालाई सम्मान गर्दै सूचना प्रवाहलाई समृद्ध बनाउने विषयमा चर्चा भएका थिए।

ग्लोबल मिडिया कांग्रेसमा सहभागी संस्थाको आफ्नो प्रचार पनि उत्साहप्रद थियो। कतिपय प्रविधिसँग सम्बन्धित सामग्री बिक्रीमा पनि राखिएका थिए। केही पत्रकार प्रदर्शनीस्थल नजिकै जम्मा गराएर पत्रकारिताको अनुभव सुनाइरहेका थिए।

चिनियाँ प्रतिनिधिको पनि उपस्थिति थियो। सञ्चारका विषयमा चिनियाँले खासै खुलेर कुरा गरेनन्। भारतीय पत्रकार पनि खुल्न सकेनन्। चीन र भारतका पत्रकार अफ दी रेकर्ढ जतिपनि बोल्ने तर अन द रेकर्ड कत्ति पनि नबोल्ने। गरेको देखियो। अनि काठमाडौँ आएका बेला भारतीय मिडियाका साथीहरुले भनेको विषय याद आयो। भारत मिडियाले सत्ताधारीलाई गाली गर्न सक्दैन। नेपालमा भने सेल्फ सेन्सरसिप छ।

यसमा नेपाली पत्रकार अलिक भाग्यमानी नै छन् दुई छिमेकका भन्दा। लोकतान्त्रिक अभ्यासबाट आएका नेताहररू शासकझैँ बन्न थाले भने त्यहाँ धेरै समस्या हुन्छ भन्ने उदाहरण विश्वमा दर्जनौँ छन्। कतिपयले अमेरिका, भारत र बंगलादेश यही लयमा रहेको विश्लेषण गरेका थिए।

डिजिटल परिवर्तन र टिकाउपन

डिजिटल परिवर्तन र मिडिया टिकाउपनका विषयमा सहभागीलाई नयाँ दृष्टिकोण प्रदान गरिएको थियो। विश्वकै सञ्चार क्षेत्र यतिबेला तीव्र रूपमा डिजिटलतर्फ रूपान्तरण भइरहेको छ। यसबारे खाडीले जसरी आफूलाई प्रगति गर्‍यो त्यही विषयमा विश्वजनमानसमा पनि आफू रहिरहन जीएमसी सम्मेलनको अवधारणा ल्याएको देखिन्छ। यूएईले बदलिँदो सञ्चार परिदृश्य सम्बोधन गर्ने बलियो मञ्चका रूपमा यसलाई प्रयोग गरेको छ।

अत्याधुनिक प्रविधि प्रदर्शन, स्मार्ट समाचार कक्ष, स्टुडियो, लाइटको प्रयोग, कागजको प्रयोग, वेबसाइट डिजाइन, एपहरूको उपयोगिताका नवीनतम दृष्टिकोण आदानप्रदान र मिडिया उद्यमीलाई सशक्त बनाउने व्यावहारिक कार्यक्रमसमेत सम्मेलनका आकर्षण थिए। विश्वकै सञ्चार उद्योगले वर्तमान र भविष्यका विभिन्न चुनौती सामना गर्न, अवसर अँगाल्न र जटिल डिजिटल परिवेशमा दिगोपन सुनिश्चित गर्न कसरी सकिन्छ भन्ने उद्देश्यमा पनि बहस भएका थिए।

विश्वका लोकप्रिय सञ्चारकर्मीहरूले प्यानल छलफलदेखि कार्यशालामा उठाएका प्रमुख विषय थिए- एआई र यसले पार्ने असर। अब पत्रकारिता गर्नेले प्रविधिलाई चिन्न सकेन भने पछि पर्ने उनीहरूको निष्कर्ष थियो। गलत सूचना नियन्त्रण, खण्डित बजारमा दर्शक संलग्नता र प्रविधिको भविष्यजस्ता विषयवस्तुमा छलफल भएको थियो। परम्परागत र डिजिटल मिडियालाई एकीकृत गरेर विकास गर्न आवश्यक रहेको विषयमा सहभागी एकमत देखिन्थे। मिडिया काउन्सिल सक्रिय रहेर सञ्चारलाई व्यवस्थित गर्नुपर्ने कुरा पनि उठेको थियो।

गलत सूचना र दुष्प्रचार

वर्तमान पत्रकारिता क्षेत्रमा गलत सूचना (misinformation) र दुष्प्रचार (disinformation) ठूलो चुनौती बनेको छ। सम्मेलनमा यी विषयमा पनि छलफल भएको थियो। स्वतन्त्र र सन्तुलित पत्रकारिताका विषयमा विश्व अलमलमा छ। सामाजिक सञ्जालमार्फत होस या कुनै माध्यमबाट गलत सूचना पठाउने गरिएकोमा यसको नियन्त्रण र डिजिटल विभाजनका विषयवस्तु छलफलको मुख्य केन्द्रबिन्दु बन्यो। सम्मलेनमा सत्यको रक्षक र तीव्र प्राविधिक प्रगतिको युगमा समावेशीकरणको प्रवर्द्धकका रूपमा आमसञ्चारले खेलेको भूमिकाबारे बहस भएका थिए।

सम्मेलनमा घट्दो जनविश्वास, श्रोतादर्शकको रुचि र प्राथमिकता परिवर्तन तथा आर्थिक अनिश्चितताका विषयजस्ता साझा चुनौतीका विषयमा छलफल भएको थियो। पछिल्लो समय आफ्नो संस्कृतिको महत्त्वमा सबै मुलुक लागिपरेका छन्।

नेसनल मिडिया अफिसका अध्यक्ष एवम् एमिरेट्स मिडिया काउन्सिलका निर्देशक बोर्डका अध्यक्ष अब्दुल्ला बिन मोहम्मद बिन बुट्टी अल हमेदले विश्व मिडिया कांग्रेसले यूएईको स्थिति सुदृढ पार्ने मात्र होइन विश्वमा बढ्दो मिस इन्फरमेसन र डिस इन्फरमेसनलाई लयमा ल्याउने तयारी गरेको बताए। उनले रुलरसमक्ष मुलुकको विकासमा सञ्चारको भूमिका बुझाउन सक्दा यो वातावरण सिर्जना गर्दै मिडिया क्षेत्रको विकासमा सबैभन्दा बढी गति लिनेमा मुलुकमा यूएई हुनुपर्ने बताए। उन्नत डिजिटलमा आधारित असाधारण र लचिलो मिडिया कार्य वातावरणको जग बसाल्नुपर्ने उनको धारणा थियो।

गलत सूचनाको युगमा तथ्य प्रमाणीकरण शीर्षकको कार्यशालामा सहभागीहरूले प्रभावकारी स्रोत र दाबीहरूको परीक्षणको महत्त्वबारे प्रकाश पारेका थिए। मिडिया कन्सल्टेन्ट्सका संस्थापक र सीईओ मार्क अल्बर्टले भ्रामक सूचना प्रयोग रोक्न सूचना प्रमाणीकरणमा जोड दिँदै पत्रकारले ‘के यो साँचो हो र?’ भन्ने प्रश्न सोध्न हिचकिचाउन नहुने बताएका थिए।

मिडियाको भविष्यबारे चासो

अबुधाबीमा मिडियाबारे बहस गर्नुको कारण थियो- के अब मिडियाको भविष्य सामाजिक सञ्जालले धराशयी पारिदिएको हो त? मिडिया कांग्रेसले उत्कृष्ट मिडियाका लागि विश्वव्यापी केन्द्रका खाडी मुलुक रहेको पनि उल्लेख गरेको छ। सम्मेलनले मिडिया भविष्यबारे आकर्षक दृष्टिकोण तयर गरेको देखिन्छ। विश्वभरका सक्रिय पत्रकारलाई स्थान दिएर बहस गराउने विषय सामान्य होइन।

मिडिया भनेको पत्रपत्रिका मात्रै पनि त होइन। सम्मेलनले सबै मुलुकको अवस्थाबारे चित्रण गर्न खोजेको थियो। समाजमा विकृत भइसकेको मिडिया क्षेत्रको भूमिकालाई पुनः परिभाषित गर्न पनि सबै तयार देखिएका थिए।

घट्दो विश्वास, मानिसको प्राथमिकता परिवर्तन र आर्थिक अनिश्चितताजस्ता चुनौती पार गर्नका लागि मिडिया संस्थाहरूलाई उपकरण उपलब्ध गराएर भए पनि त्यसको उद्धार गर्न आवश्यक भएको विषय कांग्रेसले उठाएको छ। चुनौती सामना गर्न, अवसर अंगाल्न र जटिल डिजिटल परिवेशमा दीर्घकालीन वृद्धि सुनिश्चित गर्न सम्मेलनले प्रमुख सहायकका रूपमा स्थापित गर्यो्। मिडिया भविष्यमा कस्तो हुनेछ शीर्षकको संवादसत्र इन्टरनेसनल मिडिया इन्भेस्टमेन्ट कम्पनीका समूह सम्पादकीय निर्देशक मुस्तफा अल रविले सञ्चालन गरेका थिए। सत्रमा ट्रेन्ड्स रिसर्च एन्ड कन्सल्टिङ सेन्टरका सीईओ डा. मोहम्मद अल अली र मुख्य सम्पादक माइकल जबरी बेकेटको सहभागिता थियो।

सामाजिक सञ्जाल सदुपयोगमा सबैको ध्यान

सामाजिक सञ्जाल सबैको पहुँचमा रहेको देखिन्छ। यसको प्रयोग कसरी र किन गर्ने भन्ने स्पष्ट नभए पनि मानिस सञ्जालमा व्यस्त देखिन्छन्। सम्मेलनका सहभागीमध्ये कतिपयले कुराकानीका लागि त कतिपयले रमाइलोका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको बताएका थिए। कतिपयले बौद्धिक अध्ययनका लागि पनि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको सुनाए। छलफलमा बालबालिका र युवामा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग कसरी सकारात्मक अन्तरक्रिया बढाउने भन्ने विषयमा जोड दिइएको थियो। अधिकांशले सामाजिक सञ्जाल प्लेटफर्महरू समय निकालेर चलाउनुपर्नेमा जोड दिए। जतिबेला पनि सञ्जालमा के आयो भनेर हेर्ने होइन। फुर्सदका बेला सीमित रूपमा मात्र चलाउनुपर्ने धारणा धेरैको थियो।

मिडिया इभोलुसनस्, अडियो प्रसारण, पत्रकारिता र रेडियो लचिलोपन शीर्षक सत्रमा सहभागीहरूले युवाहरूले सामाजिक सञ्जालबाट लाभ उठाएको र सिकाइको दायरा बढाएको र पोडकास्टहरूले कसरी मिडिया परिदृश्यलाई आकार दिइरहेका छन् भन्ने विषयमा अनुभव आदानप्रदान गरेका थिए। सत्रलाई स्काई न्युज अरेबियाको मल्टिमिडिया पत्रकार न्यान्सी ताबेटले सञ्चालन गरेका थिए, जसमा अल इतिहाद न्युज सेन्टरका सीईओ डा. हमाद अल काबीले मध्यपूर्वमा पोडकास्टिङको विकासबारे चर्चा गरेका थिए। उनले पश्चिमी पत्रकारिताको तुलनामा मध्यपूर्वमा पोडकास्टिङ अपेक्षाकृत् ढिलो सुरु भएको उल्लेख गर्दै यसको ठूलो प्रभावलाई स्वीकार गरे।

प्रदर्शनीमा केके थिए?

सारजाह प्याभिलियनले ड्रोनका कम्पोनेन्टहरू उडाइरहेको थियो भने भित्र आफ्नो सहरबारे जानकारी राखेको थियो। समाचार कक्ष, डाटा व्यवस्थापन, डाटा पत्रकारिता, स्टुडियो, थिंक ट्यांकहरुले गर्ने अध्ययन अनुसन्धानको पाटो, प्राविधिक सेवाजस्ता विषय प्रदर्शनीमा राखिएका थिए। ससाना हलजस्तो बनाएर जानेका कुरा सिकाइएको थियो। ड्रोन प्रयोग गर्ने विधि र संयन्त्रबारे जानकारी गराइएको थियो।

खालेद अल होसानीले प्रसारण प्रणाली, सुरक्षा प्रणाली र निषेधित उडान स्थानजस्ता विषयमा ज्ञान आवश्यक रहेको पनि औँल्याइएका थिए। उनले त्यहाँ ड्रोनको पाटोबाहेक अन्य क्यामेराले खिच्ने प्राविधिक विषयमा पनि उल्लेख गरेका थिए। प्रदर्शनीमा यूएईको कलासंस्कृतिका बारेमा जानकारी दिने लगायतको काम भएको थियो।
०००
यूएईका उपराष्ट्रपति सेख मन्सुर बिन जायद अल नाह्यानको सहयोग र निर्देशनबिना कांग्रेसको तेस्रो सत्रमा सफलता हासिल नहुने पनि जानकारी दिइएको थियो। राष्ट्रिय मिडिया कार्यालयका महानिर्देशक र विश्व मिडिया कांग्रेसको आयोजक समितिका अध्यक्ष डा. जमाल अलकाबीले तेस्रो संस्करणको सबैभन्दा प्रमुख नतिजा र सिफारिसहरूको समीक्षा गरेका थिए।

यूएईमा बसेर व्यवसाय मात्र होइन पत्रकारितामा पनि सक्रिय रहेका उमाकान्त पाण्डे, रुपेश अधिकारी, डा. प्रकाश पौडेल, फुर्वा शेर्पालगायत सहभागी थिए। जसले गर्दा उनीहरूमा पनि अबुधाबीको अवस्था झल्केको थियो। उनीहरु सबैले प्रश्न सोध्ने र जानकारी लिने गरेका थिए।

नेपाली राजदूत क्षेत्रीको सक्रियता

अबुधाबीमा एक सयभन्दा बढी मुलुकका दूतावास छन्। सम्मेलनमा अन्य राजदूत झै नै सहभागी हुन पुगेका थिए नेपाली राजदूत तेजबहादुर क्षेत्री। राजदूत सक्रिय हुँदा मुलुकले पाउने सम्मान फरक हुँदो रहेछ। सबैले नेपाली राजदूतको प्रशंसा गरिरहेका थिए। अन्यमुलुकका राजदूतहरु भन्दै थिए, ‘यहाँको सरकारले पाँचजना राजदूत बोलाउँदा पनि नेपाली राजदूत छुट्दैनन्।’ कूटनीतिज्ञबाट आफ्नो राजदूतको यस्तो प्रशंसा सुन्दा आनन्द लाग्दो रहेछ।

कर्मचारीबाट राजदूत भएका प्राय: गुमनाम हुन्छन्। अबुधाबीमा पुगेको भोलिपल्ट उनको प्रशंसा सुन्दा कूटनीतिमा सुधार हुनुपर्छ र राजनीतिक बुझेका तथा बोल्न सक्ने व्यक्तिलाई राजदूत बनाउनुपर्छ भन्ने स्पष्ट भयो। जीएमसीको तेस्रो संस्करणमा विश्वभरिका राजनीतिज्ञ, आविष्कारक, नीतिनिर्माता, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरुको माझ कूटनीतिज्ञका रुपमा राजदूत क्षेत्रीलाई बोलाइएको थियो। उनले त्यहीअनुरुपको प्रस्तुति पनि दिए। भारत र चीनका राजदूत उपस्थित मात्र भए तर नेपाली राजदूतको कार्यक्रममा सक्रियता देखिँदा रमाइलो अनुभूति भयो।

सम्मेलनमा राजदूत क्षेत्रीले नेपालको मिडिया समग्रमा भरपर्दो र आमनागरिकको पक्षपाती रहेको बताए। केही मिडिया हाउसहरू व्यापारी र राजनीतिक दलको प्रभावमा परेका भए पनि नेपालको अधिक मिडिया भने स्वतन्त्र र आमनागरिकको पक्षमा रहेको अनुभव क्षेत्रीले सुनाए।

नेपाली मिडियाले प्रविधिमा पनि फड्को मार्दै गएको उनले सुनाए। नयाँनयाँ प्रविधि नेपाली मिडियाले उपयोग गर्न सक्नुपर्नेमा उनको जोड थियो। यस्ता कार्यक्रममा नेपाली मिडियाको बाक्लो उपस्थिति राख्नसमेत उनले आग्रह गरे। क्षेत्रीले सञ्चार क्षेत्रको विकास र नयाँनयाँ प्रविधि प्रयोगमा नेपाली सञ्चार क्षेत्रले अवलम्बन गर्नुपर्ने विषय धेरै रहेको र आगामी दिनमा यसको प्रयोग हुँदै जाने विश्वास दिलाए।

अनुभवी व्यक्तिका ज्ञान आदानप्रदान, खोज र अनुसन्धानले नेपाली मिडियालाई थप जिम्मेवार र सहकार्यको अवसर दिलाएको पनि उनले बताए। सामग्री सिर्जना र वितरणमा एआईको प्रयोग, गलत सूचना नियन्त्रण, खण्डित बजारहरूमा दर्शक संलग्नता र प्रविधिहरूको भविष्यजस्ता विषयवस्तुमा थप छलफल आवश्यक रहेको क्षेत्रीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast