क्यानभासमा स्वयम्भू!

हिमाल प्रेस १० फागुन २०८१ २१:२८
6
SHARES
क्यानभासमा स्वयम्भू!

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई केन्द्रीत गरी यहाँ वरपरका दृश्यसमेत कैद गर्दै शनिबार कलाकारले क्यान्भासमा रङ भरेका छन्।

बीस जनाभन्दा बढी कलाकारले दिनभर स्वयम्भूको फेदीमा बसेर क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारे। यी कलाकर्मीकाले स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृश्य एउटै क्यान्भासमा अटाएका थिए।

‘आहा! कति राम्रो स्वयम्भूनाथ,’ सहभागीमध्येका ईश्वर शर्माले भने, ‘हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ।’

यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरूले क्यान्भास र आर्ट पेपर हेर्दै आहा! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए। यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो। महोत्सव व्यवस्थापन समितिका सदस्य तथा उक्त कला कार्यशाला संयोजन गरेका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० जनाभन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताए। कला सिर्जनाको आजै प्रदर्शनीसमेत गरिएको छ।

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू। यसलाई महाचैत्य पनि भनिन्छ। यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए।

जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तूप बनाएका थिए। यहाँ उपत्यकामा पानी भरिएका बेला विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरिको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेको किंवदन्ती छ।

किंवदन्तीअनुसार वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्की ‘मन्त्र गरी दहमा रोपेका’ थिए। अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको भन्ने गरिन्छ।

संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको जानकारहरू बताउँछन्।

भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नुअघि यही भूमिमा बसेर तपस्या गरेको भन्ने गरिन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनिआएको बताइन्छ।

यसरी धार्मिक, सांस्कृतिक र पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरू घुम्न औधी मन पराउँछन्। त्यही मेसोमा आज स्वदेशीसहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाए।

आज यहाँ कलाकारका सिर्जना देखेर आगन्तुकहरू थप उत्साहित भएका थिए। अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैँमा महत्वको विषय भएको बताए।

प्रकाशित: १० फागुन २०८१ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast