
कुनै योजना गरेर हिँडे पो निश्चित ठाउँ पुगेर फर्कनु! बेलायतीहरूले हिलस्टेसनका रूपमा विकास गरेको नैनीताल पुगेपछि अझै उत्तरको सीमान्तकृत क्षेत्र कुमाउँ र गढवाल पनि हेर्ने इच्छा जागृत भएर आयो। अल्मोडा पनि जाऊँ जाऊँ लाग्यो। अल्मोडा गएर अल्झनु भन्दा वागेश्वर, गरुड गएर प्राकृतिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्नु राम्रो हुने सल्लाह त्यतैका एकजना पथिकले दिएपछि गरुड गएर बस्ने निधो गरियो। हुन त गरुड पनि अल्मोडा भएरै गइन्छ।
गुगलम्यापले पनि गजबै गर्छ। नैनीतालबाट गरुड त्यस्तै १३० किलोमिटर देखायो। हामीलाई लाग्यो यतिको बाटो चार घन्टा नभए पाँच घन्टामा पुगिन्छ। नैनीतालमा गरुड जाने योजना बन्दा बिहानको १० बजिसकेको थियो। खाना खाएर गाडी चढ्दा ११ बजिसकेको थियो। बाटो राम्रो भएर मात्र के गर्नु पहाडको बाटो सतर्क भएर चलाउनपर्यो। अल्मोडा पुग्दा पाँच बज्यो। अल्मोडाबाट उत्तरतर्फ खुलेको आकाशमा चाँदीझैँ टलक्क टल्केको हिमाल देख्दा मन आनन्द भयो।
अल्मोडा पहाडको शिरमा बसेको छ। यसको बस्ती पहाडको पूर्वी र पश्चिमी भिरालोमा छ। हिमाली दृश्यपान गर्दै निर्मल आकाशको मुनि बसेर तरेली परेका पहाडी भूमि र धरातलीय अवस्थाको मनोरम हरियाली नियाल्दै स्वच्छ हावा खान पाउनु जीवनको स्वर्गीय अनुभूति हो। यही आस्वादनका लागि आँखाका लागि, मनका लागि, स्वास्थ्यका लागि बेलायतीहरूले हिल स्टेसनका रूपमा विकास गरेका हुन्। यहाँबाट नन्दादेवी (२५,६४५ फिट) र नन्ददेवीपूर्व हिमाल देखिन्छ। अरू ससाना हिमाल पनि देखिन्छन्। अल्मोडाबाट ३७ किलोमिटर पर जागेश्वर मन्दिर छ।
काठगोदाम, देहरादुन, नैतीताल, अल्मोडाजस्ता भारतीय सहर सुदूरपश्चिमका नेपालीका लागि शिक्षा, स्वस्थ्य, वाणिज्य, व्यापार र श्रमका लागि सहज उपलब्ध हुने गन्तव्य हुन्। पूर्वपश्चिम राजमार्ग खुल्नुअघि सुदूरका लागि काठमाडौँ नेपाल हो कि कुनै अनकन्टार प्रदेशको सहर यकिन थिएन। हुनेखाने जमिनदार र सम्भ्रान्तका सन्तान शिक्षादीक्षाका लागि यिनै भारतीय सहरमा पुग्थे। नैनीताल र अल्मोडामा पढेका कति मानिस नेपालको शीर्ष तहमा पुगेका पनि छन्।
नैनीतालबाट अल्मोडा पुग्न बस पाइन्छ। भाडाका अन्य सवारीसाधन पनि पाइन्छन्। यहाँबाट ६५ किलोमिटर टाढा पर्छ अल्मोडा। नैनीताल पुगेपछि सामान्य थप खर्चमा अल्मोडा पनि घुमेर आउन सकिन्छ। अल्मोडाको स्थापना कल्याणचन्द भन्ने राजाले गरेका हुन। भारतीय स्वतन्त्रता संग्रामको समयमा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूलाई बेलायतीले यहिको जेलमा राखेका थिए भनेर भनिन्छ।
यात्रामा हिँड्दा स्थानीय संस्कृति, लोकोक्ति, इतिहास र जनताको वर्तमान राजनीतिक अवस्थाका विषयमा पहिलो जानकारी दिने गाइड सवारी चालक हुने गर्दछन्। नयाँ ठाउँमा जाँदा ती ठाउँका विषयमा धरातलीय यथार्थको सच्चा सूचना सम्प्रेषण गर्ने सन्देशवाहक हुन् रिक्साचालक र ट्याक्सीचालक। गाडीको झ्यालबाट प्राकृतिक सौन्दर्य नियाल्दै सवारीचालकको गफ सुन्दै हिँड्दा विशेष आनन्द अनुभूति गर्दछु। हाम्रो यात्रामा पनि यस्तै पक्का साथी निस्किए सवारीचालक। सुरुसुरुमा निकै धकाएर कुरा गरिरहेका यिनी त नेपाली भाषा पनि राम्रै बुझ्ने र बोल्ने पनि गर्दा रहेछन्। कुमाउँको गाउँसहरमा नेपाली भाषा बोलिन्छ र बुझिन्छ भन्ने कुरामा यिनीसँगको संवादबाट प्रस्ट भयो।
हिँड्दै गर्दा कुमाउनी गीत पनि गाए। गीतमा हालिने संगीतमा एउटा पहाडको एउटा छुट्टै पहिचान हुने रहेछ। पहाडी हावा र पानीमा मिसिएर आउने रहेछ कि क्या हो। हाम्रो यात्रा यस्तो समयमा हुँदै थियो जहाँ स्थानीय निर्वाचनको प्रचारप्रसार जोरजोरले चल्दै थियो। प्रचारमा बजाइने गीत र धुन ठ्याक्कै नेपाली रसको। हाम्रो अनुहार पनि पहाडी भएर पो हो कि प्रचारमा निस्किएका नेताहरुले झुकेर नमस्कार गर्दै मत माग्दै थिए। आखिर नेताहरूको गुण सर्वव्यापी एकनासको हुने रहेछ। यस्तै मनमा गुन्यौँ हामीले।
तरेली परेका पहाड हेर्दै गर्दा र स्थानीय गाउँहरुको नामलाई मनन गर्दै गर्दा मनमा एकदुई कुरा उठे। नेपालका धेरै ब्राह्मण तथा खसजाति उत्तराखण्डको कुमाउँ तथा गडवालबाट आएका हुन् भनेर भनिन्छ। थरसँग मिल्ने गाउँहरू देखिन जाँदा आप्रवासनका कथा र किस्सा मिल्न गएको भान हुन्थ्यो। फेरि धरातलीय यथार्थ हेर्दा अलि पत्याउन कठिन पनि देखिन्थ्यो। त्यो किनभने हामी जुन ठाउँको भ्रमण गर्दै थियौँ त्यो ऐतिहासिक रूपमा नाम चलेका स्थान थिए। अल्मोडाबाट पश्चिम ओरालो लागेर हिँड्दै गर्दा दक्षिणतर्फ पहाड र उत्तरतर्फ पनि पहाड, बीचमा नदी बगेका देखिन्छन्। जमिनको धरातल मानवीय बस्तीका लागि उपयुक्त र खेतीपातीका लागि उर्वरा देखिन्छन्।
यातायातका हिसाबले त्यति कठिन नभएको। खेतीपातीका लागि खाली जमिन प्रशस्त भएको ठाउँबाट नेपालका विकट गाउँहरुमा किन बसाइँ सरे होलान् भन्ने प्रश्न मनमा गड्यो। हुन त मानवीय स्वभाव हो विविध कारणले बसाइँ सर्दै हिँडेका होलान्। मानव सभ्यताको कालखण्डमा उसले सधँै अभाव र दुःखमा देख्दै आएको छ। आज हामीलाई जसरी जमिनको अभाव खट्किन्छ त्यो समयमा पनि त्यस्तै थियो होला।
भाडाको सवारीमा यात्रा गर्दा चालकसँग हुने संवादले त्यहाँको स्थानीय राजनीतिका विषयमा यथेष्ट जानकारी पाइन्छ। कुन नेताको लोकप्रियता कति छ भन्ने पनि अनुमान लगाउन सकिन्छ। हामो सवारी चालक मोदीका अनन्य भक्त परेछन्। भन्दै थिए, प्रधानमन्त्री गरिब कल्याण अन्न योजनाअन्तर्गत मोदी राजमा महिनाको १२ केजी गहुँ र ६ केजी चामल निःशुल्क पाउँछन् प्रत्येक परिवारले। खानबिना मरिँदैन। सम्झिएँ, समाजवाद ल्याउन उद्यत नेपालका राजनीतिक दलहरुले पनि गरिब परिवारलाई यसैगरी निःशुल्क रासन बाँड्न सकेका भए। निःशुल्क शिक्षा र स्वास्थ्य सेवा उपलव्ध गराउन सकेका भए।
नेपालमा अहिले जसरी गाउँ रित्तिएका देखिन्छन् र गाउँका पुराना घर त्यागिएका देखिन्छन्। त्यसैगरी त्यहाँ पनि खाली जमिन, त्यागिएका घर प्रशस्त देखिए। जुन कारण हामी यहाँ देख्छौँ त्यही कारण देखिन्छ त्यहाँ पनि। वैदेशिक रोजगारीको प्रभाव। वैदेशिक रोजगारले सम्भवतः विश्वमा एउटा छुट्टै अर्थराजनीतिको विकास गर्दैछ। हाममीले यस्तै सुन्यौँ र प्रत्यक्ष देख्यौँ।
कौशानीबाट १९ किलोमिटर टाढा एउटा विशाल घाँटी छ। कौशानीलाई भारतको स्विजरल्यान्ड पनि भनिन्छ। यसको एउटा छेउमा गरुड नदी बग्छ। बैजनाथको ऐतिहासिक मन्दिर तीन किलोमिटर टाढा छ। गोमती नदी बगेको देखिन्छ। बैजनाथको २३ किलोमिटर पर वागेश्वर मन्दिर छ। जहाँ गोमती र सरयु नदी बग्छन्। यिनै ठाउँको पवित्रताले गर्दा यहाँ जान लालायित भएका थियौँ हामी। यी सबै दृश्यलाई आँखामा सजाउँदै गरुडमा गएर बास बस्यौँ।
गरुडबाट हामी पिँडार नदीको किनारैकिनार पश्चिम लाग्यौँ रुद्रप्रयाग दर्शनका लागि। रुद्रप्रयाग केदारनाथ जाने बाटोमा पर्छ। यो नदी अलकनन्दामा मिसिन्छि जसको संगमलाई कर्णप्रयाग भनिन्छ।
अलकनन्दासँग मिसिन आउने पाँच नदीहरुको संगमलाई पञ्चप्रयाग भनिन्छ। गरुडदेखि पश्चिम हुँदै ऋषिकेशसम्म आउँदा पाँचवटा प्रयाग भेटिन्छन्– विष्णुप्रयाग, नन्दप्रयाग, कर्णप्रयाग, रुद्रप्रयाग र देवप्रयाग हुन्। विष्णुप्रयागमा अलकनन्दा र द्यौलीगंगा, नन्दप्रयागमा अलकनन्दा र मन्दाकिनी, कर्णप्रयागमा अलकनन्दा र पिँडार, रुद्रप्रयागमा अलकनन्दा र मन्दाकिनी र देवप्रयागमा अलकनन्दा र भागिरथी नदी मिल्छन्। देवप्रयागमा अलकनन्दासँग भागिरथी मिलेपछि गंगानाम गरेर बग्छ।
कर्णप्रयाग बद्रीनाथ जाने बाटोमा पर्छ। अलकनन्दा बद्रीनाथ मन्दिर नजिकैबाट प्रवाहित भएको छ। केदारनाथपट्टिबाट मन्दाकिनी आएको छ। पिँडार नदीको किनारैकिनार कर्णप्रयागमा पुगियो र त्यसपछि रुद्रप्रयाग। कर्णप्रयाग महाभारतका कर्णले ध्यान गरेको ठाउँ भनेर भनिन्छ भने रुद्रप्रयागमा देवर्षि नारदले सयौैँ वर्ष तप गरेर भगवान् शिवलाई प्रसन्न बनाई संगीत विद्यामा महारथ हासिल गरेको वर्णन पाइन्छ।
रुद्रप्रयाग पुगेर नदी संगममा स्नान गर्दा शरीरमा एक किसिमको ऊर्जा आएको अनुभूति भयो। यो यस्तो संगम हो जहाँ बद्रीनाथ र केदारनाथको शैल शिखरबाट बगेको पवित्र पानीको अपूर्व अलौकिक देवतास्पर्श गर्न पाइन्छ। देवाधिदेव भगवान् शंकरको बासस्थान यहीँ माथि शिखरमा छ। स्नानपछि पितृतर्पण गरियो। यहाँबाट घर फर्कँदै गर्दा स्मृतिचिह्न स्वरूप के लिएर जाने भन्ने मनको भावलाई यहाँ संगमको ठिक्क बीच भागबाट ससाना शिला लिइयो र शिवचिह्न स्वरूप प्रसादका रुपमा झोलामा राखेर घर ल्याइयो।
‘ढुंगामा आखिर के छ?’ मानिसलाई लाग्न सक्छ। विश्वासले पूजा गरे देवता, नभए पृथ्वीको गर्भबाट निस्किएको एउटा शिला। भन्न त शिलालाई प्राणविहीन भनिन्छ, तर यसभित्र पनि चेतनाको अंश हुन्छ भन्दछन् अध्यात्मवादीहरु। प्राणप्रतिष्ठा गरे शिलामा देवता आएर बस्छन् भन्ने सनातनी विश्वास छ। त्यसैले त होला कालीगण्डकीको शिलालाई देवता भनी पुज्दछन्। कविशिरोमणि लेखनाथ पौड्यालले कवितामा ‘कृष्णाको तटको ढुंगो देवता कहलाउँछ’ त्यसै भनेका होइनन् होला। कालीगण्डकीको तटको ढुंगोमा देवताको वास छ भने बद्रीनाथ र केदारनाथको चरण छोएर आउने अलकनन्दा र मन्दाकिनीको जलले रुद्राभिषेक गरिएका ढुंगामा पनि पक्कै शिवको वास हुनुपर्छ।
रुद्रप्रयाग दुई पहाडको खोँचमा छ। संगम स्नानबाहेक पर्यटकीय दर्शनका लागि अरु खास स्थान छैनन्। रुद्रप्रयागबाट केदारनाथ जाने बाटो भएकाले पनि यहाँ विशेष चहलपहल हुँदो रहेछ। यहाँ बास बस्नका लागि ससाना होटल छन्। यहाँ बसेर सवारीसाधन खोज्दा महँगो पर्ने रहेछ। ऋषिकेशलगायत हरिद्वारसम्म जानका लागि प्रशस्त सार्वजनिक सवारीसाधन पाइने रहेछ।
रुद्रप्रयागबाट फर्केर अल्मोडा या नैनीताल आउनुपर्दा सार्वजनिक सवारीसाधन पाउन कठिन रहेछ। रुद्रप्रयागको दर्शनपछि पुनःअल्मोडा आएर दार्चुला हुँदै काठमाडौँ फर्कने योजना बनाएका थियौँ। यातायातको साधन महँगो पर्न जाँदा उक्त योजना त्याग गरी हामी सार्वजनिक बसबाट श्रीनगर हुँदै ऋषिकेशका लागि प्रस्थान गर्यौँ।
रुद्रप्रयागबाट फर्कंँदा पहिलो ठूलो सहर श्रीनगर पुगिन्छ। त्यहाँबाट ३५ किलोमिटर यात्रापछि देवप्रयाग आउँछ। यहाँ अलकनन्दा नदीसँग उत्तरपश्चिमबाट बग्दै आएकी भागीरथी मिसिन्छ र गंगा नामकरण भएर बग्न थाल्छ। देवप्रयागपछि निकै लामो बाटो हिँडेपछि ऋषिकेश आइपुग्दछ। ऋषिकेशबाट २०÷२५ किलोमिटर हिँडेपछि हरिद्वार पुगिन्छ।
केदारनाथ र बद्रीनाथ दर्शनका लागि तीर्थयात्रीहरू ऋषिकेशको हुँदै जाँदा रहेछन्। हामी भने नैनीतालबाट उत्तर र पश्चिम हुँदै यात्रा गर्दा उल्टो बाटो हिँडेको जस्तो लाग्यो। नदीको प्रवाहलाई नछोडी अघि बढ्दा यात्रा गर्दा रोचक र ज्ञानवद्र्धक बन्न गएको थियो। ऋषिकेशदेखि रुद्रप्रयागसम्मको बाटो साँघुरो र डरलाग्दो रहेछ।
ऋषिकेशमा रामझुला, लक्ष्मणझुलालगायत मन्दिरको दर्शन गरेर बास बस्न हरिद्वार आइयो। हरिद्वारमा बासका लागि प्रशस्त धर्मशाला रहेछन्। हरिद्वारमा गंगास्नान गरेर भोलिपल्ट बेलबासा, शारदानहर हुँदै महेन्द्रनगर प्रवेश गरियो। काठगोदामबाट उकालो लागेका हामी पूर्वपश्चिम लमतन्न फैलिएका उत्तराखण्डका कुमाउँ र गडवालका पहाडका शृंखलालाई एक फन्को लगाएर पुनः काठगोदाम हुँदै बेलबासा आउँदा एक चक्कर पूरा गरिएछ।