
काठमाडौँ- बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा ‘जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसल)’ र इन्रुडेक कोहलपुरको साझेदारीमा शनिबार कोहलपुरमा सम्पन्न कार्यशाला गोष्ठीले स्थानीय पर्यटन उद्यमीहरूका अवसर सुदृढीकरणका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले निकुञ्ज मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न र मध्यवर्ती क्षेत्र आसपास बसोवास गर्ने मानिसहरूको जीवनस्तर उकास्नका लागि वनमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न निकुञ्ज कार्यालय तयार रहेको बताए।
उनले विशेषगरी पाटे बाघ संरक्षणका लागि स्थापना गरिएको यस निकुञ्जको प्रचारप्रसार गरी समग्र पर्यटन व्यवसायलाई अगाडि बढाउन आफूहरू तयार रहेको समेत बताए।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सूर्य ढकालले आफ्नो निर्वाचन क्षेत्रमा रहेको बाँके राष्ट्रिय निकुञ्जको पर्यटन विकासका लागि केन्द्र सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता जनाए। उनले बाँके राष्ट्रिय निकुञ्जको महत्वबारे थप प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।
इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित स्थानीय तहले जीविकोपार्जनसम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकासलगायतका कुरामा जोड दिनुपर्ने बताए।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णकेसी नमुनाले थोरै लगानीबाट पनि पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने हुँदा त्यसका सम्भावनाहरू खोजी गरेर प्रचारप्रसार गर्नुपर्ने बताइन्।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य बसन्ती न्यौपानेले अधिकारीले निकुञ्ज आसपासाका होमस्टेहरूमा स्थानीय उत्पादनलाई जोड दिई रैथाने भाषा कलासंस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताइन्।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, नरैनापुर गाउँपालिका अध्यक्ष मो.इस्तियाक अहमद शाहले पर्यट विकासका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्न गाउँपालिका तयार रहेको बताए।
त्यस्तै पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले नीतिगत तहमा बाँके राष्ट्रिय निकुञ्जलाई प्रवद्र्धन गरी त्यसमा आधारित व्यवसायलाई थप व्यवस्थापन गर्न परिषद्ले काम गर्दै आएको बताए।
कार्यक्रममा जनप्रतिनिधिहरू, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, सरोकारवाला निकायलगायत दुई सयभन्दा बढीको सहभागिता रहेको थियो।