
स्कटल्यान्डको जाडो पहिलोपटक भोगिरहँदा मलाई महसुस भयो – यो केवल मौसमको कुरा होइन, यो त जिन्दगीसँग लड्ने एउटा नयाँ अध्यायको सुरुवात हो। बाहिर अबिराम हिउँ परिरहेको छ। झ्यालका सिसामा जमेको हिउँका थोपाले मलाई आफ्नो गाउँको कुहिरोको बिहान सम्झायो। ‘यो कुहिरो कहाँबाट आउँछ होला?’ मेरो मनमा सधैँ कौतूहल रहने गर्थ्यो।
‘बादलले उड्न अल्छी गरेर तलतलै उडेको भएर कुहिरो भएको होला!’ मेरो दाइले मेरो कौतूहलतामा हास्यविनोद थपेर भनिदिनुभएको थियो।
कुहिरो जसरी बने पनि मलाई धर्तीले सेतो घुम्टो ओढेकोजस्तो लाग्थ्यो, मैले आफ्नो जिउ तताउन आमाले किनिदिएको नयाँ सिरक ओढेजस्तै। हेर्दाहेर्दै कुहिरोले वरिपरिका सबै दृश्य ढाक्दै जान्थ्यो र पल्लो घरसमेत देखिँदैनथ्यो।
नेपालमा त्यो कुहिरो लाग्दा पनि न्यानो थियो – मायाको न्यानो। परिवारको माया। घरआँगन, वरिपरिका खेतबारी र हरिया रूखले पूरै माया गरेका रहेछन् मलाई। त्यसैले त तिनलाई सम्झिँदा अहिले पनि मेरो हृदय पुलकित भएर आउँछ।
तर यहाँ? केवल चिसो। माया नै नभएको स्वार्थीजस्तो। मायाको अनुभव गर्न त आफ्नै गाउँठाउँ सम्झिनुपर्ने।
नेपालमा म जाडो मन पराउँथेँ। सूर्यका कलिला किरणले मुस्कुराएको पहाड, किरणको स्पर्शले आनन्दित देखिएका रूखबिरुवा, किरण परेर मोतीका दानाजस्ता देखिएका शीतका थोपा, आँगनको ढुंगेचुलोमा आमाले पकाएको तातो चियाको बासना, घाम ताप्दै बुढापाकाबाट बसेर सुनिने लोककथा, आगोको तापको स्पर्शले तताएको न्यानो शरीर, आगो ताप्दै गरिने गफ र हाँसीमजाक- यी सबैले जाडो रमाइलो बनाउँथे। चुलोको आगोमा खुट्टा तताउँदै मेरा साना भाइबहिनी हाँसिरहेका हुन्थे। उनीहरुको हाँसोले घर नै हाँस्थ्यो र न्यानो महसुस हुन्थ्यो।
तर स्कटल्यान्डमा सबैथोक फरक छ। चुलो छैन, आगो छैन, चियाको बासना छैन, बुढापाकाको लोककथा छैन, न त परिवार। त्यसैले न्यायोको अनुभव पनि भएन। केवल कठ्याङ्ग्रिँदो चिसो। उदासउदास मौसममा मलाई न्यानो बनाउने केवल सम्झना छ। जबजब बाहिरको जाडोको लहर शरीरबाट भित्र छिरेर मुटुसम्मै पुग्छ, त्यो बेला म गाउँको जाडोको न्यानो स्मृतिले मुटु तताउने प्रयत्न गर्छु। मनलाई न्यानो पार्ने कोसिस गर्छु र केही राहतको अनुभव हुन्छ पनि।
मसँग केवल एउटा बिजुली हिटर छ। हिटरले ज्यान तातो त बनाउँछ तर मनलाई भने न्यानो बनाउन सक्दैन। हिटर ताप्दै गर्दा म सम्झिन्छु, नेपालमा जाडो सुरु हुनुअगाडि आमाले मलाई नयाँ सिरक किनिदिनुहुन्थ्यो। यो क्रम हरेक जाडोमा चलिरहन्थ्यो।
‘जाडो नलागोस् भनेर’, आमा भन्नुहुन्थ्यो। आमाका यी शब्द सिरकभन्दा अझै न्याना हुन्थे।
कहिलेकाहीँ म सिरकभित्र गुटमुटिएरै बिहान चिया खान्थेँ। कतिखेर सूर्यका किरणले आँगनमा स्पर्श गर्लान् भनेर कुरिरहन्थेँ।
सूर्यका किरण पारिको डाँडोबाट झरेर हाम्रो गाउँको डाँडोतिर उक्लिँदै जान्थे। सुरुमा हाम्रो घरवरिपरिका अग्ला रूखका टुप्पालाई स्पर्श गर्थे। त्यसपछि घरको धुरी हुँदै आँगनमा प्रवेश गर्थे। त्यो बेला म कति खुसी हुन्थेँ! आँगनमा घाम ताप्दै गर्दा आमा र बाबाको माया महसुस गर्थें।
अहिले स्कटल्यान्डमा सूर्यका किरण देख्नु नै एकादेशको कथाझैँ भयो। घामको मुख नै देख्न पाइन्न। व्यस्तता यति हुन्छ कि बिहानै नजिकैको बसस्टपमा पुग्नुपर्छ। दुई-दुईवटा ज्याकेट लगाएर पनि म थरथरी काँप्छु। स्कटिस मौसमको कठोरताले मलाई आफ्नो जीवनको न्यानोपन हराएको अनुभूति दिलाउँछ।
नेपालका दिन सम्झिँदा मेरा आँखा भरिएर आउँछन्। म आफ्नी आमासँग हुँदाका ती दिन सम्झिन्छु। आमाले बिहानै उठेर मलाई तताएको पानी दिनुहुन्थ्यो।
‘जाडोमा चिसोपानीले नुहाउँदा तिमी बिरामी पछ्र्यौ,’ आमा भन्नुहुन्थ्यो।
अहिले यहाँ मैले आफैँ तताएको पानीले नुहाउनुपर्छ। म बाथरुमको चिसो टायलमा उभिएर आफैँसँग गुनगुनाउँछु, ‘तिमी ठूली भयौ। अब अरुको सहारा खोज्ने समय छैन। तिम्रो काम तिमीले नै गर्नुपर्छ।’
साताको पाँच दिन म विश्वविद्यालय जान्छु। पढाइको चाप, चिसो मौसम र जागिरको जिम्मेवारी- यी सबैले मलाई थकित बनाउँछन्। नेपालमा बुबाआमाले ‘बिरामी भइहाल्छेस्, आराम गर्’ भन्दै मलाई काम गर्न दिनुहुन्नथ्यो। तर यहाँ चिसोमा काममा नजाने बहाना बनाउनु भनेको जागिर गुमाउनुजस्तै हो।
जाडोकै समयमा एक दिन नेपालबाट मेरो दाइले भिडियो कल गर्नुभयो। ‘नेपालमा यो पटक जाडो असाध्यै राम्रो छ,’ दाइले भन्नुभयो। झ्यालबाट परको कुहिरो देखाउँदै गाउँको अवस्था सुनाउनुभयो।
‘आमाले तिम्रालागि नयाँ सिरक किन्नुभएको थियो। यसपालि तिमी छैनौ भनेर हामीलाई अलिक अप्ठ्यारो लागिरा’छ।’
दाइको कुरा सुनेर मेरो गला अवरुद्ध भयो। बोल्नै सकिनँ। मलाई आफ्नो घर, आफ्नो गाउँ र आफ्ना प्रियजनको सम्झना धेरै नै बढेर आयो।
मेरो मनमा नेपाल र स्कटल्यान्डको जाडोबीचको गहिरो भिन्नता अझै स्पष्ट रूपमा झल्किन थाल्यो। नेपालमा जाडो मौसम एउटा साझा चाडजस्तै लाग्थ्यो। सबै परिवार एक ठाउँमा जम्मा भएर न्यानो साझेदारी गर्थे। स्कटल्यान्डमा भने जाडो एक्लोपनको परिभाषा बनेको छ।
एक साँझ स्कटल्यान्डको सहरमा मैले आफ्नो अपार्टमेन्टको झ्यालबाट पर हेरेँ। वरिपरि बत्ती बलेका थिए। तर मेरो मन अँध्यारो थियो। मलाई बाल्यकालमा आगो ताप्दै दाजुभाइसँग गरेको रमाइलो पुनः याद आयो। त्यो बेला मैले घरबाहिर रहेका बुढापाकाहरूले गफ गर्दै ‘कुहिरोले जाडो चर्को बनायो’ भनेर भन्ने गरेका सम्झिएँ। यहाँ न आगो ताप्ने कुनै ठाउँ थियो, न कसैसँग बस्ने सहारा। फगत एक्लो जीवन। आफैँसँग कुरा गर्नुपर्ने। दुःख पनि आफैँभित्र पिएर बस्नुपर्ने। आमाले त मेरो अनुहारको भाव हेरेरै मलाई के भएको छ भनेर थाहा पाउनुहुन्थ्यो।
त्यही बेला मलाई आफ्ना अनुभूति लेख्न मन लाग्यो। मैले एउटा पुरानो डायरी झिकेर लेख्न सुरु गरेँ। लेख्न थालेपछि मैले महसुस गरेँ, जाडोले मलाई आफ्नो अस्तित्वबारे सोच्न लगाइरहेको छ।
नेपालमा जाडोको अर्थ थियो – मायाको न्यानोपन। स्कटल्यान्डमा जाडोको अर्थ थियो – स्वतन्त्रताको मूल्य। म स्वतन्त्र थिएँ तर त्यो स्वतन्त्रता मैले आफ्नो मायालु न्यानोपन गुमाएर कमाएकी थिएँ। सायद कमाएकी थिएँ थोरै र गुमाएकी थिएँ धेरै।
केही समयपछि मैले आफैँलाई सम्झाएँ, ‘जिन्दगीको प्रत्येक अध्याय फरक हुन्छ। एउटै अध्याय त कसैको जीवनमा पनि दोहोरिँदैन। मैले बितिसकेको अध्यायलाई खोतलेर त्यही मात्र खोजिरहनुहुँदैन। जीवनमा जुन अध्याय आइपर्छ, त्यसलाई स्वीकार्नुपर्छ। यो जाडोले मलाई बलियो बनाउँदैछ। यो चिसोले मलाई सम्झाइरहेको छ कि मेरो न्यानोपन अब मेरो आत्मविश्वास र परिश्रममै छ।’
त्यो रात मैले झ्याल खोलेर हिउँमा हात राखेँ। हिउँको चिसोले मलाई जीवनको कठोर पक्षको अनुभव दिलायो। तर त्यसैले मलाई आफूलाई अझै मजबुत बनाउन सिकायो। नेपालमा जाडोले मलाई परिवारको माया सिकाएको थियो। स्कटल्यान्डको जाडोले आफूलाई माया गर्न सिकायो। अब मैले आफूलाई झनै माया गर्नेछु।
अन्त्यमा, मैले मेरो दाइलाई म्यासेज पठाएँ, ‘मलाई राम्रो छ। जाडो कति कठोर भए पनि मसँगै छु। स्कटल्यान्डको जाडोले मलाई अझ बलियो बनाउन सिकायो। मैले आफूलाई विशेष माया गर्न थालेँ। तर मलाई त्यो कुहिरोको चुलोमा बसेको आफ्नो गाउँको माया भने सधैँ याद आइरहन्छ।’
आहा ! गज्जब ।