जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद

हिमाल प्रेस १० फागुन २०८१ १६:११
12
SHARES
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउदले अधिवेशन गरेर भ्रातृ संगठनहरूलाई गतिशील बनाउने कर्तव्य पार्टीको जिम्मेवारीमा रहेका नेताहरूको भएको बताएका छन्।

मोरङको विराटनगरमा शनिबार आयोजित नेपाल भूतपूर्व सैनिक संघको कोशी प्रदेश कार्यसमितिको पहिलो अधिवेशन उद्घाटन समारोहमा उनले जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाईँमा मात्रै लाग्न नहुने बताए।

‘पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने, गतिशील बनाउने कुरा पार्टीको जिम्मेवारीमा रहेका मान्छेहरूको कर्तव्य हो,’ केन्द्रीय सदस्य साउदले भने, ‘त्यो कर्तव्यबाट भागेर पदको लडाईँमा मात्रै पार्टीलाई लैजानु हुन्न।’

पूर्वपरराष्ट्रमन्त्री साउदले एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रुपमा लैजान सकेमात्रै कांग्रेस अगाडि बढ्न सक्ने पनि बताए।

‘जिम्मेवारीबोध, विचारमा स्पष्टता, संसदीय मोर्चामा पार्टीको प्रभावकारिता अभिवृद्धि हुने कुरा, गाउँ–गाउँमा एक कांग्रेसले अर्को कांग्रेसको मुख हेर्न पनि नहुने किसिमको स्थितिबाट पार्टीलाई जोगाएर बलियो पार्टीको रुपमा लैजान सक्यौँ भने मात्रै हाम्रो कांग्रेस अगाडि बढ्न सक्छ,’ साउदले भने।

उनले सत्ता साझेदार दलहरू कांग्रेस र एमालेमध्ये जो जनताका बीचमा गएको छ उसैले आगामी निर्वाचन जित्ने पनि बताए।

‘हामी एमालेसँग सरकारमा साझेदारी गरिरहेका छौँ। दुईटै पार्टी ०८४ मा चुनाव लड्नु पर्ने छ। चुनाव लड्दा दुईटै पार्टीबीच प्रतिष्पर्धा हुने हो,’ साउदले भने, ‘प्रतिष्पर्धा हुँदा जो बलियो छ, त्यसले जित्ने हो। जो जनताका बीचमा गएको छ, त्यसले जित्ने हो। आफ्ना सांसदलाई गाउँ–ठाउँमा जनताको चित्त बुझाउने गरेर जसले परिचालित गरेको छ, त्यसले चुनाव जित्ने हो।’

उनले कांग्रेसले वैचारिक र सांगठनिक अस्तित्वसँगै कार्यसम्पादनको विशिष्ठतालाई जोगाएर अगाडि बढ्नु पर्छ भन्दा पार्टीकै नेताहरूले चित्त दुखाएको गुनासोसमेत गरे।

‘एमालेसँग हाम्रो सहयात्रा छ, सँगसँगै प्रतिष्पर्धा पनि छ। त्यसकारण नेपाली कांग्रेसले आफ्नो वैचारिक, सांगठनिक अस्तित्वलाई जोगाएर कार्यसम्पादनको विशिष्ठतालाई पनि जोगाएर अगाडि बढ्नु पर्छ भन्दा केही साथीहरूले अलि चित्त दुखाएको जस्तो गर्नुभएको छ,’ नेता साउदले भने।

प्रकाशित: १० फागुन २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast