
काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२५ को तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुनेछन् । प्रतियोगिताका खेलहरू भैरहवास्थित सिद्धार्थ रंगशाला, एक्ट्राटेक ओभल र दाङस्थित लमही क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन्। पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, एक्स्ट्राटेकमा बागमती प्रदेशले एपीएफको सामना गर्दा लमहीमा कर्णालीले सुदूरपश्चिम प्रदेशविरुद्ध खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल चैत १६ गते सिद्धार्थ रंगशालामा हुने क्यानले जनाएको छ। प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीयसहित कुल १० टोलीले सहभागिता जनाउने छन्।