
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनताका सभापतिका उम्मेदवार शेरबहादुर देउवाको रजगज थियो। महाधिवेशनमा कांग्रेसका अधिकांश ‘हेभिवेट’ नेताहरू देउवासँग थिए। कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, प्रकाशशरण महत, एनपी साउद, शशांक कोइराला, गोपालमान श्रेष्ठ, मोहन बस्नेत, विजयकुमार गच्छदारलगायतका दर्जनौँ नेता एकढिक्का भएर देउवासँग उभिएका थिए।
प्रजातान्त्रिक कांग्रेस गठनदेखि १४ औँ महाधिवेशनअघिसम्म देउवासँग ‘खम्बा’ बनेर रहेका विमलेन्द्र निधि प्रतिस्पर्धामा उत्रिएर सभापतिमा उम्मेदवारी दिए। पार्टीको आन्तरिक राजनीतिक हिसाबले सभापतिमा निधिको उम्मेदवारी देउवाका लागि ‘धक्का’ भए पनि परिणामलाई खासै प्रभावित गरेन।
पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत कटाउन नसकेपछि दोस्रो चरणमा निधि र प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका थिए। दोस्रो चरणमा समर्थन गरे पनि लामो संगत भएका देउवासँग दूरी बढाइदियो निधिको उम्मेदवारीले। दुई नेताबीचको त्यो दूरी अझ कायमै छ। सिंह सभापति देउवासँग निकट छन्। गठबन्धन सरकारमा यतिबेला उनी उपप्रधान तथा सहरी विकासमन्त्रीको जिम्मेवारीमा छन्।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर २४ गते भएको थियो। विधानअनुसार १५ औँ महाधिवेशन २०८२ मंसिर २४ गते हुनुपर्नेछ। त्यो मितिमा महाधिवेश गर्न कांग्रेस तयार देखिँदैन। नेताहरूकै अनुसार अहिलेसम्म १५ औँ महाधिवेशनको सुरसारसमेत हुन सकेको छैन। इतर समूहले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न दबाब बढाइरहे पनि सभापति देउवा टार्न खोजिरहेका छन्। स्थापन पक्षीय एक नेता भन्छन्, ‘कांग्रेस इतिहासमा तोकिएको मितिमा महाधिवेशन भएको छैन। १५ औँ महाधिवेशन पनि यसअघिभन्दा फरक होला भन्ने जस्तो लाग्दैन।’
‘विशेष परिस्थिति’ मा विधानअनुसार एक वर्ष र संविधानअनुसार ६ महिना गरी महाधिवेशन मिति साढे एक वर्ष सार्न सकिने सुविधा कांग्रेससँग छ। कांग्रेसले सबै महाधिवेशनमा यो सुविधान उपयोग गर्दै आएको छ।
१० महिनापछि हुनुपर्ने महाधिवेशनका लागि सभापति देउवा आफैँ तयार नदेखिए पनि सभापतिका आकांक्षी र अन्य नेताहरू गृहकार्यमा जुटिसकेका छन्। सभापतिका लागि आकांक्षी देखिएका शेखर कोइराला र गगन थापाको देश दौडाहा महाधिवेशनको तयारीमै केन्द्रित छ।
१५ औँ महाधिवेशनमा देउवा विधानतः सभापतिमा उठ्न पाउने छैनन्। त्यसैले संस्थापन समूहबाट उनका उत्तराधिकारी को हुने प्रश्न यतिबेला चासोको विषय बनेको छ। संस्थापनबाट कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालाले सभापतिका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने नेताहरूको भनाइ छ। यद्यपि देउवाले आफ्नो उत्तराधिकारीबारे प्रस्ट गरिसकेका छैनन्।
तितरबितर गुट
१४ औँ महाधिवेशनका बेला पनि देउवाले आफ्नो पुरानो समूहलाई गोलबन्द बनाएर राख्न असफल भए। समूह गोलबन्द हुन नसकेकै कारण पहिलो चरणको मतदानमा बहुमत पाउन नसकेका उनले दोस्रो चरणमा निधि र प्रकाशमानको साथ लिनुपरेको थियो।
त्यसो त त्यो महाधिवेशनमा एकजुट रहेको कोइराला खेमा पनि अहिले तितरबितर भएको छ। १४ औँ महाधिवेशनमा सँगै हिँडेका शेखर र गगन यतिबेला भिन्नाभिन्नै गुटमा छन्। महाधिवेशन नजिकिँदै गर्दा शेखर-गगनबीचको सम्बन्ध टाढिएको छ। दुवैले सभापतिमा दाबेदारी गरिरहेका छन्।
शेखरनिकट एक नेताका अनुसार १४ औँ महाधिवेशनमा सँगै रहेका दुवै नेताबीच पछिल्लो समय दूरी बढेको छ। शेखर सभापतिमा लड्ने निश्चित रहेको बताउँदै ती नेताले गगनको उम्मेदवारीलाई पनि नकार्न नसकिने जिकिर गरे। शेखरको उम्मेदवारी पक्का भएपछि गगन भने सभापति देउवासँग नजिकिएका छन्।
‘शेखर दाइ र गगनजीबीचको दूरी बढेको सत्य हो। गगन थापा देउवाविरुद्ध संसदीय दलको नेतामा चुनाव लड्दा शेखर दाइ सभापतिमा लड्ने सहमति भएको थियो,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका शेखर निकट ती नेता भन्छन्, ‘अहिले आएर थापा आफैँ सभापतिमा लड्ने तयारी गरिरहनुभएको छ। उहाँ त सहमतिबाट पछि हट्नुभयो। जेसुकै भए पनि शेखर दाइ सभापतिमा लड्नुहुन्छ। उहाँ तयारीमा जुटिसक्नुभएको छ।’
नेताहरूका अनुसार गगन देउवाको ‘आशीर्वाद’ प्राप्त गरेर सभापतिमा लड्न चाहेका छन्। पछिल्लो समय देउवाले महामन्त्रीसमेत रहेका गगनलाई दिइरहेको महत्त्वले पनि नेताहरूको यो आशंका बढाइदिएको छ। दुईजना महामन्त्री भए पनि देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रमा गगनलाई पठाएका छन्। सरकार सञ्चालनसँग सम्बन्धित महत्त्वपूर्ण बैठकहरूमा पनि गगनले प्राथमिकता पाउने गरेका छन्।
शेखर-गगनबीच दूरी बढिरहेकै बेला संस्थापन समूह पनि एकढिक्का हुने सम्भावना कम हुँदै गएको छ। देउवा सभापतिमा लड्न नपाउने भएकाले परम्परागत बलिया गुट नरहने सम्भावनाको आकलन गर्दै विगतमा उनीसँगै रहेका नेताहरू राजनीतिक भविष्यको संरक्षणका लागि नयाँ शक्ति केन्द्रको खोजीमा लाग्न थालेका छन्।
‘शेरबहादुरजी पार्टी र सरकारमा शक्तिमा हुनुहुन्थ्यो। शक्तिमा भएकै कारण धेरै नेता उहाँसँग थिए। कैयौँ अवसर पनि प्राप्त गरे,’ देउवानिकट एक नेता भन्छन्, ‘अब उहाँ सभापतिमा लड्न पाउनु हुन्न। उहाँ शक्तिकेन्द्र नहुने भएपछि निकटकै नेताहरू संरक्षणको खोजीमा हिँड्न थाल्नुभएको छ।’
देउवापछि उनको ‘विरासत’ कसले सम्हाल्ने? निश्चित छैन। उपसभापति पूर्णबहादुर खड्का यतिबेला देउवासँगै रहे पनि उनलाई अरू नेताहरूले स्वीकार्ने स्थिति छैन।
यसका साथै कांग्रेसभित्र नयाँ गुट बनाउने गृहकार्यसमेत सुरु भएको छ। अघिल्लो महाधिवेशनमा पटक–पटक ‘लन्च मिटिङ’ गरेका निधि, प्रकाशमान र शशांकले यसपालि पनि भेटघाट बाक्लो बनाएका छन्। यसबीचमा यी तीन नेताले दुईपटक ‘लन्च’ का नाममा महाधिवेशन केन्द्रित छलफल गरेका छन्। यस्ता ‘लन्च मिटिङ’ मा अब सिटौलालाई पनि सामेल गराउने तयारी रहेको नेताहरूको भनाइ छ।
यी नेताहरूका बैठकहरू ठोस निष्कर्षमा पुगे १५ औँ महाधिवेशनमा नयाँ गुट जन्मिने सम्भावना नेताहरूले देखेका छन्। यद्यपि अघिल्लो महाधिवेशनका बेला पनि यस्ता ‘लन्च मिटिङ’ भए पनि सकारात्मक परिणाम दिन नसकेको बुझाइ पनि नेताहरूको छ।
देउवानिकट रहेर पटकपटक अवसर पाएका प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउदहरू गुट परिवर्तन गर्ने संकेत दिइसकेका छन्।
यही समूहबाट यसअघि सहमहामन्त्री बनेका महत १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भए। देउवाले विश्वास गरेर पार्टी प्रवक्ता बनाएका महत यतिबेला गठबन्धन सरकारको आलोचना गर्न थालेका छन्। उनी पार्टी बैठकहरूमा मन्त्रीका कामको आलोचना र पदाधिकारीप्रति टिप्पणी गरिरहेका छन्। देउवाका ‘विश्वासपात्र’ महतको असन्तुष्टिलाई गुट परिवर्तनका रूपमा विश्लेषण गर्न थालिएको छ।
देउवाबाट पटकपटक अवसर पाएका केन्द्रीय सदस्य एनपी साउदले पनि १५ औँ महाधिवेशनमा ‘क्याम्प’ परिवर्तन गर्ने संकेत दिएका छन्। सुदूरपश्चिमकै अर्का नेता गृहमन्त्री रमेश लेखकसँग असन्तुष्ट बनेका साउद आफ्नो राजनीतिक भविष्यको संरक्षण गर्न शेखरसँग नजिकिँदै गएका हुन्।
पछिल्लो समय साउद शेखर कोइरालाका कार्यक्रममा देखिन थालेका छन्। सरकार र पार्टी नीतिको विरोध गर्ने शेखर र साउदको शैली एकैखाले छ।
देउवाका अर्का विश्वासपात्र बालकृष्ण खाँण पनि असन्तुष्ट छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोग नगरेको पीडाका कारण उनी देउवासँग असन्तुष्ट बनेका हुन्। कांग्रेस सरकारमै रहेकै बेला खाँणलाई गिरफ्तार गरेर मुद्दा चलाइएको थियो। खाँणलाई शेखरले जेलमै गएर पटकपटक भेट गरेका थिए। त्यसपछि शेखरसँग उनको सम्बन्ध सुमधुर बनेको नेताहरू बताउँछन्।
खाँण आफ्नो समूहमा आए सहमहामन्त्री महेन्द्र यादव पनि यतै आउने शेखर समूहका नेताहरूको बुझाइ छ। कांग्रेसभित्र खाँण र सहमहामन्त्री यादवको सम्बन्ध प्रगाढ मानिन्छ।
केही दिनअघि शेखर जनकपुर पुगेका बेला सहमहामन्त्री यादवसँग एक होटलमा लामै छलफल गरेका थिए। छलफलमा देउवानिकट ठानिएका मधेश प्रदेश कांग्रेसका पूर्वसंसदीय दलका नेता एवं पूर्वमन्त्री रामसरोज यादव पनि सहभागी थिए। त्यसलगत्तै शेखर प्रमुख अतिथि रहेको जीपी कोइराला फाउन्डेसनले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा पनि रामसरोज उपस्थित थिए। सधैँ कोइराला खेमासँग दूरी बनाएर बसिरहने उनको शेखरको कार्यक्रममा उपस्थितिले गुट परिवर्तनको संकेतका रूपमा नेताहरूले लिएका छन्।
शेखरनिकट पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव महाधिवेशन नजिकिँदै जाँदा गुट परिवर्तनलाई सामान्य ढंगबाट लिनुपर्ने तर्क गर्छन्। पार्टीभित्र राजनीतिक संरक्षणको हिसाबले पनि कतिपय नेता गुट परिवर्तन गर्ने गरेको उनको भनाइ छ।
‘संस्थापनबाट सभापतिको उम्मेदवार को हुने टुंगो छैन। यता शेखर दाइ चुनाव लड्ने निश्चित छ,’ उनी भन्छन्,‘राजनीति गरिरहनेले आफ्नो संरक्षण खोज्नु स्वाभाविकै हो। महाधिवेशनका बेला यस्ता गतिविधि भइरहन्छ।’
महाधिवेशन कहिले हुने भन्ने टुंगो नरहेकाले सबैथोक पक्का गरिदिनु हतार हुने उनको तर्क छ। यादव भन्छन्, ‘धेरै समय बाँकी छ। यसबीचमा धेरै घटनाक्रम हेर्न पाइन्छ। त्यसैले को कतातिर अहिले भन्नु हतार हुन्छ।’
कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको निधनपछि कोइराला समूह तितरबितर हुन पुग्यो। संरक्षणको खोजीमा कोइराला समूहका कतिपय नेता देउवातिर लागे। शेखर १४ औँ महाधिवेशनकै बेलादेखि यो समूहलाई गोलबन्द गर्ने अभियानमा जुटे। १५ औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला समूह बलियो बनेको नेताहरू बताउँछन्।
‘सुशील कोइरालाको निधनपछि कोइराला समूह तितरबितर भएको थियो। समूहको नेतृत्व सम्हालेका रामचन्द्र पौडेलले नेताकार्यकताहरूलाई एकजुट बनाएर राख्न सक्नु भएन,’ कांग्रेसका एक नेता भन्छन्,‘अहिले शेखरजी पुरानो गुट सक्रिय बनाउने अभियानमा लाग्नुभएको छ। शेरबहादुरजी सभापतिमा लड्न नपाउने भएपछि राजनीतिक संरक्षणको हिसाबले पनि कोइराला खेमाका साथै संस्थापनका नेताहरू पनि शेखरतिर आकर्षित हुन थालेका छन्।’
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल स्वार्थ केन्द्रित राजनीतिमा गुट परिवर्तनको विषयलाई सामान्य ठान्छन्। आफ्नो फाइदा र व्यक्तिगत लाभ पाउने उद्देश्यले भइरहेको राजनीतिमा गुट परिवर्तनलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘पार्टीभित्र आवश्यकताअनुसार गुट परिवर्तन नियमित चलिरहन्छ। झनै स्वार्थ र व्यक्तिवादी राजनीतिमा यी कुराहरू सामान्य भइदिए,’ खनालले हिमालप्रेससँग भने,‘पार्टीहरू पार्टीजस्तो रहेनन्। स्वार्थ केन्द्रित राजनीति भइरहेको छ। यस्तो अवस्थामा व्यक्तिगत लाभ प्राप्त गर्न एउटा खेमाबाट अर्कोमा जाने प्रवृत्तिलाई आश्चर्य ठान्दिनँ।’ सत्ता र स्वार्थका लागि शक्ति केन्द्रको खोजीमा पनि नेताहरूले गुट परिवर्तन गर्ने गरेको उनको भनाइ छ।
‘शेरबहादुरजी अब सभापति नलड्ने निश्चित छ। सत्ता र स्वार्थको कुनै सीमा छैन,’ उनी भन्छन्, ‘शक्ति केन्द्रको खोजीमा नेताहरू हिँडेका छन्। स्वार्थका लागि तलमाथि हुँदा आश्चर्य मान्नु हुँदैन।’