‘मोबाइल चलाएर दिन कटाउने’ महिला दुनाटपरी उद्योगमा जोडिएर आत्मनिर्भर

हिमाल प्रेस ९ फागुन २०८१ ६:३३
16
SHARES
‘मोबाइल चलाएर दिन कटाउने’ महिला दुनाटपरी उद्योगमा जोडिएर आत्मनिर्भर

पाल्पा- तानसेन नगरपालिका-७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपथ्र्यो। घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन उनलाई श्रीमानको भर नपरी सुखै थिएन।

चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित केसीको जीवन फेरिएको छ। उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त छिन्। अहिले उनलाई घर खर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ। ‘पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरूकै भर पर्नुपथ्र्यो ’, उनले भनिन्, ‘आजभोलि आफैँसँग पैसा हुन्छ। दिनभर घरमा बस्नुको साटो दुनाटपरी बनाउन थालेँ। त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ।’

सोही ठाउँकी मीनु रोकालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो। उनी घरमा काम केही नभएपछि समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्ने गर्थिन्। हिजोआज उनीको दैनिकी पनि फेरिएको छ। उनी अहिले हरेक दिन काजीपौवामा रहेको दुनाटपरी उद्योगमा बिताउँछिन्। अचेल उनीँलाई उद्योगमा महिलासँग गफिँदै टपरी खुट्दाखुट्दै समय बितेको पत्तै हुँदैन। ‘बिहान–बेलुका घरको काम गरेर दिउँसो दुनाटपरी बनाउन उद्योगमा आउँछु,अहिले समय गएको पत्तो हुँदैन’,रोकाले भनिन्। दुनाटपरी फुट्न थालेदेखि काम मात्र होइन, दाम पनि राम्रै कमाएको उनले बताइन्।

केसी र रोकाहासँगै धनकाला सारू पनि उद्योगमा आउँछन्। महिना दिनसम्म काम गरेपछि तलब बुझ्छन्। यसभन्दा अघि उनीको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो। अहिले व्यस्तता बढेर उनलाई भ्याइनभ्याई छ। सारूको व्यस्ततासँगै आम्दानी पनि बढेको छ। टपरी उद्योगसँग जोडिन थालेपछि उनीको दैनिकी मात्र होइन, जीवनशैली नै फेरिएको छ।

उद्योगमा काम पाएपछि आफूलाई घरखर्च चलाउन सजिलो भएको सारूको भनाइ छ। उनीले भनिन्, ‘आँगनमै उद्योग छ, कामका लागि टाढा जानु पर्दैन। घरको काम गर्दै उद्योगमा काम गर्न पाएका छौँ, यसले हाम्रो घरखर्च पनि चलेको छ।’ पहिला आफूहरू कामको खोजीमा भौँतारिएको स्मरण गर्दै उनीले हिजोआज सहज भएको बताइन्।

केसी, रोकाहा र सारूमात्र होइन, यहाँका अधिकांश महिलाले दुनाटपरी उद्योगमा रोजगारी पाएका छन्। उद्योगमा काम गरेबापत उनीहरूले मासिक पाँच हजारदेखि १० हजारसम्म कमाउँछन्।

पाँच वर्षअघि काजीपौवा बहुउश्द्देयीय महिला समूहले सञ्चालन गरेको दुनाटपरी उद्योगमा महिला मात्र भेटिन्छन्। उद्योगमा केही महिला टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरिरहेका हुन्छन्। उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइरहेको छ। उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलालाई अहिले भ्याइनभ्याई छ।

महिला दिदीबहिनीहरूलाई आयआर्जनसँग जोड्न र हराउँदै जान थालेको दुनाटपरी बनाउने चलनलाई कायम राख्न उद्योग सञ्चालनमा ल्याइएको उद्योगकी अध्यक्ष चमेली श्रेष्ठले बताइन्। उनीले चुलोचौकामा मात्र सीमित महिला अहिले आत्मनिर्भर बन्दै गएको बताइन्। उद्योग सञ्चालनमा आएपछि वनमा खेर गइरहेको सालको पातको सदुपयोग भएको उनको भनाइ छ।

तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ र युएनडिपीको सहयोगमा ठूला टपरी बनाउने मेसिन र सानो टपरी बनाउने मेसिन पाएको अध्यक्ष श्रेष्ठले बताइन्। उनले डिभिजन वन कार्यालयको सहयोगमा एक लाख बराबरको उद्योगका लागि आवश्यक सामग्री पनि अनुदानमा पाएको बताइन्। २०७७ मंसिर १५ गते ४० जना मिलेर समूहमा उद्योग खोलिएको थियो।

अहिले यहाँ पाँचजना महिलामात्र सक्रिय रूपमा लागिरहेका छन्। दुनाटपरी बनाउने चलन हराउँदै जाँदा संस्कृति पनि मेटिन लागेकाले आफूहरू जगेर्ना गर्न लागिपरेको हरिकला रानाको भनाइ छ। कतिपय नयाँ पुस्तामा दुनाटपरी बनाउने चलन थाहा नभएको अर्की महिला मन रानाले बताइन्।

यहाँ तयार गरिएका दुनाटपरी पाल्पासहित देशका ठूला सहर बुटवल, भैरहवा, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ। दुनाटपरी उद्योगमा फोन गरेर पनि बाहिरबाट झिकाउने गर्दछन्। साइजअनुसार दुईदेखि १० सम्म दुनाटपरी बिक्री हुँदै आएको छ।

प्रकाशित: ९ फागुन २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast