बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ८ अर्ब सुनिश्चित

हिमाल प्रेस ८ फागुन २०८१ १७:२९
8
SHARES
बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ८ अर्ब सुनिश्चित बीपी राजमार्गमा खोलाको बगरमा बनाइएको डाइभर्सन

काठमाडौँ– सरकारले बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ। असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गसहित ६ वटा सडक र पुल पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको बजेट स्वीकृत गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विनियोजित बजेटको ठूलो हिस्सा सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गका लागि छुट्याइएको छ। कुल विनियोजित रकममध्ये बीपी राजमार्गको पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ। सडक विभागले राजमार्गको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ माग गरेको थियो। सडक विभागका अनुसार विनियोजित रकममध्ये काभ्रे खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ।

जापान सरकारद्वारा निर्मित उक्त राजमार्ग पुनर्निर्माणका लागि सरकारले यसअघि जापान सरकारलाई अनुरोध गरेको थियो। तत्कालीन जापानी राजदुत किकुता याकुतासंगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजमार्ग पुनर्निर्माण गर्न सरकारले जापानी सहयोगको अपेक्षा गरेको बताएका थिए। ‘बाढीपहिरोले बीपी राजमार्गलाई नराम्ररी क्षति पुर्‍याएको छ। यसलाई पुनर्निर्माण गर्न ठूलो रकम र प्राविधिक स्रोतको आवश्यकता पर्नेछ’, ओलीले राजदूत किकुटासँगको भेटमा भनेका थिए, ‘त्यसैले हामीलाई फेरि एकपटक जापानी सहयोगको आवश्यकता छ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार ओमानको राजधानी मस्कटमा जापानी परराष्ट्र राज्यमन्त्रीलाई भेट्दै राजमार्ग पुनर्निर्माण गर्न जापानी सहयोगको अपेक्षा गरेको बताएकी थिइन्। जापान सरकारबाट सकारात्मक प्रतिक्रिया नपाएपछि सरकार आफैँले राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको हो ।

बीपी राजमार्ग पुनर्निर्माणका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सडकखण्डलाई दुई लेनको सडकमा स्तरोन्नति गरिनेछ। पुनर्निर्माण कार्य सम्पन्न गर्न तीन वर्ष लाग्नेछ।

नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालाढुंगासम्मको सडक खण्ड सबैभन्दा बढी क्षतिग्रस्त छ। सडक विभागले यस खण्डमा सवारी साधनको आवागमनका लागि रोशी नदी हुँदै डाइभर्सन निर्माण गरेको छ। यी डाइभर्सनहरू वर्षायाममा प्रयोग गर्न नसकिने भएकाले सडक विभागले सबै मौसममा सडक सञ्चालनयोग्य बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने योजना समेत बनाएको छ।

जापान सरकारको सहयोगमा निर्मित १६० किलोमिटर लामो यो राजमार्गले काठमाडौँलाई मध्य तराई र कोशी प्रदेशसँग जोड्छ।

राजमार्ग नदी किनारैकिनार भएर जाने भएकाले पुनर्निर्माण योजनामा सडक सतहमुनि नदी कटानलाई रोक्न ‘स्कोर डेप्थ’ संरक्षणका उपायहरू पनि समावेश छ।

प्रकाशित: ८ फागुन २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast