
काठमाडौँ–प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा गरेको भाषणले राजनीतिक वत्तमा तरंग ल्याएको छ। भिडियो सन्देशमार्फत पूर्वराजाले ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए। सन्देशमा आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन्।
उनले भनेका थिए, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ। अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौँ।’
उनको अभिव्यक्तिपछि राजावादी दलहरूले पूर्वराजाले सही भएको बताइरहेका छन्। विभिन्न समूहहरूमा विभाजित राजावादीहरू एकजुट हुनुपर्नेदेखि आन्दोलनमा जानुपर्नेसम्म बताउन थालेका छन्। पूर्वराजाको सन्देशपछि पनि मौन बस्न नमिल्ने उनीहरूको निष्कर्ष छ।
राप्रपा महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमशेर राणाले विज्ञप्ति निकालेर राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान गरेकोप्रति समर्थन जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु। यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु।’
यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबिच साझेदारीको आवश्यकता रहेको बताएका छन्। बुधबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले भने,‘राजाको यतिमात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एकपटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ। राजाबाट फेरि निरंकुश व्यवस्था र राजसंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन। राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु।’
पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढङ्गबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले यो सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए। राजाको सदाशयतालाई नकारात्मक रूपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्तामात्र भएको समेत दाबी गरे।
राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेका छन्। उनले ज्ञानेन्द्रले सही भनेको भन्दै आफूहरू तयार रहनुपर्ने बताएका छन्।
लोकतन्त्रवादीको चुनौती : पञ्चायती भूत सलबलायो
प्रजातन्त्रको पूर्वसन्ध्यामा यसरी पूर्वराजाले सन्देश दिनुलाई अर्थपूर्ण मानिएको छ। किनकि, लामो समयसम्म मौन बसेका पूर्वराजाले यसरी अभिव्यक्ति दिन अघि बढ्नुलाई राजनीतिक दलबीच खेल्न खोजेको बुझाइ राजनीतिक दलहरूको छ। यद्यपि, दलहरूले पूर्वराजा पराचालित बनेको बताइरहेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिएको टिप्पणी गरेका छन्। उनले पञ्चायती भूत सलबलाउन थालेको टिप्पणी गरेका छन्।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका हुन्।
यता, एमाले प्रवक्ता राजेन्द्र गौतम भने पूर्वराजाको अभिव्यक्तिलाई गम्भीरताका साथ लिनु नहुने बताउँछन्। त्यसो त, लोकतन्त्रवादी दलहरूले पूर्वराजाको अभिव्यक्तिलाई चासै नदिएको बताइरहेका छन्।
राजसंस्था नफर्किने र राजासंस्था इतिहास भइसकेको तर्क उनीहरूको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ यो विषयलाई गम्भीरतापूर्वक लिनै नहुने तर्क गर्छन्। लामो वलिदानीबाट प्राप्त लोकतन्त्र अब नखोसिने दाबी गुरुङको छ।