
लुम्बिनी- नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल ‘बलदेव’ले अब माओवादीले कसैको बैसाखी टेक्न नपर्ने बताएका छन्। माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशनलाई बुधबार बुटवलमा उद्घाटन गर्दै आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने बताएका हुन्।
उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै ८४ को निर्वाचन एक्लै लड्ने सक्ने आधार बनेको बताए। नेता खनालले २०६४ सालको निर्वाचनमा जनताले देखाए पनि आफ्नो कमजोरीका कारण कांग्रेस-एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको बताए।
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सुरु गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए। भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठूलै घराना समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए।
नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे। छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताएका हुन्।
नेकपा माओवादी स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे।