प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित भएनन् पूर्वप्रम र बहालवाला उपप्रम

हिमाल प्रेस ७ फागुन २०८१ १८:०४
36
SHARES
प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित भएनन् पूर्वप्रम र बहालवाला उपप्रम

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रजातन्त्र दिवसको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री, बहालवाला उपप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, वरिष्ठ व्यक्तित्वहरू उपस्थित नहुँदा नमिठो अनुभूति भएको बताएका छन्।

कार्यक्रममा सहभागी भएका पूर्वप्रधानमन्त्री भट्टराईले यसपटक मात्रै नभई प्रायः सधैँ यस्तो दृश्य देख्नुपर्दा मन खिन्न हुने गरेको बताएका हुन्। सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्, ‘फागुन ७ गते ‘प्रजातन्त्र दिवस’ को उपलक्ष्यमा राज्यद्वारा सैनिक मञ्चमा आयोजित र शीर्ष ६ उपस्थित निकै आकर्षक कार्यक्रममा सरकार पक्षकै पूर्व प्रम तथा बहालवाला उपप्रम लगायतका वरिष्ठ व्यक्तित्वहरू र प्रमुख प्रतिपक्षी दलका नेता लगायतका पूर्व प्रमहरू (यो बबुरो बाहेक!) कोही पनि उपस्थित नभएको देख्दा निकै नमिठो अनुभूति भयो। यसपटक मात्र हैन प्रायः सधैँ यस्तो दृश्य देख्नु पर्दा मन खिन्न हुन्छ! आखिर किन यस्तो हुन्छ?’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय दिवसहरूबारे कतिपय सच्याउनु पर्ने कुरा रहेको बताउँदै राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्ने बताए।

‘राष्ट्रिय दिवसहरूवारे कतिपय सच्याउनु पर्ने कुरा छन्। तीबारे पुनर्विचार गरेर संख्या घटाउनुपर्छ भन्ने मेरो सुरुदेखि नै दृढ मत छ। तर अर्को निर्णय नभएसम्म राष्ट्रिय दिवसहरूलाई सबैले सम्मान गर्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘खासगरी राज्यको उच्च ओहदामा बसिसकेका व्यक्तिहरूले आआफ्ना फरक राजनीतिक आस्थाका बाबजुत राष्ट्रिय दिवसहरूको सम्मान गर्ने न्यूनतम दायित्व निर्वाह गर्नैपर्छ।’

‘विशेषतः सेना/प्रहरी/सशस्त्र प्रहरीका जवान र सांस्कृतिक कर्मीहरूले सधैँ निकै मेहनत गरेर उच्चकोटीको र देशभक्तिपूर्ण प्रस्तुति दिने गर्दछन्। अनि स्थानीय पालिकाहरूको सांस्कृतिक झाँकी, राष्ट्रिय खेलाडीहरूको तेक्वान्दो प्रदर्शनलगायतका प्रस्तति प्रशंसायोग्य हुन्छन्। तिनलाई हौसला दिने कथित ठूलाबडाहरूको कर्तव्य होइन? कि चुनावको बेला मात्रै दाँत ङिच्याउँदै जाने हो?’ भट्टराईले प्रश्न गरे।

प्रकाशित: ७ फागुन २०८१ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast