पुनः श्रम सम्झौताबाट तर्किँदै मलेसिया, सिन्डिकेट मुख्य बाधक

रमेश भारती ७ फागुन २०८१ १५:५३
362
SHARES
पुनः श्रम सम्झौताबाट तर्किँदै मलेसिया, सिन्डिकेट मुख्य बाधक

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँग पुनः श्रम सम्झौताका लागि प्रस्ताव गरेको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको सिण्डिकेटका कारण समझदारीलाई सामान्य पुनरावलोकनका लागि मलेसियाले खासै चासो नदिएको श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन्।

मलेसिया सरकारसँगको श्रम समझदारी पुनरावलोकन नभएको ६ वर्ष भएको छ। यसबीचमा नेपालले मलेसियालाई तीन पटक पुनः श्रम सम्झौताका लागि प्रस्तावित ड्राफ्ट पठाए पनि मलेसियाले जवाफ दिएको छैन।

२०७५ मा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका तत्कालीन मानव संशाधनमन्त्री एम कुलेसागरनले श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

त्यतिबेला दुवै देशबीच चार वर्षपछि पुनः श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति पनि भएको थियो। वैदेशिक रोजगार ऐनमा सरकारीस्तरमा श्रम सम्झौता भएको रोजगारदाता देशसँग तीनदेखि चार वर्षमा पुनः श्रम सम्झौता गर्नुपर्ने व्यवस्था छ।

तर मलेसियासँग श्रम सम्झौता भएको ६ वर्षसम्म पनि पुनः श्रम सम्झौताका लागि सामान्य छलफल नभएको श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मलेसियासँग पाँच वर्षका लागि पुनः श्रम सम्झौता गर्न सरकार लागि परिरहेको जानकारी दिए।

उनका अनुसार मलेसिया सरकारसँग पाँच वर्षका लागि पुनः श्रम सम्झौता गर्न गरी छलफल अघि बढेको छ। अहिलेसम्म दुवै पक्ष यस विषयमा खुला छलफलमा प्रवेश नभएको उनले बताए।

‘मलेसियाले विदेशी कामदार भित्र्याउने नीति सुधार्न थालेको छ। त्यसका लागि मलेसिया सरकारले विदेशी कामदारको सिण्डिकेट अन्त्यका लागि पहल गरेको देखिन्छ,’ उनले भने।

मलेसिया जाँदा कामदारले कल्याणकारी कोष, रोजगार सुरक्षा, बीमा र राहदानीको खर्चबाहेक कुनै सेवा शुल्क तिर्नु नपर्ने र लागेको सबै खर्च रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग पुनः श्रम समझदारी हुनेगरी छलफल गर्न पहल भइरहेको उनको भनाइ छ।

मलेसियाको विभिन्न सिन्डिकेट एजेन्टहरू खडा गरी मलेसिया जाने कामदारमाथि ठगी भइरहेको छ। यसैका कारण मलेसियाले नेपालसँग पुनः श्रम सम्झौताका लागि वेवास्ता गरिरहेको श्रम मन्त्रालयका एक उच्च कर्मचारीले जानकारी दिए। मलेसियाको सम्बन्धीत पक्षले दुई वर्षयता पुनः श्रम सम्झौताका लागि छलफल गर्न चासो नदिएको श्रम मन्त्रालयले जनाएको छ।

श्रम मन्त्रालयले पटक–पटक परराष्ट्र मन्त्रालयमार्फत श्रम समझदारी पुनरावलोकनको मस्यौदा मलेसियाली सरकारलाई पठाइ रहे पनि यसको जवाफ मलेसियाबाट अहिलेसम्म नआएको श्रम मन्त्रालयका ती कर्मचारीले बताए।

 ‘मलेसिया जाने कामदारमाथि स्वास्थ्यमा त सिण्डिकेट थियो नै। तर पछिल्लो समयमा म्यानपावर कम्पनीले समेत बेग्लै सिण्डिकेट खडा गर्ने चलखेल गरिरहेको छ’ उनले भने, ‘श्रम सम्झौता पुनरावलोनको मामिलामा धेरै प्रगति नभएको र मलेसियाले सिण्डिकेटलाई इष्यु बनाइरहेको छ। दुवै पक्षबीच अनौपचारिक छलफल भइरहेको छ। नेपालमा सिण्डिकेटधारीको चलखेल बढेका कारण मलेसियाले पुनः श्रम सम्झौतामा चासो दिएको छैन।’

मलेसियाको रोजगारीमा सिण्डिकेटको समस्या रहेको रयो समस्या समाधान गरेर पुनः श्रम सम्झौता गर्नेगरी मलेसियासँग अनौपचारिक छलफल भइरहेको श्रममन्त्री भण्डारीले जानकारी दिए।

श्रम मन्त्रीले यस्तो भने पनि मलेसियाको रोजगारीमा पुनः सिन्डिकेट र ठगी धन्दा बढ्न सक्ने श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन्। यसका कारण श्रम समझदारी पुनरावलोकनका लागि मलेसिया चासो नदिएको उनीहरुको आरोप छ।

मलेसियाले गत वर्षदेखि विदेशी कामदार लिन बन्द गर्ने निर्णय गरेको थियो। गत सेप्टेम्बरदेखि मलेसियाले प्लान्टेसनलगायतका केही क्षेत्रमा सीमित संख्यामा श्रमिकको माग गरेको थियो।

त्यसपछि २ हजार जना श्रमिक नेपालबाट लैजाने गरी मागपत्र आए पनि म्यानपावर कम्पनीले कामदारसँग अग्रिम धेरै पैसा उठाएको उजुरी परेपछि उक्त मागपत्र नै तत्कालका लागि रोजगारदाता कम्पनीले रोकेका थिए।

मलेसियास्थित नेपाली दूतावासले कुटनीतिक पहल नगर्दा मलेसिया सरकारले नेपाली कामदार लैजान चासो नदिएको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष डिक बहादुर कार्कीले जानकारी दिए।

मलेसियाको रोजगारीमा सिण्डिकेटको समस्याका कारण पनि त्यहाँको रोजगारी प्रभावित भइरहेको उनले बताए। ‘सरकारमै सहभागी केही व्यक्ति र मन्त्रीकै कारण मलेसिया जाने कामदारमाथि सिण्डिकेट छ। यो अन्त्य हुनुपर्ने व्यवसायीको माग छ। तर सरकारले मलेसियाको सिण्डिकेट खारेज गर्न चासो दिएको छैन,’ उनले भने।

२०७५ सालमा तत्कालिन श्रममन्त्री गोर्कण विष्टले मलेसिया जाने कामदारमारमाथि अनावश्यक सिन्डिकेट लगाएर आर्थिक शोषण गरेको आरोपमा महासंघका अध्यक्ष कैलाश खड्कासहित ३६ मेडिकल व्यवसायीलाई कारबाहीको सिफारिससमेत गरेका थिए। मलेसिया जाने कामदारमाथि तिनै संस्थाको सिन्डिकेट ब्युँताउन अध्यक्ष खड्का सक्रिय रुपमा लागेको व्यवसायीहरूको आरोप छ।

२०७५ मा श्रम सम्झौता भएपछि कामदार पठाउन थालेको केही समय नबित्दै कोभिड–१९ महामारीका कारण मलेसियाको रोजगारी बन्द भएको थियो। कोरोनाका कारण बन्द भएको मलेसिया २०७८ सालमा पुनः खुलेको थियो।

आर्थिक वर्ष २०७९/८० मा २ लाख ५९ हजार ५९४ जनासम्म नेपालीहरू मलेसिया उडेका थिए।  अघिल्लो आर्थिक वर्षमा १ लाख २० हजारभन्दा नेपाली मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। गत आर्थिक वर्षमा मलेसिया १४ हजारमात्र कामदार व्यक्तिगत भिसामा गएका थिए।

चालु आर्थिक वर्षको सात महिनामा ४ सय नेपाली मलेसिया रोजगारीमा गएका छन्।  मलेसियामा वैधानिक रूपमा ३ लाख ८० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

प्रकाशित: ७ फागुन २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast