पुस्तक वार्ता

‘मुना-मदनको डिभोर्स पार्टी’ मा महाकविलाई अपमान गरिएको छैन : दिपक समिर

सुस्मिता बजगाईं ७ फागुन २०८१ १९:१०
214
SHARES
‘मुना-मदनको डिभोर्स पार्टी’ मा महाकविलाई अपमान गरिएको छैन : दिपक समिर

सञ्चारकर्ममा आबद्ध पत्रकार दिपक समिर (आचार्य) ले ‘मुना-मदनको डिभोर्स पार्टी’ कथासंग्रह प्रकाशन गरेका छन्। काभ्रेको पाँचखालमा जन्मिएका समिर बाल्यकालदेखि नै गीतिकथा र नाटक लेख्ने गरेको बताउँछन्। उनले लेखेका कथा रेडियोमा वाचन हुन्थे। एसएलसीपछि उनले रेडियोमा नाटक लेखन र अभिनय गर्ने अवसर पाए। हाल उनी नेपाल टेलिभिजनमा कार्यरत छन्। आख्यानको भीडमा स्वैरकल्पनाको प्रयोग गर्दै आफूले नाट्यशैलीमा कथा भन्ने प्रयास गरेको दाबी गर्ने समिरसँग सद्य प्रकाशित कथासंग्रहका विषयमा सुस्मिता बजगाईँले गरेको कुराकानी :

पहिलो कथासंग्रहबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?

कथासंग्रह प्रकाशन गरेको धेरै समय भएको छैन। प्रतिक्रिया आइरहेका छन्। केही पाठकले फरक कथा रहेको बताउनुभएको छ। केहीले साहित्यमा स्वैरकल्पनाको नयाँ प्रयोगकर्ता जन्मिएको पनि भनिरहेका छन्। एकजनाले त पहिलो कथा पढेपछि निकै पीडा महसुस भएको बताउनुभयो। उपत्यकाबाहिर पनि पुस्तकको माग भइरहेको खबर पाएको छु।

पुरानो कथा पढिरहेका पाठकले कथानक, घटनाक्रम कम भयो पनि भन्नुभएको छ। कथा एकै घटनास्थलमा टुंगिएको छ। मैले गर्न खोजेकै त्यही थियो। कुनै कथा एनटीभीभित्र अन्तर्वार्ताकै क्रममा, कुनै गुरुकुल थिएटरमा नाटक हेर्दै गर्दा, कुनै पशुपति क्षेत्रको आर्यघाट (ब्रह्मनाल)भन्दा पारिपट्टि अब्राहम लिंकनकी पत्नी मेरिटोड र म पात्र राति छ्याङ खाँदै गफिँदा सकिएका छन्।

यूकेको ओभलमा रहेको राजकुमारी डायनाको चिहानमै कथा सकिएको छ। ‘बलात्कारीलाई प्रेमपत्र’ कथामा रूपान्तरित छ। यी कथालाई आकर्षित बनाउन मैले स्वैरकल्पनाको प्रयोग गरेको छु। कथालाई नाट्यशैलीमा ढाल्ने प्रयास गरेको छु। म नाटक विधाको मान्छे। कथा लेख्दा एकै ठाउँलाई कसरी आकर्षक बनाउने प्रयास गर्छु। त्यसैले केही पाठकलाई कथानक कम लागेको हुनसक्छ। यसमा बलात्कारीलाई प्रेमपत्र, एक रात प्रेतसँग, नवराज विकको भ्यालेनटाइन्स डे, हिटलरकी प्रेमिका, मैना, ब्रो! लाइटर छ?, हिउँको सिन्दुरलगायत १४ कथा छन्।

शीर्षक ‘मुना-मदनको डिभोर्स पार्टी’ नै किन?

पुस्तकको शीर्षकले मान्छेलाई तानेको छ। यो कथासंग्रहभित्रकै एउटा कथा हो। यो शीर्षक राख्दै गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति अपमान हुन्छ कि भन्ने कुरा पनि नआएको होइन, तर त्यो भित्र कथा कस्तो छ, त्यसले सकारात्मक र नकारात्मक कस्तो सन्देश दिन्छ भन्नेमा भर पर्छ। नकारात्मक पक्षबाट म लेख्दै सक्दिनँ। महाकवि देवकोटालाई सम्मान गर्दै यही शीर्षकमा कथा लेखेको छु। पहिले र अहिलेका मुना-मदनकै कथा भएकोले निष्कर्षसहित यही शीर्षक उपयुक्त हुन्छ भन्ने लाग्यो।

पहिले शीर्षक ‘हिँउको सिन्दूर’ राख्ने योजना थियो। फूलमान बलसहित केही अग्रज साहित्यकारसँगको छलफलमा पाठक आकर्षित गर्ने शीर्षक राख्नुपर्छ भन्ने सल्लाह भयो। जुन शीर्षक कथासंग्रहकेन्द्रित पनि होस् भन्ने थियो। मुना-मदन र डिभोर्स पार्टी फरकफरक कुरा हुन्। शीर्षक विवादित हुन्छ कि भन्ने थियो तर पाठकले बुझ्नुभयो भन्ने ठानेँ र नयाँ पाठकले पढेपछि बुझ्नुहुन्छ भन्नेमा विश्वस्त छु।

मुना-मदन आफैँमा प्रेमको प्रतीक हो। मुना-मदनकै डिभोर्स भयो भने के होला। अझ त्यसको पनि पार्टी? यस्तो पनि हुन सक्छ? भनेर कल्पना गर्न त पाइयो नि। कथा पढेपछि पाठकलाई बढ्दो सामाजिक सञ्जालको प्रभावले अहिले मुना-मदन थिए भने उनीहरुको पनि डिभोर्स हुन्थ्यो कि! भन्ने झल्को आउन सक्छ। अगाडि बढ्ने बहानामा सामाजिक सञ्जालको प्रयोगले हामी कतै  पछाडि त परिरहेका छैनौँ? मान्छे मंगल ग्रहमा पुगे पनि मन शान्त भएन भने उसले प्रगति गरेको कसरी भन्नु? कथामा यिनै सन्देश भेट्नुहुन्छ। यो कथामा लक्ष्मीप्रसाद देवकोटा प्रमुख अतिथि हुनुहुन्छ। मैले स्वर्गको परिकल्पनामा पार्टी आयोजना गरेको छु। त्यो पार्टीप्रति महाकवि देवकोटा सहमत छैनन्। तैपनि डिभोर्स भयो। फाइभ डब्लू वान एचको सूत्रका लागि कथा पढ्नुपर्ने हुन्छ।

शीर्षकमै अंग्रेजी प्रभाव देखियो नि हैन?

हामीले आफ्नो भाषा र संस्कृतिलाई बिर्सनु हुँदैन। भाषा अशुद्ध लेख्ने, गलत व्याख्या गर्ने काम कसैले गर्न हुँदैन भन्ने मेरो मान्यता हो। त्यसो भन्दै गर्दा यसैमा सीमित भएर बस्नुपर्छ भन्ने पनि होइन। नेपाली भाषा हुँदाहुँदै हामी विद्यालयस्तरदेखि अंग्रेजी किन पढ्छौँ त? संविधानमै पनि कतिपय शब्द अंग्रेजी छ। यस विषयमा शीर्षक ‘मुना-मदनको बिछोडको महाभोज’ राख्नु भन्ने सल्लाह पनि आएको थियो। सल्लाहअनुसार शीर्षक राखेको भए अहिले आकर्षक कम हुन सक्थ्यो।

अंग्रेजी शब्दको समिश्रणमा नेपाली भाषाको अपमान हुनुभएन। अहिलेको समयअनुसार कृतिलाई युवापुस्तातर्फ आकर्षण गर्न खोजेको हो। कथामा स्वैरकल्पनाको प्रयोग गरेको छु। शीर्षकमा धेरै ध्यान दिँदा स्वैरकल्पनालाई न्याय गर्न सक्दिनँ जस्तो लाग्यो र अंग्रेजी शब्द मिसाएँ।

पछिल्लो समय सामाजिक विषयमै बढी आख्यान प्रकाशन भइरहेको छ। यसमा अन्यभन्दा फरक के छ?

मेरो कृतिमा पनि समाज र राजनीति विषयवस्तु कुनै न कुनै रूपमा आएकै छ। योसँगै मृत्यु, घाट, स्वर्गलगायतका प्रसंग धेरै आउँछ। अन्तिम सत्य पनि यही हो। स्वैरकल्पनामार्फत केही पात्र र घटना विदेशको प्रसंगमा आए  पनि  कथामा हाम्रो समाजलाई जोड्ने प्रयास गरेको छु। विश्व परिवेशलाई समेटर आकर्षित ढंगले आफ्नै समाजको कथा उठाएको छु।

विषयवस्तुबारे भन्नुपर्दा सामाजिक विकृति, सामाजिक सञ्जाल र बालबालिकामा मोबाइलको प्रभाव, अन्तरजातीय प्रेम, बालेन सिटी, वैदेशिक रोजगारलगायत छन्। सुखको खोजीमा युरोप-अमेरिका पुग्ने सन्तानका आमाहरूको कथा पनि समावेश छ। त्यस्तै एचआईभीपीडित, बलात्कारीको कुरालाई पनि सकारात्मक र सन्देशमूलक ढंगबाट उठाउन खोजेको छु।

पाठकले ‘मुनामदनको डिभोर्स पार्टी’ किन पढ्ने?

नेपालमा प्रकाशन भइरहेको कथाभन्दा फरक शैली अपनाएको छु। संग्रहभित्रका प्रत्येक कथा हाम्रै परिवार र समाजसँग जोडिन्छ। नाट्यशैलीलाई कथासँग समिश्रण गरेको छु। कथानक छोटो शैलीमा छ। पाठकले एउटै कथालाई पनि फरक तरिकाबाट सोच्न बाध्य बनाउँछ भन्ने विश्वास छ।

कथामा महिला पात्रकोे स्थान कस्तो छ?

रेडियो र टेलिभिजनमा भन्दा त्यही कुरा फरक शैलीमा आउथ्यो होला। तर कथा बुन्दा ययार्थ जे छ त्यही आउनुपर्छ। हाम्रो समाजमा अहिले पनि पुरुषलाई जति सहज महिलालाई छैन। एकै घरका महिला पुरुष जागिरमा छन् भने पनि महिलाले कम स्वतन्त्रता पाइरहेका हुन्छन्। महिला पुरुषमा केही न केही फरक हुन्छ नै। समाजमा अझै पनि महिला पीडित नै छन् भन्ने यथार्थ ल्याउन खोजेको छु। यसै आधारमा हरेक कथामा महिलाको यथार्थ अवस्था र स्थितिअनुसार अब पीडित होइन उजागर हुनुपर्छ भन्ने प्रोत्साहन गरेको छु।

कथासंग्रह निकाल्न कति समय लाग्यो?

मैले कोरोना महामारीका बेला लेख्न थालेको हुँ। यसअघि गीतिकथा लेखिरहेकै थिएँ। रेडियोमा नाट्य कार्यक्रम चलिनै रहेको छ। १६ सयभन्दा बढी नाट्य कार्यक्रम बनाइसेकेको रहेछु। कतिपय शुभचिन्तकहरूले कथा पढ्न पाइएन भन्न थाल्नुभयो। कोरोनाको महामारीले उहाँहरुको इच्छा पूरा भयो भन्नुपर्छ। लकडाउन र आफू संक्रमित भएको समयलाई साधनास्वरुप कथा लेख्न थालेँ। पहिलो कथा ‘हिटलरकी प्रेमिका’ अनलाइनमा पोस्ट भयो। त्यसको प्रतिक्रिया पनि राम्रो पाएँ। निरन्तरता दिँदै लेख्न थालेँ। १४ कथा तयार भयो। केही साथीकै सल्लाहमा संग्रह निकाल्ने तयारीमा लागेँ। प्रकाशनको चरणसम्म आइपुग्न १ वर्ष लाग्यो। इन्डिगो इन्कसँगको सहकार्यमा पहिलो कृति निकाल्न सफल भएँ।

अहिले नेपालमा कथा लेखन र पठनको अवस्था कस्तो छ?

युवा पुस्तामा पनि कथा पढ्ने जमात छ तर उनीहरु पुराना शैलीको भन्दा आधुनिक शैलीका कथा बढी पढिरहेका हुन्छन्। पहिले मन परेको लेखकको जुनसुकै पुस्तक पाठकले पढेका हुन्थे। अहिलेका पाठक रुचिको विषयमात्र छनोट गर्छन्। पहिलेको हाम्रो संस्कृति के रहेछ भनेर बुझ्न चाहँदैनन्।

लेखनप्रति तपाईंको रुचि?

म विद्यालयस्तरदेखि नाटक लेख्थेँ। रेडियो नेपालमा आउने नाट्य कार्यक्रम नछुटाई सुन्थेँ। गाउँमा पत्रिका आउन थालेपछि खोजेर पढ्थेँ। पाँचखालबाट काठमाडौँ नजिक। सय रुपैँया हुनेबित्तकै गाडी चढिहाल्थेँ। त्यो बेला एकेडेमीले प्रकाशन गर्ने कविता किताब सस्तोमा पाइन्थ्यो। आएर एक झोला लिएर जान्थेँ। पढ्ने रुचि बढ्दै गयो।

गीति नाटक र कथा रेडियो नेपालमा पठाउन थालेँ। हौसला थपिँदै गयो। मलाई लेखनप्रति रुचि जगाउने मेरी आमा हुनुहुन्छ। उहाँलाई नै प्रेरणाको स्रोत मान्छु। सुरुवाती चरणदेखि नै मेरो लेखबाट प्रभावित हुनुहुन्थ्यो। सानैमा उहाँलाई गुमाए पनि आज म जे छु उहाँकै कारण ठान्छु।

प्रकाशित: ७ फागुन २०८१ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast