![विपिन रिहाइ त परको कुरा, अवस्थाबारे समेत जानकार छैन सरकार](https://himalpress.com/wp-content/uploads/2023/11/Bipin-joshi.jpg)
काठमाडौँ- हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित रहेको गत मंसिरमा टाइम्स अफ इजरायलले जनाएको थियो। उक्त समाचारपछि उनी जीवित छन् भनेर अहिलेसम्म इजरायल सरकारले पनि आधिकारिक रूपमै पुष्टि गर्न सकेको छैन।
इजरायली राजदूत श्मुलिक आरी बास नेपाल आएपछि उनले विपिन जीवित रहेको खबर पाएको भए पनि पुष्टि गर्न नसकेको बताएका थिए। त्यसभन्दा बढी सूचना सरकारसँग छैन।
इजरायल र हमासबीच युद्ध बिराम भएको एक महिना भयो। तर हमासले आफ्नो कब्जामा रहेका सय जनाभन्दा बढी बन्दीलाई छाडे पनि विपिन जोशीलाई छाड्ने अत्तोपत्तो छैन। उनी अहिलेसम्म रिहाइ हुने सूचीमा परेकै छैनन्।
हमासले आफ्नो कब्जामा रहेका विदेशी नागरिकलाई क्रमशः छाड्दै आए पनि जोशी कहिले छुट्छन् भन्ने पत्तो छैन। उनी हमासको कब्जामा परेपछि तीन जना परराष्ट्र मन्त्री (एनपी साउद, नारायणकाजी श्रेष्ठ र आरजु राणा) बने। यी तीनै जना परराष्ट्रमन्त्रीले उनको रिहाइका लागि अमेरिका, कतार, इजिप्ट र इजरायलसँग आग्रह गरे। तर यी देशले ती परराष्ट्रमन्त्रीहरुको आग्रहलाई गम्भीररूपमा नलिएको परराष्ट्र मन्त्रालयकै कर्मचारीहरू बताउँछन्।
परराष्ट्र मन्त्रालयका एक उच्च कर्मचारीका कतार र इजिप्ट सरकारले चाहे आजको भोलि विपिन जोशीको अवस्था पत्ता लाग्छ। इजिप्ट, कतार र हमासबीच एकदम राम्रो सम्बन्ध छ। विपिनको रिहाइका लागि तीनै जना परराष्ट्रमन्त्रीले कतारसँग आग्रह गरे पनि महत्त्वमा नराखेको ती कर्मचारीको बुझाइ छ।
‘अहिलेसम्म विपिन रिहाइका लागि मात्र पहल भयो। उनको अवस्थाका बारेमा हमाससँग बुझन प्रयास भएको छैन। उनको रिहाइ त परको कुरा भयो। उनको अवस्था नै अज्ञात छ,’ ती अधिकारीले भने, ‘उल्टै मन्त्रीले इजरायलमा रहेका राजदूतलाई इंगित गर्दै राजदूतहरूले धेरै बोल्ने होइन भन्दै यसमा लगाम लगाएकी छन्।’
राजदूत धनप्रसाद पण्डितले तत्काल विपिन रिहाइ हुने बताएपछि सबै तिर खुसी छाएको थियो। तर त्यो सम्भव भएन। त्यसपछि परराष्ट्रमन्त्रीले केही स्थानमा पहल पनि गरिन् तर टूंगो लगाउन सकिनन्। अनि उनले राजदूतलाई भिडियो कन्फरेन्स नै गरेर जथाभाबी नबोल्न निर्देशन नै दिइन्।
संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा समेत परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको बताए पनि उनको कुराको सुनुवाइ कतैबाट हुन सकेको छैन। तर उनको आग्रह अन्तर्राष्ट्रिय संघसंस्थाले पनि महत्त्वमा राखेका छैनन्।
परराष्ट्रमन्त्रीले हमासको कब्जामा रहेका विपिनको अवस्थाका बारेमा अहिलेसम्म अन्तर्राष्ट्रिय संघसंस्थाबाट जानकारी दिन कोसिस नगरेको परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीहरू बताउँछन्। कतिपय मुलुकले परराष्ट्रमन्त्री राणालाई नेपालभित्रको भ्रष्टाचार काण्डमा परेकी शक्तिशाली महिलाको रूपमा मात्र हेरेको र कूटनीतिक कदमलाई बेवास्ता गरेको पनि परराष्ट्र अधिकारीहरू बताउँछन्।
विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलममा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो। त्यसयता उनको अवस्था अज्ञात नै छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार विपिनको रिहाइका लागि उच्च तहसँगै प्रयास भइरहेको छ। सरकारले उनको रिहाइलाई प्राथमिकता राखेको र छिटै सुरक्षित रिहाइ हुने सरकार आशावादी रहेको पनि ढकालले बताएका छन्।
विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको उनले बताए। ‘विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय संघसंस्थाले पनि सहयोग गरिरहेका छन्। उनी जीवित छन् भन्ने सूचना पाए पनि विपिनको अवस्था कस्तो भन्ने अहिलेसम्म जानकारी छैन,’ उनले भने। विपिनको रिहाइका लागि इजरायल सरकारले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ।
प्रतिनिधिसभाको बैठकमा फेरि एकपटक प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषयलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार उठाएका थिए। उनले विपिनको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग समेत गरेका थिए।
केसीले विपिन जीवितै भएको सुनिने गरे पनि सरकारले औपचारिकरूपमा जानकारी नदिएको भन्दै तत्काल उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरे। उनीजस्तै अन्य सासदहरूले प्रतिनिधिसभाको बैठकमा विपिनको अवस्था र रिहाइका बारेमा सरकारसँग जवाफ माग्दै आएका छन्। तर यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले समेत जवाफ दिन सकेका छैनन्।
इजिप्ट र कतारले किन दिएनन् महत्त्व
हमाससँग राम्रो सम्बन्ध भएका दुई देश इजिप्ट र कतारका हुन्। कतारले इजरायल र हमासबीच युद्ध रोक्न प्रमुख वार्ताकार एवं मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। यी दुवै देशसँग १८ महिना यता परराष्ट्र मन्त्रालयले हमासको कब्जामा रहेको विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गर्दै आएको छ। दुवै देशले नेपालको प्रस्तावलाई महत्त्व नदिएको परराष्ट्र मन्त्रालयकै कर्मचारीहरू बताउँछन्।
गत माघ १ गते परराष्ट्रमन्त्री आरजु राणाले कतारी विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्तामा विपिनको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्। कतारी विदेशमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत हुन्। राणासँग खुलाइफीले हमासहरूलाई इजरायलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रूपमा अघि बढिरहेको जानकारी गराउँदै हमासहरूको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गर्ने आश्वासन दिएका थिए।
उनीसँग राणाले जस्तै गत जेठमा तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समेत विपिनको रिहाइका लागि सहयोगमा मागेको थिए। त्यतिबेला पनि कतारले आश्वासन मात्र दिएको थियो।
त्यसअघि परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन्। इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर युद्धविरामका लागि पहल गर्ने आश्वासन दिएको थियो। राणाले गत महिना नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन्।
नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल हुँदै आएको छ। यी दुवै देशको हमाससँग सम्बन्ध राम्रो छ। दुवै देशले विपिनको रिहाइका लागि कस्तो पहल गरे अहिलेसम्म पररष्ट्र मन्त्रालयलाई जानकारी गराएका छैन।
विपिन रिहा नहुँदा उनको परिवार पीडामा छ। १७ महिनादेखि छोरो कहिले रिहाइ हुन्छ भनेर प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्र मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु धाउनुपरेको विपिनका बुबा महानन्द जोशीको गुनासो छ। सबैतिर धाए पनि छोरो तत्काल रिहाइ हुने र प्रयास भइरहेको आश्वासन मात्र पाएको उनले जानकारी दिए।
२०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गर्दा प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेको थियो। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेको इजरायलले नेपाललाई जानकारी गराएको थियो।