
काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको बताएकी छन्।
उक्त घटनालाई लिएर सदनदेखि सडकसम्म सरकारको विरोध भएपछि परराष्ट्रमन्त्री राणाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली दूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ। मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।’
परराष्ट्रमन्त्री राणाले यस विषयमा दिल्लीस्थित नेपाली दूतावासले आवश्यक पहल गरिरहेको र सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको जानकारी गराइन्। नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको र यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावासले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको परराष्ट्रमन्त्री राणाले बताएकी छन्।