भारतमा छात्राको रहस्यमय मृत्यु : ‘नेपालीमाथि अपमानजनक व्यवहार गरियो’

हिमाल प्रेस ६ फागुन २०८१ १३:५९
14
SHARES
भारतमा छात्राको रहस्यमय मृत्यु : ‘नेपालीमाथि अपमानजनक व्यवहार गरियो’

काठमाडौँ- सांसदहरूले भारतको उडिसामा प्रकृति लम्सालको शंकास्पद मृत्युका सम्बन्धमा कूटनीतिक पहलबाट छानबिन थाल्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै सांसदहरूले यस्तो माग गरेका हुन्। उनीहरूले छिमेकी मुलुकमा यस्ता घटना दोहोरिरहँदा नेपाली अममानित भएको बताए।

नेकपा एमालेका छविलाल विश्वकर्माले लम्सालको शंकास्पद मृत्युको घटनाले नेपाल, नेपाली समाज र विद्यार्थी जगत् तरंगित भएको बताए। उनले भने, ‘यसको तथ्यपरक ढंगले छानबिन हुन जरुरी छ। त्यहाँका विद्यार्थी दबाबमा रहेको जानकारी हामीलाई प्राप्त भएको छ।’

माओवादी केन्द्रका माधव सापकोटाले नेपाली विद्यार्थीले न्यायको माग गर्दै आन्दोलन गर्दा अपमानजनक व्यवहार गरिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘लम्सालमाथि न्याय होस् भन्दा अमानवीय व्यवहार गरियो। सिंगै नेपाल र नेपालीमाथि धावा बोलियो।’ सापकोटाले सरकारको कूटनीतिक असक्षताका कारण त्यहाँ अहिले पनि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले अपमानजनक र असुरक्षित व्यवहारको सामना गर्नुपरिरहेको बताए।

साथै सापकोटाले मृतक लम्सालका परिवारलाई न्याय दिलाउन नेपाल सरकारका तर्फबाट उच्चस्तरीय राजनीतिक संवादको यथाशीघ्र थालनी गर्न माग गरे। उनले भने, ‘नेपाली र नेपाली विद्यार्थीहरूका प्रति पटकपटक यस्ता अपमानजनक र असुरिक्षत क्रियाकलाप भइरहेका छन्। यो घटनालाई सिंगै संसद्ले गम्भीरतापूर्वक लिनुपर्छ। नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक संवाद गर्न ढिलो गरेको छ।’ उनले घटनाको सत्यतथ्य छानबिन गरेर सार्वजनिक गर्न माग गरेका छन्।

रास्वपाका मनीष झाले लम्साल मृत्युको घटनाले कूटनीतिक संयन्त्र कमजोर रहेको पुष्टि भएको बताए। उनले भने, ‘छिमेकीमा एउटा कलेजको चौकीदारले पनि हाम्रा नागरिकलाई सजिलै पिट्दिन पायो। तिम्रो देशको बजेट मेरो विश्वविद्यालयको जति पनि छैन भनेर हेप्न पाए।’ उनले दुई तिहाईको दम्भ सिंहदरबारभन्दा बाहिर कसैले महसुस गर्न नपाएको बताए। झाले पनि छिमेकी देशमा नेपाली नागरिकको आत्मसम्मान र सुरक्षा नरहेको बताए। उनले नेपालको कूटनीतिक रणनीतिलाई नै संशोधन गर्नुपर्नेमा जोड दिए।

राप्रपाका ध्रुवबहादुर प्रधानले लम्सालको अप्राकृतिक अन्त्य भएको भन्दै किन यस्तो घटना भइरहन्छन् भनेर सरकार गम्भीर नदेखिएको बताए। उनले भने, ‘दोषीमाथि एक महिनादेखि उजुरी परे पनि कुनै कारबाही भएको छैन। घटनापछिका व्यवहार नेपालीमाथि अमानवीय भएको छ।’

भारतमा छात्राको रहस्यमय मृत्यु : राष्ट्रियसभाले गरायो सरकारको ध्यानाकर्षण

प्रकाशित: ६ फागुन २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast