![महाकुम्भमा देखिएका रंगीन सारी [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/02/kumbha.jpg)
प्रयागराज– उत्तर भारतको प्रयागराज सहरमा आयोजित विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलामा यति बेला महिलाले लगाउने रंगीन भारतीय वस्त्र सर्वव्यापी देखिन्छ। लाखौँ हिन्दु आफ्नो पापमोचन गर्न र पवित्र जलमा डुबुल्की लगाउन यहाँ भेला भएका हुन्। भारतीय महिलाको विशेष पहिरन मानिने सारीको यो प्रदर्शन प्रायः त्यतिबेला देखिन्छ, जब महिलाहरू गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गरेपछि बालुवामा सुकाउने गर्छन्।
तीर्थयात्री महिला बाँसका डण्डीमा र जमिनमै सारी सुकाइरहेका छन्। केहीले कपडाको दुवै छेउ समातेर हल्लाएर निचोर्छन्। त्यसपछि सुकाउन छाड्छन्। अन्यले त्यसलाई नदीकिनारमा फिँजाएर घामलाई नै सुकाउने जिम्मा दिन्छन्। सुकिसकेपछि ती सारी झोलामा राखिन्छन् र केही अवस्थामा फेरि लगाइन्छ। महाकुम्भ मेला प्रत्येक १२ वर्षमा आयोजना गरिन्छ। यस वर्षको मेला जनवरी १३ मा सुरु भएर फेब्रुअरी २६ मा समाप्त हुँदैछ।
मेलामा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ। उत्तर प्रदेश सरकारलाई मेलामा भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ। गत महिना मेलामा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। नदीको संगममा स्नान गर्दा पाप नष्ट हुन्छ र पुनर्जन्मको चक्रबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। मेलामा लाखौँ हिन्दु महिला प्रायः परम्परागत सारी लगाएर जलमा डुबुल्की लगाउँछन्।
सारी भारत तथा पाकिस्तान, बंगलादेश र नेपालजस्ता अन्य दक्षिण एसियाली देशहरूमा महिलाहरूको पारम्परिक पोसाकका रूपमा रहँदै आएको छ। -एपी