
काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ।
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच सोमबार भेटवार्ता भएको हो।
त्यसअवसरमा मन्त्री देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ। भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य प्रवर्द्धनका उपायबारे पनि छलफल भएको थियो।
देउवाले नेपालमा दूतावास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गरेकी थिइन्। यसै सन्दर्भमा नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।
यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।