
काठमाडौँ- नेपालका लागि इजरायली राजदूत श्मुलिक ए.बासले धादिङको जीवनपुरस्थित कृषक युद्धप्रसाद न्यौपानेको कृषि फार्मको भ्रमण गरेका छन्।
उनले इजरायलबाट फर्केका कृषिविद् तथा कृषि उद्यमी न्यौपानेले इजरायली कृषि प्रविधि प्रयोग गरेर सञ्चालन गरेको फर्मको भ्रमण गरेका हुन्।
न्यौपाने इजरायलको अरबा अन्तर्राष्ट्रिय कृषि तालिम केन्द्रअन्तर्गत २०१३–२०१४ को ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि आफ्नो कृषि फर्मलाई व्यापक रूपमा विस्तार गर्न सफल भएका छन्।
उनले ड्रिप सिँचाइ प्रविधि, अटोमेटेड फर्टिगेसन प्रणाली, मल्चिङ प्रविधि, उच्च प्रविधियुक्त नर्सरीजस्ता इजरायली कृषि प्रविधिहरूलाई प्रभावकारी रूपमा अपनाएका छन्।
उनले आफ्नो आम्दानीको मात्र २० प्रतिशत इजरायली प्रविधिमा लगानी गर्दै उत्कृष्ट नतिजा हासिल गरेको बताइएको छ।
राजदूत बासको यो भ्रमण नेपाल र इजरायलबीचको सुदृढ कृषि सहकार्यलाई उजागर गर्नुका साथै ‘लर्न एन्ड अर्न’ कार्यक्रमले नेपाली किसानहरूलाई नवीनतम र आधुनिक कृषि प्रविधिमा सशक्त पार्ने उद्देश्यले भएको दूतावासले जनाएको छ।
न्यौपाने पाँच लाख राशि बराबरको दोस्रो कृषि तारा पुरस्कारबाट पुरस्कृत भएका छन्। राजदूत बाससँगै भ्रमणमा अर्थ मन्त्रालयका अधिकारी, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।