लोकतान्त्रिक पद्धतिको ‘धज्जी उडाउँदै’ ओली

हिमाल प्रेस ५ फागुन २०८१ १०:५८
50
SHARES
लोकतान्त्रिक पद्धतिको ‘धज्जी उडाउँदै’ ओली प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले सोधको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मर्यादा र लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको टिप्पणी जानकारहरूले गरेका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार भएको प्रश्नोत्तरमा ओलीको प्रस्तुतिलाई लिएर यस्तो प्रतिक्रिया आएको हो।

सांसदले उठाएका प्रश्नको जबाफप्रति ओली जिम्मेवार नदेखिएको उनीहरूको बुझाइ छ। सुशासन, अनियमितता, विकास निर्माणलगायतका विषयमा सांसदहरूले प्रश्न उठाउँदा ओली उल्टै प्रतिप्रश्न गरेका थिए। ओलीले प्रश्नकर्तालाई आफू पदमा हुँदा केही नगर्ने तर अहिले प्रश्नमात्रै सोध्ने भन्ने आसयको जबाफ फर्काएका थिए।

प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री एवम् एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला, पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी सांसद वर्षमान पुन र आमजनता पार्टीका सांसद प्रभु साहको प्रश्नमा ओली हल्का रूपमा प्रस्तुत भएका थिए। ओलीको भनाइ थियो, ‘माननीयज्यूले राख्नुभएको प्रश्नको जवाफ खासै दिइरहन जरुरी छैन। आफैँ उत्तर बोकेर आउनुभएको छ, प्रश्नमा मैले धेरै उत्तर दिइरहन परेन।’

सांसद साह प्रधानमन्त्रीले प्रश्नोत्तरको धज्जी उडाएको बताउँछन्। ‘प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो। जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो। उहाँले संसद्को अपमान गर्नुभयो। प्रश्नोत्तरको धज्जी उडाउनुभयो’, साहले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियार प्रधानमन्त्रीको प्रस्तुतिले संसदीय प्रणालीमाथि प्रश्न उठ्ने बताउँछन्। उनी प्रश्नोत्तर कार्यक्रम सोचेजस्तो नभएको बताउँछन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रधानमन्त्री ओलीले संसदीय मर्यादा र प्रधानमन्त्री पदप्रति प्रश्न उठ्ने काम गरेको बताए। संसदीय प्रणालीमा प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्नेमा आक्रामक हुनुले लोकतान्त्रिक पद्धतिकै धज्जी उडेको त्रिपाठीले बताए।

‘प्रधानमन्त्रीलाई खबरदारी गर्ने काम सांसदकै हो तर ओली जिम्मेवार देखिएनन्,’ उनले भने। त्रिपाठीले प्रधानमन्त्री सधैँ प्रश्नको सामना गर्न तयार हुनुपर्ने र सदनमा जबाफ दिँदा झुटो बोल्न पनि नहुने मान्यता संसदीय प्रणालीको रहेको बताए।

‘संसद्को हरेक डिबेटमा प्रधानमन्त्री जानुपर्छ। त्यसमा पनि प्रतिपक्षी दलको नेताले बोल्ने समयमा त प्रधानमन्त्री जानैपर्छ,’ त्रिपाठी भन्छन्, ‘ओलीजी झनै समस्याग्रस्त छ। संसदीय विषयलाई मजाकको विषय बनाउन उनी लागेका छन्। यो गलत छ।’

पूर्वसभामुख अग्नि सापकोटा प्रधानमन्त्री जहिल्यै प्रश्नको सामना तयार रहनुपर्ने बताउँछन्। सापकोटाले भने, ‘सांसदहरू जनप्रतिनिधि भएकाले उनीहरू सधैँ जनताप्रति बफादार रहनुपर्छ।’

सापकोटाका अनुसार प्रधानमन्त्री संसद् र सांसदप्रति जिम्मेवार रहनु नै संसदीय व्यवस्थाको मूल मापदण्ड हो। उनले भने, ‘यसलाई संसदीय व्यवस्थामा प्राकृतिक सिद्धान्तका रूपमा पनि लिइन्छ। तर हामी कहाँ भएको व्यवस्थामा कति फरक छ तरु वा हाम्रा प्रधानमन्त्री संसद्प्रति कति जिम्मेवार छन्? यसको जबाफ खोज्न अरूतिर जानै पर्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast