
काठमाडौँ- प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना प्रहरी नायब उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन्।
शुक्रबार गृह मन्त्रालयको निर्णयअनुसार पदोन्नति भएका उनीहरूलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन्।
साथै सोही निर्णयबाट पदोन्नति भएका दुईजना प्रहरी नायब उपरीक्षकहरू हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् भने एकजना प्रहरी नायब उपरीक्षक हाल तालिमको सिलसिलमा विदेशमा छन्।
दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको बताए।
कुँवरले व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन निर्देशन दिए।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।