
काठमाडौँ- राष्ट्रियसभाले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले व्यक्त गरेको धारणाप्रति खेद प्रस्ताव पारित गरेको छ। सभाको आइतबारको बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रियसभाको कामकारबाहीका सम्बन्धमा सामाजिक सञ्जाल ज्ञानेन्द्र शाही नामको फेसबुक पेजमा व्यक्त गरेको टिप्पणीको सम्बन्धमा उठान गरेको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो।
फेसबुकमा सांसद शाहीले के लेखेका थिए?
राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रियसभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्। यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहालीलाग्दो अन्धकार बनाइदिए।
श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका सहिदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका सहिदहरुको पाप लाग्छ। जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वेश्वरप्रसाद कोइरालाको पाप लाग्छ। जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशूलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ। यो राष्ट्रियसभाको कुनै औचित्य छैन। वृद्धाश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रियसभा। त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो।
मिडिया काउन्सिल विधेयक
सभाले २०८१ माघ २८ मा पारित गरेको मिडिया काउन्सिल विधेयक २०८० मिति २०८१ जेठ १३ गते यस सभामा पेस भएको थियो। उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात् विधेयक उपर २६ जना सदस्यबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भएको थियो। संशोधनमाथि सभाको विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता सदस्यसँग १४ वटा बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको थियो।
पारित प्रस्तावमा के छ?
विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नगरी सांसद शाहीले कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई अभिव्यक्ति दिएको राष्ट्रियसभाबाट व्यक्त खेद प्रस्तावमा उल्लेख छ। ‘एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गरेको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ’, पारित प्रस्तावमा उल्लेख छ। सभाले आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन सांसद शाहीलाई निर्देशन दिएको छ।