
काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरीविकासमन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसियसनको आयोजनामा आइतबार सुरु भएको टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
सिंहले युवाहरूलाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।
उनले भने, ‘खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै। तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ। अनुशासनको विकासकका लागि पनि खेलकुदको धेरै महत्त्व छ।’ आफ्नो बेलामा कराँतेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए।
खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धा आवश्यक रहेको भन्दै उनले टी-२० क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।