भूमिसम्बन्धी अध्यादेश : दुई जसपाका दुई कुरा

हिमाल प्रेस ४ फागुन २०८१ ९:१५
1.4k
SHARES
भूमिसम्बन्धी अध्यादेश : दुई जसपाका दुई कुरा

काठमाडौँ- सरकारले राष्ट्रियसभामा पेस गरेको भूमिसम्बन्धी अध्यादेश विवादित बनेको छ। सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी (लोसपा)नेपालले पारित गर्न नसक्ने अडान राखेपछि सरकार पछि हटेको छ। अध्यादेश अध्ययनका लागि सत्तारुढ दलबीच कार्यदल बनाउने सहमति भएको छ।

अध्यादेश पारित गर्न जसपा नेपाल राष्ट्रियसभामा निर्णायक हो। यदि जसपा नेपालले समर्थन गर्ने हो भने लोसपा नभए पनि पारित हुन सक्ने संख्या राष्ट्रियसभामा छ। किनकि, राष्ट्रियसभामा कांग्रेस–एमाले र राष्ट्रपतिबाट मनोनीत सदस्यको संख्या जोड्दा २८ पुग्छ।

४ मत रहेको जसपा नेपालले समर्थन गरेमा पारित हुने निश्चित छ। तर, जसपा नेपालले आपत्ति मान्दा सरकार पछि हटेको हो। रोचक कुरा के छ भने, अहिले सरकारमा दुई जसपा छन्। एक, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र अर्को अशोक राई नेतृत्वको जसपा। यी दुई पार्टी केही समयअघि मात्रै विभाजित बनेका थिए।

उपेन्द्रको पार्टीबाट विभाजित बनेको नयाँ पार्टीको नाम जसपा रह्यो। सामान्यतयाः यी दुवै पार्टीलाई जसपा नामबाट चिनिन्छ। नाममा सामान्य फरक रहेका यी दुवै पार्टीले सरकारलाई समर्थन गरेका छन्। तर, अध्यादेशको मामिलामा भने दुवै पार्टीको फरक धारणा छ। उपेन्द्र नेतृत्वको जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा छ भने अशोक नेतृत्वको जसपा पक्षमा छ। ‘हामी यो अध्यादेश पारित गरेर जान सक्दैनौँ। यो मधेशी जनता विरुद्धको अध्यादेश हो।’ जसपा नेपालका प्रवक्ता मनिष सुमन भन्छन्।

जसपा नेपालले यसअघि अध्यादेश बुझ्न विज्ञ खटाएको थियो। अध्ययनपछि जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा अड्को थाप्यो। कतिपय राजनीतिक दलले जसपा नेपालले सत्ता हत्याउनका लागि ‘बार्गेनिङ’ गरेको आरोप लगाए। तर जसपा नेपालका अध्यक्ष उपेन्द्रले अस्वीकार गरिरहे। यता, अशोक नेतृत्वको जसपा भने भूमिसम्बन्धी अध्यादेशको पक्षमा छ।

उसले अहिले पनि भूमिुसम्बन्धी अध्यादेशमा फरक मत राखेको छैन। ‘अध्यादेशमा फरक मत किन राख्नु र! पहिले पनि अध्यादेश ल्याएकै हो। अहिले पनि ल्याइयो,’ जसपाका महासचिव महोम्मद इस्त्याक राई भन्छन्,‘माओवादीले समेत यसमा समर्थन गर्नुपर्छ।’ अशोक नेतृत्वको जसपाको राष्ट्रियसभामा भने सिट छैन। प्रतिनिधिसभामा ७ सिट रहेको यो पार्टीबाट प्रदीप यादव खानेपानी मन्त्री छन्।

उपेन्द्रबाटै छुटेका अशोक

गत वैशाखमा उपेन्द्र अमेरिका रहेका बेला एकाएक विभाजित बनेर नयाँ जसपा बन्यो। राष्ट्रिय निर्वाचनबाट १२ सिट जोडेको जसपा नेपाल विभाजित हुँदा ७ सिट बाहिरियो। अहिले अशोकसँग ७ सांसद छन्। लामो समय एकै ठाउँमा रहेका उपेन्द्र–अशोक एकाएक विभाजित बनेका थिए।

विभाजनपछि भने उपेन्द्र कमजोर बनेका थिए। यही कारण उनी मधेश प्रदेशको सरकार समेत गुमाउन पुगे। ‘हामीमाथि सत्ताको दुरुपयोग भयो। यही कारण विभाजित हुन पुग्यौ,’ जसपा नेपालका महासचिव रामकुमार शर्मा भन्छन्,‘ओली–प्रचण्ड समेत जसपा विभाजनमा लागे।’

कुनै बेला मधेशको राजनीतिबाट मूल राजनीतिमा प्रवेश गरेका उपेन्द्र पटकपटक मन्त्री बनेका छन्। मधेशी जनअधिकार फोरमबाट उनको पार्टी जसपा नेपाल बनेको हो। यता कुनैबेला एमालेको शीर्ष नेता रहेका अशोक एमाले छाडेर नयाँ पार्टी गठनमा पुगेका थिए। पहिलो संविधानसभा ताका एमालेले एकल जतीय पहिचानलाई नमान्ने अडान लिएपछि अशोक एमालेबाट बाहिरिएका थिए।

उनले संघीय समाजवादी पार्टी खोलेका थिए। दोस्रो संविधानसभामा लज्जास्पद हार व्यहोरेका उनले उपेन्द्र नेतृत्वको मधेशी जनअधिकार फोरममा मिसाएर संघीय समाजवादी फोरम बनाएका थिए। पछि त्यही पार्टी मधेश केन्द्रित विभिन्न दलसँग समाहित भयो। यसपछि ६ पार्टी मिलेर बनेको जसपा नेपाल पनि लामो समय टिकेन।

पार्टीभित्रका तिक्तताका कारण महन्थ ठाकुर र राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी खोल्दा अशोक-उपेन्द्र एकै ठाउँ रहेका थिए। तर उनीहरूको समेत एकता लामो समय टिकेन। यही कारण अहिले अशोक- उपेन्द्र विभाजित बनेर दुई पार्टी गठन गरेका छन्।

प्रकाशित: ४ फागुन २०८१ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast