
पोखरा– १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकले वर्चश्व जमाएका छन्। उनीहरुले यसअघिका सबै रेकर्डसमेत तोड्न सफल भए।
केन्याली धावक विल्सन चेरियुयिटले २ घण्टा १७ मिनेट २४ सेकेण्डमा म्याराथन (४२.१९५ किमी) दूरी पूरा गर्दै च्याम्पियन बन्न सफल भए। अघिल्लो १८ औँ संस्करणमा केन्याकै जुलियस मुरियाली वाहोमले उक्त दूरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरेका थिए।
उनै जुलियस यसपालि दोस्रो भए। उनले उक्त दूरी पार्न गर्न २ घण्टा १७ मिनेट २६ सेकेण्ड लगाए। केन्यालीकै ओनेसमस गिताउ जोरोगले २ घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तेस्रो स्थान हासिल गरे।
च्याम्पियन विल्सनले पुरस्कारस्वरुप ५ लाख हात परे। दोस्रो र तेस्रोले क्रमशः ३ लाख र २ लाख पाए।
म्याराथनमा नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थानमा आउन सके। पाचौँमा नेपाली निरोज भट्ट क्षत्री तथा छैटौँमा रिखुलाल सिंह मगर परे। सातौँ दिनेशसिंह बोगटी, आठौँ केन्याली माइकल माथिया आए। उनीहरुले क्रमशः ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे।
म्याराथनमा गण्डकी प्रदेशतर्फ निरोज भट्ट क्षत्री प्रथम भए। उनले २ घण्टा ३८ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरेका हुन्। रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी तेस्रो, मीनराशि विक चौथो, अशोक बराम पाँचौँ, सनम गुरूङ छैटौ र प्रितम गुरूङ आठौँ स्थानमा आउन सकेन। उनीहरुले क्रमशः ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे।
पुरुष हाफ म्याराथन (२१ किमी) मा केन्याली जोन बान्सतराले च्याम्पियन बने। उनले १ घण्टा ०९ मिनेट ०७ सेकेण्डमा दूरी पूरा गर्दा नेपालका सन्तोषविक्रम विष्ट १ घण्टा ९ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी दोस्रो, गजेन्द्र राई १ घण्टा १० मिनेट ०२ सेकेण्डमा पूरा गरी तेस्रो भए। केन्याका इम्यान्युल किप्तारबी चौथौ र उमेश थापा पाँचौँ बने। उनीहरुले क्रमशः जनही ७५ हजार, ५० हजार, ३० हजार, १५ र ५ हजार रुपैयाँ प्राप्त गरे।
महिला हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम भइन्। उनले १ घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गरिन्। यसअघि पनि उनी प्रथम भएकी थिइन्। केन्याका स्वारोन जोनोटिक दोस्रो र नेपालकी पुष्पा भण्डारी तेस्रो भए। आश्मा विक चौंथो र द्रोपताकुमारी कठायतले पाँचौ भए। उनीहरुले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार १५ हजार ५ हजार रुपैयाँ प्राप्त गरे।
१० किमी पुरुष दौडमा ३६ मिनेट ०५ सेकेण्डमा दौड पूरा गरी शुभम लामिछाने पहिलो भए। राजेन्द्र तामाङ दोस्रो र बादल कार्की तेस्रो भए।
महिलातर्फ सुमित्राकुमारी चौधरी प्रथम भइन्। उनले ३८ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरिन्। आशा रावत दोस्रो र नारायणी भण्डारी तेस्रो भए। क्रमशः ३०, २० र १० हजार प्राप्त गरे।
५ किमी छात्र दौडमा सुगन लामिछाने, सुजन नेपाली र ईश्वर ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो बने। छात्रामा मेनुका अधिकारी, एन्जिला जिटी र साधना परियार क्रमशः पहिलो दोस्रो र तेस्रो भए। उनीहरुले जनही १५ हजार, १० हजार ७ हजार प्राप्त गरे।
भेट्रान्स पुरुष (५० वर्षमाथि) तर्फ धर्म महर्जन पहिलो, रेवतबहादुर ढकाल दोस्रो र अभीनारायण अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। महिलातर्फ टोलमाया थापा पहिलो, दुर्गा लक्ष्मी गुरूङ दोस्रो र राम माया गुरूङ तेस्रो भए। उनीहरुले १५ हजार, १० हजार ७ हजार प्राप्त गरे।
नेपाल भूतपूर्व खेलाडी मञ्च आयोजनामा शनिबार बिहान पोखरा रंगशालाबाट सुरु भएको दौड सहरका विभिन्न भाग परिक्रमा गर्दै क्याम्पिङ चौरमा पुगेर समापन भएको थियो।
रंगशालामा संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए।
म्याराथनमा २१ देशका ३ हजार १७५ धावकले भाग लिएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनायो। विभिन्न १४ इभेन्ट्समध्ये मुख्य इभेन्ट खुला म्याराथनमा पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना धावकले भाग लिएको मञ्च अध्यक्ष दिलबहादुर गुरुङले बताए।
कार्यक्रमलाई सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको थियो।