
पोखरा– २४ औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी च्याम्पियन बनेको छ।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा यहाँको सर्वाधिक सफल टिम पुलिसलाई एकका विरूद्द तीन गोलले पराजित गरी उज्जेकिस्तानी टिमले पहिलोपल्टको सहभागितामै उपाधि जितेको हो। र, आहा रारा पोखरा गोल्डकपले पनि नयाँ च्याम्पियन पाएको छ।
उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख नगद, शिल्ड, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।
चिसो मौसमबीच पोखरेली दर्शकसामु सानदार खेल पस्केको ब्ल्याक बुल्सले पहिलो हाफमा अग्रता लिएको थियो। दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। पुलिसले खेल उत्तरार्धमा सान्त्वना गोल मात्र फर्कायो।
ब्ल्याक बुल्सका क्याप्टेन जाखोनगिर अख्मोडोभले ४० औँ मिनेटमा हानेको फ्रिकिक पुलिसका किपर शत्रुधन चौधरीले क्याच गरी बचाउन खोज्दा फुस्किएको हो।
दोस्रो हाफमा अशिलवेक ओरिफजोनोभले गोल अन्तर दोब्बर पार्दा साभकाटजोन स्याट्रोभले टिमका लागि गोल गरी गोलअन्तर शून्यका विरूद्ध तीन बनाए।
ब्ल्याक बुल्सले क्वाटरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड क्लब, सिक्किमलाई ३–० ले पराजित गरी विजयी यात्रा सुरूवात गरेको थियो। दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो। जबकि थ्रि स्टार ५ पटकको विजेता हो।
विभागीय पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको थियो।
पुलिसले क्याराभानसहित आहारारा गोल्डकपको पहिलो, छैटौँ, सातौँ, आठौँ र २०७४ सालको सोह्रौँ संस्करण जितेको छ।
फाइनलमा खेलको सुरूवातको ३ मिनेटमै पुलिसले अग्रता लिने मौका गुमाएको थियो। अरूण गाहाको हेडबल पोलमा लागेर फर्किएको थियो। उसका लागि थप गोलका अवसर पनि खेर जाँदा ७ वर्षपछि सातौँपल्ट उपाधि जितेर रेकर्ड ब्रेक सपना चकनाचुर हुन पुग्यो।
आयोजक सहारा क्लब पोखराले गत २२ माघदेखि आयोजना गरेको प्रतियोगितामा १२ टिमले भाग लिएका थिए। यो प्रतियोगितामा यसअघि ८ टिमको नाममा उपाधि दर्ज छ। यो प्रतियोगिता नेपाली फुटबल इतिहासमै निरन्तर २४ वर्षदेखि हुँदै आएको एकमात्र प्रतियोगिता हो।