
पोखरा- पोखरामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ। म्याराथनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन्। पोखरा रंगशालाबाट सुरु म्याराथनमा २१ देशका ३ हजार १७५ धावकले भाग लिएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनायो।
विभिन्न १४ इभेन्ट्समध्ये मुख्य इभेन्ट खुला म्याराथनमा पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १५० जना धावकले भाग लिएका हुन् । तीमध्ये ८ महिला धावक छन्। मञ्च अध्यक्ष दिलबहादुर गुरुङका अनुसार हाफ म्याराथन महिलातर्फ १० देशका सहित ४० जनाले भाग लिएका छन् ।
हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित ११० जना, १० किमी पुरुषतर्फ ११ विभिन्न देशका सहित २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १०९ जना, ५ किमी भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जनाले भाग लिएका छन्। रन फर फनमा करिब ७ हजार जना गरी १० हजार जना पोखरा दौडिएको मञ्चले जनायो।
विभिन्न रुटमा धावकको स्वागतमा विभिन्न संघसंस्थाका प्रतिनिधि ब्यानर, फूल र घडासहित उपस्थित छन्। ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौं’ भन्ने नारा सहित म्याराथनमा पुरस्कारमात्रै कुल २१ लाख ३४ हजार रुपैयाँ वितरण गरिँदैछ।
धावक पोखराका विभिन्न भाग परिक्रमा गरी फेवाताल किनार हल्लनचोक पुग्ने छन्। मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङका अनुसार म्याराथनमा चिप्स प्रयोग गरिएको छ। लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालिको उत्पादन सफल दूधले १० वर्षयता मुख्य प्रायोजन गर्दै आएको छ।