
काठमाडौँ- १५ औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसमा सभापति पदमा चुनिने दौडधूप बढेको छ। कतिपय नेताहरू आफू नै सभापतिको उम्मेदवार भएको दाबी गर्दै जिल्लाजिल्ला पुगिरहेका छन् भने कुनै नेता बन्द कोठामा संवादमा छन्। कांग्रेसमा सभापति चुनिन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत चाहिने भएकाले पनि एक गुटको मात्र सहयोगमा जित्न सहज छैन। त्यसैले नेताहरू जितका लागि हातेमालो गर्ने प्रयत्नमा छन्।
यतिबेला सभापतिमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र कोइराला समूह भित्र नै रहेका महामन्त्री गगन थापा दौडमा छन्। उनी यतिबेला देउवा फकाउने तवरले अघि बढेको देखिन्छ। कोइराला पटकपटक मुलुकभर घुमे भने त्यही शैलीमा विभिन्न अभियान चलाएर गगन पनि देशभर घुमिसकेका छन्।
डा. शेखरले त समानान्तर गतिविधिमार्फत पनि जनमत तान्ने प्रयत्न गरिरहेका छन्। उनले आउँदो महाधिवेशनको तयारी निक्कै अगाडि बढेको दाबी गर्ने गरेका छन्। उनी वर्तमान सभापति शेरबहादुर देउवासँग गएको १४ औँ महाधिवेशनमा समेत प्रतिस्पर्धामा उत्रिएका थिए। उनलाई केही मित्रहरूले कमजोर आकलन गरेकाले पनि त्यो समयमा सहकार्य हुन सकेको थिएन। ‘अहिले परिस्थिति कोइरालाको पक्षमा देखिएकाले देउवा निकट्स्थहरू पनि यता ढल्किन थालेका छन्, जुन स्वाभाविक पनि हो,’ कोइराला निकट एक नेताले भने, ‘त्यसैले निरन्तर प्रतिस्पर्धामा उत्रिने कोइरालाको तयारीमा झन् बल मिलेको छ।’
कोइराला यसपटक सभापतिको उम्मेदवार बन्ने दौडमा लाग्दा उनीसँग जितेका सभापति देउवा भने दौड बाहिर नै रहनेछन्। किनकि, कांग्रेसका विधानअनुसार दुईपटक भन्दा बढी सभापति बन्न पाइँदैन। यसबारे देउवाले यसअघि नै बताइसकेका छन्।
‘देउवाले कोठे बैठकमा कोइरालासँग विद्रोह गरेँ र कोइरालाकै साथ पाएर सभापति भएँ, अब कोइरालालाई नै सभापति सुम्पने हो भन्न थाल्नुभएको छ,’ ती नेता दाबी गर्छन्, ‘राजनीतिका पक्का खेलाडीको परिचय बनाउनु भएका देउवाले आफ्नो साथ पनि बलियो दाबेदारलाई नै दिने हुँदा कोइरालासँग जोडिन उनका सहयात्रीहरू आइरहेका छन्।’
हुन त देउवा गुटबाट को सभापतिको उम्मेदवार बन्ने चासोको विषय छ। नेता मोहन बस्नेतका अनुसार छलफल चलिरहेको छ। सबैले आफूलाई केन्द्रमा राखेर कुरा गरिरहेका छन्। ‘अहिले भएको छलफलले यो टुंगो लाग्दैन। किनकि अधिवेशन आउन बाँकी नै छ। अनि विधानअनुसार यसअघिका सभापतिले प्रयोग गरेका अधिकार पनि देउवाले पनि पक्कै प्रयोग गर्छन्। जुन अस्वभाविक पनि होइन,’ बस्नेतले भने।
यद्यपि कांग्रेस वृत्तमा सभापति देउवाले गगन वा शेखरलाई नै ‘सिग्नल’ दिन सक्ने सम्भावना रहेको समेत चर्चा भएको भनिए पनि स्वयं देउवाले भनेका छैनन्। कोठे गफमा बरु देउवाले शेखरप्रति नै कोइराला भन्दै सिग्नल दिएको केही कांग्रेसीहरू बताउँछन्। यता इतरपक्षमा पनि गगन वा शेखरमा मत एक छैन। शेखर आफूमा स्पष्ट छन् तर गगन यसमा स्पष्ट हुन नसकेकाे देखिन्छ। गगन आफ्नै नाम किटेर प्रचारमा रहेकाले पनि उनलाई शेखर पक्षको पूर्ण समर्थन पनि छैन। देउवा निकट नेता भने को उम्मेदवार बन्ने ‘कोठे बैठकमै’ सीमित छन्।
यसबारे देउवापक्षीय नेताहरूले शुक्रबार देउवासँगै पनि छलफल गरेका थिए। उनीहरूले देउवालाई कसले उम्मेदवारी दिने बताइदिन अनुरोध गरे। तर देउवाले मुख नखोलेको कांग्रेसका एक नेता बताउँछन्। देउवा निकट मानिएका बस्नेत भन्छन्, ‘अहिले नै देउवाले मुख खोले भने त उनी कमजोर भइहाल्छन्, त्यसैले अधिवेशनकाे केही समय अघि मात्र मुख खोल्नेछन्।’ यता महामन्त्रीहरू क्रियाशील सदस्यदेखि विवाद भएका स्थानहरू सल्टाउनतर्फ लाग्नुको साटो सरकारमा रहेकाको चाकडीमा लागेकाे आरोप कांग्रेसीहरूको छ।
देउवा निवास बूढानीलकण्ठ पुग्नेमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, बालकृष्ण खाण लगायतका नेता थिए। उनीहरूले गएको महाधिवेशनमा देउवा आफूहरूकै बलमा देउवाले जितेको बताएका थिए। तर देउवा त्यो कुरा मान्न तयार छैनन्।
इतरपक्षका उम्मेदवार कोइराला कि थापा?
१४ औँ महाधिवेशनमा इतरपक्षबाट सभापतिका उम्मेदवार शेखर बन्दा महामन्त्री बनेका थिए थापा। शेखरले हारे तर गगनले जिते। १५ औँ महाधिवेशनको मिति नजिकिँदा गुट अदलबदल गर्ने क्रम जारी छ। यसपटक संस्थापन मानिने देउवाको गुट कमजोर बन्ने अनुमान छ। गगन यसपटक देउवा तिर वा आफ्नै गुट बनाउन लागेमा शेखरलाई नै फाइदा हुने पनि केही कांग्रेसीको दाबी छ। किनकी गगनको आफ्नो गुटमा हुने भनेको न्यून र उनी आफ्नै बलमा लगेकाे व्यक्ति मात्र हो। तर शेखरकाे लाइनमा काेइराला विरासतसँगै उनकै गुटबाट बनेका पदाधिकारी छन्।
देउवा अब सभापतिको उम्मेदवार नबन्ने हुँदा उनी निकट नेताहरू समेत इतरपक्षमा लागेको कांग्रेस नेताहरू बताउँछन्। कोइराला अहिले संस्थापनविरुद्ध खनिरहेका छन्। कांग्रेसकै समर्थन रहेको वर्तमान सरकारको समेत कोइराला कटाक्ष गर्न छाडेका छैनन्। ‘कोइराला सामान्य जीवन व्यतीत गरिरहेका व्यक्ति हुनाले उनले सधैँ नागरिकको कुरा गरिरहेका छन्। सुशासनकाे कुरा गरिरहेका छन्। तर अन्यले माैसम अनुसारको कुरा गरिरहेको विषय सबैलाई जानकारी छ,’ कोइरालानिकट नेता भन्छन्।
शेखरले सरकारले जनपक्षीय काम गर्न नसकेको बताएका छन्। ‘जनताले खोजेका छन् एउटा, सरकार अन्यत्रै दौडिरहेको छ,’ उनले भने।
उनले वर्तमान सरकार समेत एमालेकरण भएको अभिव्यक्ति दिइरहेका छन्। शेखर ठूला काण्ड छानबिनको पक्षमा छन् तर अन्य नेताहरु भने मिलाउने पक्षमा देखिएका छन्। गगन थापा भने मौन छन्। कुनै बेला संस्थापनको चर्को आलोचना गर्ने थापा सभापति समक्ष मौन बस्दा देउवानिकट बनेको बताउने गरिन्छ। यद्यपि उनी भने मान्न तयार छैनन्। उनले आफ्नै गुट बनाउने र आफैँ निर्वाचन लड्ने उनको दाबी छ। त्यसैले थापालाई शेखरले पनि मान्न तयार छैनन्।
केही दिनअघिको एक कार्यक्रममा थापाले आफू शेखरसँगै रहेको र शेखर पनि आफूसँगै रहेको अनुमान गरेको बताएका थिए। कतिपयले थापा नै देउवा गुटबाट सभापतिको उम्मेदवार बन्ने चर्चा पनि गरिरहेका छन्। जे होस्, महाधिवेशनका लागि थापा र कोइराला दुवै लागेका छन्।
देउवा गुटमा अलमल
विगतमा बलियो बनेको देउवा गुट छिन्नबिन्न हुने अनुमान गरिन्छ। कुनै नेता इतरपक्षमा गएको अथवा कोइराला खेमामा गएको भन्ने प्रचलन चलिरहेको छ। तर देउवा खेमामा रहेका नेताहरू भने आफू नै उत्तराधिकारी बन्ने दाबी गरिरहेका छन्।
उनीहरू आन्तरिक बैठकमा देउवाको समर्थन पाउने बताइरहेका छन्। यस्तैमा केही दिनअघि केही नेताहरू देउवा निवास पुगेर उत्तराधिकारीका विषयमा बोल्न अनुरोध गरेका थिए। उनीहरूले संस्थापन पक्ष कसरी अघि बढ्ने र देउवाको रणनीति के छ भनेर प्रश्न गरेका थिए।
‘हामीले देउवालाई एकजुट भएर लागौँ भनेर बुझ्न गएका थियौँ तर चाहेजस्तो भएन,’ एक नेताले भने।
संस्थापन पक्षबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइरालाले सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। तर देउवाको ‘सिग्नल’ बिना उनीहरू अघि बढ्न सक्ने अवस्थामा पनि छैनन्। तर देउवा नबोल्दा गाह्रो भएको उनीहरूको बुझाइ छ। यसअघि देउवा निवासमा पुगेर उनीहरूले नै देउवालाई सभापतिको उम्मेदवारका विषयमा सोधेका थिए। तर देउवा बोलेनन्।
‘उहाँहरू सभापतिज्यूकोमा पुग्नुभएकै हो। तर जे आकांक्षा बोकेर पुग्नुभएको थियो। पूरा भएन,’ संस्थापन पक्षीय एक नेता बताउँछन्,‘उहाँहरू आफैँलाई सभापतिले सिग्नल दिए हुन्थ्यो भन्नेमा हुनुुहुन्थ्यो। तर सभापतिजी मौन रहनुभयो।’
संस्थापन पक्षबाट सभापतिको उम्मेदवार छान्न देउवालाई कठिन छ। लामो समयदेखि देउवाकै साथमा रहेका गोपालमान श्रेष्ठ अहिले पनि सभापतिको आकांक्षी छन्। उनी यसअघि देउवाले आश्वासन दिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।
यता निधि यसपटकका पनि आकांक्षी हुन्। गएको महाधिवेशनमा देउवासँगै प्रतिस्पर्धा गरेका उनी अन्तिममा देउवालाई नै समर्थन गर्न पुगेका थिए। पूर्वमहामन्त्री शशांक कोइरालाले समेत सार्वजनिकरूपमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा राखेका हुन्। कोइराला परिवारका सदस्य भए पनि उनी अहिले देउवा निकट मानिन्छन्।
उनी यसअघि पनि शेखरलाई सहयोग नगरेर देउवा गुटलाई नै सहयोग गरेको आरोप लागेको थियो। यता काठमाडौँबाट प्रतिनिधित्व गर्ने प्रकाशमान सिंह पनि गएको महाधिवेशनमा सभापतिमा देउवाको प्रतिस्पर्धी बनेका थिए। उनी पहिलो चरणको महाधिवेशनमा हार व्यहोरेपछि दोस्रो चरणमा देउवालाई समर्थन गरे।
अहिले पनि उनी देउवा गुटमै छन्। वर्तमान सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका उनी सहरी विकासमन्त्री समेत हुन्। १३ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार दिएर देउवासँग टक्कर गरेका नेता हुन्, सिटौला। कुनै बेला गिरिजाप्रसाद कोइरालाको निकटस्थ रहेका उनी अहिले देउवा निकट मानिन्छन्। उनी पनि अवसर दिएमा सभापतिको आकांक्षी बन्ने बताउने गरेका छन्।