
काठमाडौँ- सत्तारुढ दलको उच्चस्तरीय संयन्त्रले जसरी भए पनि अध्यादेश पारित गरेर जानुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको संयन्त्र बैठकमा अध्यादेशबारे समस्या नभएको रिर्पोटिङ भएको थियो। अहिले सत्ता घटकका लोसपा नेपाल र जसपा नेपालले अध्यादेशको विपक्षमा अभिव्यक्ति दिए पनि पारित गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको हो।
दुई मधेश केन्द्रित दलले भूमिसम्बन्धी अध्यादेशको विरोध गरिरहेका छन्। तर संयन्त्रको बैठकमा भूमिसम्बन्धी अध्यादेशको विरोध भए पनि विकल्प खोजेर भए पनि अघि बढाउनुपर्नेमा नेताहरूले धारणा राखेको बुझिएको छ।
त्यसका लागि नेकपा एकीकृत समाजवादी र माओवादीलाई समेत सरकारले साथमा लिन पहल गर्नेबारे कुराकानी भएको बालुवाटार स्रोतको भनाइ छ।
शुक्रवार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस नेताहरूको बैठकले एकीकृत समाजवादीलाई अध्यादेशमा सहयोगका लागि आग्रह गर्नेबारे कुराकानी गरेको थियो।
संयन्त्रको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए।