
काठमाडौँ- प्रणय दिवसका अवसरमा वर्तमान कविता समूहले राजधानीमा ‘प्रेमको आदिम गीत’को विमोचन तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एघार कविहरू विधान आचार्य, भीष्म उप्रेती, टंक उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल र ईश्वर थोकरको संयुक्त रुपमा प्रेम कविता संग्रह अंग्रेजी अनुवादसहित ‘प्रेमको आदिम गीत’ विमोचन गरिएको हो।
संग्रहका कविताहरूले प्रेमका विभिन्न आयामहरू आकांक्षा, आवेग, स्मृति, बिछोड र भावनात्मक गहिराइलाई प्रस्तुत गरेका छन्। केही कवितामा प्रेमको गहन भावलाई व्यक्त गर्न प्रकृतिलाई रूपकका रूपमा प्रयोग गरिएको छ, जहाँ नदी, महासागर र ऋतुलाई प्रेमका अभिव्यक्तिका रूपमा चित्रण गरिएको छ।
केही कविताले भने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्दै प्रेमलाई अस्तित्व, समय, र मानव भावनासँग जोडेर व्याख्या गरेका छन्। विविध कवि-स्वरहरूले प्रेमको मिलन र बिछोडलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। कार्यक्रममा रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ रोदनलगायतले प्रणय कविता वाचन गरेका थिए।
कार्यक्रममा वर्तमान कविता समूहका सदस्य तथा शब्दांकुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले वर्तमान कविता समूहको संक्षिप्त परिचय बताउनुका साथै स्वागत मन्तव्य दिएका थिए।
संग्रहका कवि तथा अनुवादक चन्द्रबहादुर लामाले नेपालीबाट अंग्रेजीमा अनुवाद गर्दा कविताको सांस्कृतिक मौलिकता, भावनात्मक गहिराइ र साहित्यिक सौन्दर्यलाई जोगाउन सामना गर्नुपरेको चुनौती व्यक्त गरे। आयोजक समूहका सदस्य कवि विश्व सिग्देलले वर्तमान कविता समूहले कविताको उन्नयनमा पाइला चाल्दै आएको र आगामी दिनमा पनि यो जारी रहने बताए।