महाशक्ति राष्ट्रबाट विश्व जनमानसको अपेक्षा

शोभा खतिवडा ३ फागुन २०८१ १२:१६
1.3k
SHARES
महाशक्ति राष्ट्रबाट विश्व जनमानसको अपेक्षा

वर्तमान विश्वमा शान्ति, स्थिरता र मानवअधिकारको रक्षा एक सामूहिक चासो र जिम्मेवारीको विषय बनेको छ। शक्ति राष्ट्र अमेरिकाले नेतृत्व परिवर्तन पाएलगत्तै उसले लिने नीतिका बारेमा विश्वभर बहस र छलफल हुन थालेको छ। आर्थिक, सैन्य र कूटनीतिक रूपमा प्रभाव राख्ने अमेरिकासमक्ष विश्वशान्ति कायम गर्ने मुख्य जिम्मेवारी पनि छ। पछिल्लो समय अमेरिका युक्रेन छोडेर इजरायलतर्फ लागेको छ। जहाँ अहिले गाजा खाली गराएर त्यसलाई इजरायलको भागका रूपमा स्थापित गर्ने तयारी बुझेकी छु मैले।

म एक नेपाली शिक्षक र गृहिणी हुँ। म राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय केलाएर हेर्छु। अनि त्यसअनुरूपको धारणा बनाउने गरेकी छु। चारचार वर्षमा अमेरिकामा हुने नेतृत्व परिवर्तनले मलाई पनि छुन्छ। यो परिवर्तनसँगै विश्वमा के हुँदैछ भन्ने लागेर यसमा ध्यान दिएकी थिएँ। तर कतिपय कुरामा म सहमत छु भने कतिपयमा छैन। सायद अधिकांशलाई यस्तै भएको हुनुपर्छ। किनभने डोनाल्ड ट्रम्पका कुरा सीधा भए पनि यसको अर्थ अनेक लाग्ने गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पसहित विश्वका प्रमुख शक्तिशाली राष्ट्रका शासकहरूलाई यो अनुरोधपत्र लेख्दैछु। मेरो अपिल व्यक्तिगत मात्र होइन, यो अर्बौँ नागरिकको भावना र विश्व समुदायको चाहनाका रूपमा राखेकी छु। किनभने अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरू अध्ययन गर्दा पनि यस प्रकारको धारणा बुझ्न सकिन्छ।

विश्वबाट युद्ध अन्त्य गराउँछु भनेर चुनावी नारा बोकेका ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिएको एक महिना भएको छैन। उनी आफैँले भनेका कुराहरू गराउने क्रममा उनकै मुलुकमा गरिखान पाइन्छ भनेर ज्ञान, बुद्धि, विवेक, श्रम, जोसजाँगर बोकेर आश्रय लिएर बसेका विश्वभरका नागरिकलाई रुवाएर पठाउन मिल्दैन।

कतिपय नागरिक त अन्य मुलुकमा अध्ययन गरेर संघर्ष गरेर त्यहाँ सेवा गर्न पुगेको कुरा भुल्न हुँदैन। तयार भएका युवालाई केही सानो प्रशिक्षण दिएर त्यहाँका जनतामा समर्पित गराउन पाउने भनेको सामान्य विषय होइन। ट्रम्पजस्ता व्यापारीले झनै बुझ्नुपर्ने कुरा हो। त्यसरी पठाएर अमेरिकाले ती व्यक्तिलाई अपमान गरेको छ। आफ्नामा सेवा गर्ने नागरिक कम गराउँदै अमेरिका एउटा सीमाभित्र रहन खोजेको देखिएको छ।

हुन त युद्धको कुरा रोक्ने विषय रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अनि इजरायलका बेन्जामिन नेतन्याहुले पनि बुझ्नुपर्ने हो। तर एकसँग अर्को नझुक्ने विषयले गर्दा समस्या थप बढेको पनि देख्छु। आफू सुरक्षित बस्ने अनि आफ्ना नागरिकलाई लड्न पठाउने नीति गलत छ।

तिमीहरूले राज्यसत्ता भोगेर सुख पाउन्जेलसम्म मेरो प्रश्न छ, विश्व शान्त हुन्छ भने कुनै एउटाले झुकिदिए के बिग्रन्छ? पुटिनले युद्ध जिते पनि ती निर्दोष युवा सिपाहीको क्रन्दन, रोदन र चिच्याहटले सुख देला त? विजय प्राप्त गरेर पनि तिमीहरूले खुसी पाउँछौ त? युद्ध गर्ने र गराउने अनि त्यो चपेटामा अबोध र निर्दोषहरूलाई पार्ने र मार्ने कार्यले सुख दिन्छ त तिमीहरूलाई? यो विषय बुझेर शान्तिका लागि लाग्न आवश्यक छ।

युद्ध र त्यसको प्रभाव

‘युद्ध’ शब्द सुन्दैमा आङ जिरिंग हुन्छ। मानव इतिहासमा युद्धले सधैँ विनाश मात्र ल्याएको छ। द्वन्द्व, हिंसा र राजनीतिक अस्थिरताले लाखौँ निर्दोष मानिसलाई शरणार्थी जीवन जिउन बाध्य पारेको छ। अघिल्लो शताब्दीका दुई विश्वयुद्धले विश्वको विकासलाई एक शताब्दी पछाडि धेकेलेको देखिन्छ। शीतयुद्धको तनावले विश्व दुई ध्रुवमा बाँडिएर पछि एकध्रुवीय शक्तिमा सबै निर्भर रहन पुग्यो। अमेरिकाले एकध्रुवीय विश्वको नेतृत्व गरिरहेको छ। हालसालै देखिएका क्षेत्रीय युद्धले शान्ति र समृद्धिमा ठूलो धक्का पुर्‍याउने हुनाले यसको निदान गर्न ढिलाइ गर्नु हुँदैन। अहिले अमेरिकी राष्ट्रपति ट्रम्पले कताकति आफ्नो नेतृत्व र लगानी तलमाथि गरेर विश्वलाई फेरि बहुध्रुवमा लैजान खोजेको देखिन्छ।

बिहानबेलुका हातमुख जोर्न काम गर्नेहरू, आफ्ना सन्तानलाई बाटो देखाउनेहरू जसको उद्देश्य कर्ममय जीवन बाँचेर, सत्कर्मले कमाएको कमाइमा परिवारसहितको सुखमय जीवन बाँच्नुबाहेक केही छैन। ती पनि युद्धका कारण थिचिएका छन्। यस्ता सोच बोकेका मानिस पनि तिमीहरूको दम्भ र अभिमानीका कारण युद्धमा घरबारविहीन मात्र नभई क्षतविक्षत बनेर युद्धका गोलाबारुद लागेर विभत्स रूपमा कष्टकर मृत्युवरण गर्न बाध्य भए, लाचार बनेर बाँच्न विवश बने! अनि के दोष थियो ती युद्धको अर्थै नबुझेका निर्दोष मानिसहरूको र ती कर्ममय जीवन बाँचेका सक्षम पुरुषहरूको?

युक्रेन-रूस युद्धले सम्पूर्ण विश्वलाई संकटमा पारेको छ। खाडी राष्ट्र अशान्त छ। इजरायलीहरू अस्तित्वको लडाइँ भन्दै आफू स्पष्ट भएर बस्ने तयारीमा छ। जसले लाखौँ निर्दोष नागरिकको ज्यान लिएको छ। लाखौँ मानिसलाई शरणार्थी बनाएको मात्र होइन बाँचिरहेका नागरिकलाई पनि असर गरेको छ। विश्वको अर्थतन्त्र नकारात्मक ग्राफमा गएको छ। यसले अमेरिका रुस, युक्रेन, इजरायल मात्र होइन यससँग जोडिएका मुलुक पनि प्रभावमा परेका छन्।

नेपालजस्तो असंलग्न मुलुक झनै मर्कामा पर्ने गर्छ। कसको साथ लाग्ने कसको नलाग्ने यो विषय हामीले बुझ्न जरुरी छ। महाशक्ति राष्ट्र हुनाले युद्धमा रमाउने होइन रोक्न पनि उत्तिकै लाग्नुपर्ने हुन्छ। यसका लागि आफ्ना क्षेत्रीय शक्ति र अलायन्सहरूमार्फत कूटनीतिक प्रयास, वार्ता र समझदारी बढाएर सैन्य टकरावलाई रोक्न सक्नुपर्छ। अन्यथा किन अगुवा हुनु? भन्ने प्रश्न पनि उठ्छ।

शान्तिवार्ता पहल

अमेरिकाजस्तो मुलुकले युद्धरत पक्षहरूलाई वार्ताको टेबुलमा ल्याउने पहल गर्नुपर्छ अनिमात्र उसको वर्चस्व कायम हुन्छ। संवाद द्वन्द्वको सबैभन्दा बलियो निकास हो भन्ने कसैले भुल्न हुँदैन। यसका लागि राष्ट्रसंघ, युरोपेली संघ, नाटो, अफ्रिकी संघ मात्र होइन शान्तिका लागि पहलकदमी गर्न सक्ने मुलुकहरूलाई पनि सक्रिय पार्न सक्नुपर्छ। त्यस्ता निकाय र मुलुकलाई प्रभावकारी भूमिका खेल्न शक्ति मुलुकले प्रेरित गर्नुपर्छ।

खासगरी शक्ति राष्ट्रले जसरी आफ्ना रणनीतिक योजना सार्वजनिक गरेर आफू यसरी अघि बढ्न लागेको भन्ने गरेको हुन्छ त्यसरी नै विश्वशान्तिका लागि पहलकदमी लिनुपर्छ। यसअघि राष्ट्रपति हुँदा पनि ट्र्रम्पले जसरी उत्तर कोरियाली राष्ट्रपतिसँग सिंगापुरमा वार्ता गरेर एक प्रकारको सन्देश दिए, त्यस्ता सन्देश दिनेमात्र होइन निचोडमा पुर्‍याउने काम गर्न सक्नुपर्छ। निष्पक्ष  हुनुपर्छ र आफ्नो व्यक्तित्व त त्यस्ता काम गरेपछि यसै विश्वमा चर्चित हुन्छ नै। व्यक्तिगत स्वार्थका लागि नभएर विश्वका लागि नियालेर त्यो काम गर्न आवश्यक छ।

निर्दोष र अबोधलाई मारेर युद्ध गर्नु गराउनु लाउनेहरूले मानव मृत्युको सजाय पाउनु पर्दैन र ? हामी मानव मिलेर बसेको सद्धभावपूर्ण समाजले नै आफूमा भएको ज्ञान-विवेक प्रयोग गरेर समृद्धि र समुन्नतिका आधारशिला खडा गर्न सकिने हो। विकसित राष्ट्र बनाउने हो। विकास गर्न सक्ने हो।  समुन्नतिका अनगिन्ती आधारशिला खडा गर्ने हो र हो सभ्यभव्य समाज स्थापना गर्न सक्ने।

यसरी मानवकै लागि रचना गरिने विश्व तिनै पृथ्वीका गहना मानिस मारेर सजिन्छ त? तिनै मानिस नभए यो विश्वको के अस्तित्व रहला त? कसरी सुन्दर समुन्नत विकसित बन्ला त? हो युद्ध गर्दा तिम्रो शक्तिशालीपन देखिएला! शक्तिको मापन होला? तिमी धनी र शक्तिशाली राष्ट्राध्यक्ष ठहरौला तर सृष्टिको सबैभन्दा सुन्दर संसार मानवीय बस्ती मासिन्छ र यो जगत्‌को गहना बनेको मानव पनि सकिन्छ!

यति कुरा बुझ तिमी शासकहरु, मनन गर र युद्ध बन्द हुनुपर्छ विश्वमा भनेर र सोच यो जटिल कुरा! हो तिमी जितौला युद्ध तर बाँचुन्जेल तिम्रो हृदयले धिक्कार्छ तिमीलाई ती मानव क्रन्दन र त्रासदीपूर्ण आवाजहरुले!! यसैले के युद्ध नहुँदा विकास र समृद्धि आउँदैन र?

मानवीय सहायता आवश्यक

अमेरिकाले विश्वमा सहायता कटाएको विषयले विश्वभर चर्चा हुन थालेको छ। यसले अमेरिकालाई खुम्चिँदै गएको संकेत गर्छ। त्यो हामीले हुन दिनु हुँदैन। उल्टो अ‍ेमरिकाले युद्धग्रस्त क्षेत्रहरूमा राहत, पुनर्निर्माण र शरणार्थी पुनर्वासका लागि ठोस कार्यक्रम ल्याउन सक्नुपर्छ। अनि त्यसको समाधान दिनुपर्छ। अमेरिका पहिलो भन्ने अनि सबै कुरामा बन्देज लगाउँदै गएपछि कसरी पहिलो हुन्छ? उदार नीतिले अमेरिकालाई अघि बढाउने हो। अन्यथा त्यो सम्भव छैन। अमेरिकाले प्रयोग गरेको प्रविधि संसारमा पुर्‍याएर त्यसमार्फत आउने रोयल्टीले चलेको मुलुक आफैँमा उर्भरभूमि पनि हो। त्यसैले पनि अमेरिकाले आफूलाई सम्हालेर अघि बढ्दा कतै संकट हुने र अमेरिका सानो हुने होइन।

युद्धले खाद्यान्न संकट, इन्धनको मूल्यवृद्धिलगायतका समस्या सिर्जना गरिसकेको छ। अमेरिकाले युद्ध रोक्दै पुरानै लयमा विश्व अर्थतन्त्र फर्काउन पहलकदमी लिनुपर्छ। अमेरिका आफैँ निरंकुश बन्ने होइन।

के दोष थियो ती भर्खर विवाह बन्धनमा बाँधिएर सुखमय जीवनको परिकल्पना गरेर बसेका र धेरै पैसा लिएर आउँछ मेरो मानिस र जीवन सुखमय रूपमा व्यतीत गरौँला भनी सपना सजाएर बसेका महिलाको जसका पति नै युद्धमा मारिए या युद्धबन्दी बनेर जीवनमरणको दोधारमा हरपल बाँचे । अनि परिवार पाल्न र केही कमाउने उद्देश्य बोकेर युवा जोश, जाँगर पराइ देशको सेनामा भर्ना हुन जाने युद्ध नै नगर्ने कैयौँ देशका ती युवा शक्तिको जसले अर्काको देशको सुरक्षाका लागि आफ्नो जीवन आहूति दिनुपरेको खबरले पनि मलाई दु:खी बनाएको छ।

आफ्नो काममा वा घरमा बसिरहेकाहरू युद्धमा होमिनुपर्ने र आफू घरबारविहीन बनेर आफू जन्मिएको र बसोबास गरेको देश, घर, भएको व्यापार, पेसा, पढाइ सबै छाडेर शरणार्थी जीवन बाँच्न बाध्य हुनुपर्ने? यसमा पनि के दोष ती आमाको गर्भमा हुर्किएका अनगिन्ती अबोध बालबालिकाको र जो युद्धमा जननीसितै मारिनुपर्ने? के दोष थियो ती भर्खर जन्मिएर आँखा उघार्न सिकेका र आमाको काखको न्यानोमा सुरक्षित बसेका र आमाको स्तनपानमा जीवन सुरक्षित पारेका अबोधको र तिनले युद्धको चपेटामा पर्नु र मर्नुपर्ने? अनि बाबुआमा नै खोसिएर बेसहारा, घाइते अन्धो र अपांग बनेर जीवन बाँच्नुपर्ने?

के थाहा ती भर्खर बामे सरेका, टुकुटुकु हिँडेका, तोते बोलेर सुन्दर बाल्यकाल सुरु गरेका अनि स्कुल, घर गरेर भविष्य खोज्न सुरु गरेका हरेक उमेरका युवायुवतीहरुको र तिनले या त अभिभावक गुमाउनुपर्ने या युद्धमा मारिनुपर्ने या अपांग र बेसहारा बनेर तड्पी-तड्पी जीवन बाँच्नुपर्ने या मारिनु पर्ने! यो स्तरको अध्ययन अनि बुझाइ यसकै लागि मात्र हो त भन्ने पनि लाग्छ।

आमनागरिक युद्ध रुचाउँदैनन्

साधारण नागरिकले युद्धलाई घृणा गर्छन्। उनीहरू युद्ध चाहँदैनन्। उनीहरूलाई स्थिरता, सुरक्षित जीवन, सुशासन, खुला बजार र शान्त समाज चाहिन्छ। कुनै पनि राष्ट्रका जनताले आफ्ना सरकारलाई आफ्नो मुलुकभित्र शान्ति कायम भएको हेर्न चाहन्छन्। त्यो हामीले भुल्नै हुँदैन। शान्तिका लागि आमनागरिकले मौन वा अन्य प्रकारको
दबाब दिइरहेका हुन्छन्।

त्यसैले  विश्वका महाशक्ति राष्ट्रहरूले आफ्नो कूटनीतिक, आर्थिक र सामाजिक शक्ति प्रयोग गरी स्थायी शान्ति स्थापना गर्न विशेष पहल गर्नुपर्छ। केवल सैन्य शक्ति होइन, मानवीय भावना, आपसी समझदारी र अन्तर्राष्ट्रिय सहयोगले नै विश्वलाई सुरक्षित बनाउन सक्छ।

असल नियत भएका इमानदार शासक र समुदायका मानिसले मात्रै स्कुल, कलेज र विश्वविद्यालयहरूलाई मुलुकको समृद्धिका वाहक बनाउने ल्याकत राख्छन्। त्यसैले ज्ञान प्राप्त गर्ने ज्ञानका आलयहरु, महा विद्यालयहरु खोली युद्धले हैन शान्ति र सद्धभाव जगाएर यो विश्वमा बाँच्न सकिने सन्देश विश्वमा बाँडर बस्नुपर्छ कुनै पनि देशका शासकहरुले! न कि दम्भ, अहंकार या शक्ति प्रदर्शन गरी मानव र मुलुक संहार गराउने युद्ध गराएर! यसैले पनि विश्वमा शान्ति, अमनचयन आउनका लागि विश्वबाट युद्ध अन्त हुनैपर्छ र विश्व वाताjरण जोगाउन पनि विश्वका नेता चनाखो मात्र हैन सक्रियताका साथ लागेर वातावरण सन्तुलन गराई राख्न एकताबद्ध हुनैपर्छ।

अनि जो भर्खर जीवन सुरु मात्र गर्दै छन्  ती अबोध विनादोष युद्धमा मारिन्छन् र क्षतविक्षत बन्छन्। के तिनले यसरी मारिनु संसारकै सबैभन्दा ठूलो मानव अधिकार हनन हुनु हैन? अनि मानिस भएर जन्मन पाएको जन्मसिद्ध अधिकारको हनन हैन र? अनि युद्ध गर्न गराउन उक्साउनु मानवताविरोधी अपराध हैन र? आमाको गर्भ, काख र आफ्नो सुरक्षित घरमा सुतेका, आँगनमा खेलेका र साना कक्षामा पढ्ने अबोध बालबालिका र शिशुहरु युद्धको प्रभावमा परेर मारिनु अक्षम्य युद्ध अपराध हैन र?

निष्कर्ष

युद्ध कुनै पनि समस्या समाधानको उपाय होइन। त्यसैले विश्वका शक्तिशाली राष्ट्रहरूलाई म यो अपिल गर्न चाहन्छु कि उनीहरूले युद्ध रोक्न ठोस कदम चालून्, शान्तिवार्ता बढाऊन् र समृद्धि तथा स्थायित्वतर्फ अग्रसर होऊन्। अमेरिकी राष्ट्रपतिसहित विश्वका शक्तिशाली राष्ट्रका शासकहरूलाई यो अनुरोधपत्र लेखेको हुँ।

किनभने मानव जीवन अमूल्य छ र युद्ध यसको सबैभन्दा ठूलो विनाशकारी शत्रु हो। युद्धले जनधनको क्षति मात्र पुर्‍याउँदैन मानवताको मूल आधार कमजोर बनाउँछ। यसकारण, युद्ध रोक्ने र शान्ति स्थापनाका लागि ठोस पहल आवश्यक छ।

अतः, विश्वभर शान्ति स्थापना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सहकार्य, संवाद र समझदारीलाई प्रवर्द्धन गर्न शक्ति राष्ट्रहरू अग्रसर हुनुपर्छ। किनभने विश्वको शक्तिशाली देशका शासकका नाताले महत्त्वपूर्ण योगदान गर्न सक्नुपर्छ ट्रम्पले र मानवअधिकारको सुरक्षाको संवर्धन गर्नुपर्दछ उनले। युद्ध अविलम्ब अन्त्य हुनैपर्छ। त्यसका लागि अमेरिकाले जति मूल्य चुकाएर पनि पहलकदमी लिनुपर्छ।

उनकै देशमा काम गरेर, गरिखान बसेका अनेक मुलुकका जनतालाई तिनको भविष्य अन्धकार हुने गरी देशनिकालाको आदेश दिनेभन्दा त्यसको व्यवस्थापन महत्त्वपूर्ण हो। अमेरिकाजस्तो मुलुकमा लुकीछिपी प्रवेश गर्न नसक्ने नियम बनाउने हो। पसेकालाई निकालेर चोरझैँ बनाएर पठाउने होइन। विश्वले अमेरिकालाई सपनाको देश मात्र होइन ल्यान्ड अफ अपरचुनिटी (अवसरको भूमि) पनि भनिरहेका छन्। त्यसैले पनि त्यहाँ जाने सपना सबैले देखेर नै विश्वशक्ति भएको हो। अन्यथा किन? अमेरिकाभन्दा शान्त विकसित मुलुक त अरू पनि छन् तर किन त्यहाँ भन्दा अमेरिका नै रुचाउँछन्?

खै के भयो त पहिलो विश्वयुद्धमा कैयौँ र दोस्रो विश्वयुद्धमा अन्दाजी तीन करोड तीस लाख मानिसको सहादत या दहन भयो। तीमध्ये ६० लाख बढी त यहुदी मात्रै मारिए। ती सबै मारिए र यसरी कति मानिस मार्दा र कुनकुन देश र के के कुरा जित्दा शासकहरु खुसी र सन्तुष्ट हुने हुन् त?  यो पनि प्रश्न ट्रम्पलाई मात्र होइन शासन गर्ने सबैलाई। युद्धले गरेको सबैभन्दा ठूलो संहार मानव विनाश हो यति बुझेर मानव हितमा काम गर्ने र अहिले भनेको झैँ विश्व एक गाउँ जस्तो हुने गर्नुपर्छ। विश्वबाट युद्ध अन्त्य हुनैपर्छ र होस् भन्ने मेरो अनुरोध हो !! भिन्न पहिचान बोकेका मानिसको पनि मानवअधिकार हनन हैन सुरक्षित गर्ने सोच बनाऊँ ट्रम्प अनि अन्य शासकहरू!

नेता र शासकहरु उत्तम चरित्र भएका योग्य, इमानदार र असल हुनैपर्छ । हरेक राष्ट्रमा र तिनै योग्य, असल र इमानदारहरू नेता, असल कर्मचारी, जनमानसहरूबाट राष्ट्र को समृद्धिको खाका कोरिनुपर्छ! बल्लतल्ल पाएको यस्तो सुन्दर मानव जुनी खराब वातावरणमा हैन सुरक्षित, सुन्दर र समुन्नत सुखमय वातावरणमा सहजताका साथ बाँच्न पाउनुपर्छ हरेक मानिसले न कि यसको विपरीत युद्धको चपेटामा परेर? यो पनि उत्तर मागेँ मैले।

प्रकाशित: ३ फागुन २०८१ १२:१६

प्रतिक्रिया

6 thoughts on “महाशक्ति राष्ट्रबाट विश्व जनमानसको अपेक्षा

  1. सघन बिश्लेषणात्मक लेख । यो लेख कसैले अंग्रेजी, रुसि, युक्रेनी, बिब्रु आदिअमा उल्था गरि तेताका र महासागर पारीका सामाजिक संजालमा फैलाउन सके, कतै महाशासकहरुको नतनाकृष्ट हुन्थ्यो कि?! यी वाक्यहरु साह्रै कारुणिक लाग्यो:
    “जो भर्खर जीवन सुरु मात्र गर्दै छन् ती अबोध विनादोष युद्धमा मारिन्छन् र क्षतविक्षत बन्छन्।….. के यसरी मारिनु संसारकै सबैभन्दा ठूलो मानव अधिकार हनन हुनु हैन र? अनि मानिस भएर जन्मन पाएको जन्मसिद्ध अधिकारको हनन हैन र?”
    युद्ध पिपासुअहरुले कान खोलेर सुनुन्।
    जय होस्। लेखकको मेहनत लाई साधुवाद !

  2. कति मिठो लेख लेख्नु भयो लेखिका ज्यू ले ! शुभकामाना छ 🙏🏼🙏🏼

    1. सुन्दर तथा सन्देश मुलक लेख प्रकाशित भएकोमा हजुरलाई शुभकामना

  3. समय सापेक्ष सुन्दर लेखनका लागि बधाई टक्र्याउँदछु।

  4. साह्रै राम्राे लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast