
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले पार्टीले निर्णय गरेमा यूएईबाटै राजीनामा पठाउने बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मन्त्री भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएपछि उनको यस्तो अभिव्यक्ति आएको हो।
मन्त्री भण्डारी हाल पुनः श्रम स्वीकृति वितरणका लागि यूएई भ्रमणमा छन्। उनले हिमालप्रेससँग शुक्रबार फोन सम्पर्कमा भने, ‘म यूएईमै भएकै बेला पार्टीले निर्णय गरेमा राजीनामा दिएर स्वदेश फर्किनेछु।’
पार्टीको प्रतिनिधि भएका कारण नेतृत्वको निर्णय मान्नुपर्ने उनको भनाइ छ। ‘पार्टीले सरकारबाट फिर्ता बोलाए राजीनामा दिनुपर्छ। यो राजनीतिको मर्म हो’, भण्डारीले भने।
सरकारले ल्याएको केही अध्यादेशमा लोसपा विपक्षमा छ। त्यही भएर यूएईमा कतिपय भेटघाट र श्रमिकसँग छलफलका कार्यक्रम छोट्याएको उनले जानकारी दिए। अबुधाबीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले श्रम स्वीकृति वितरणको शुभारम्भ गरेका छन्। उनी सोही कार्यक्रमका लागि मंगलबार त्यसतर्फ गएका थिए। मन्त्री भण्डारी आइतबार स्वदेश फर्किने कार्यक्रम छ।
गत चैतमा पनि यूएई भ्रमणकै क्रममा भण्डारीको मन्त्री पद गएको थियो। उनी स्वदेश फर्किने क्रममा सरकार फेरिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा डोलप्रसाद अर्याल आएका थिए। गत असार अन्तिममा प्रचण्ड नेतृत्वको सरकार ढेलपछि भण्डारीले फेरि श्रममन्त्रीकै जिम्मेवारी पाएका थिए। भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत रहेको भन्दै लोसपाले अस्वीकार गर्ने निर्णय गरिसकेको छ।
सम्बन्धित
भूमि अध्यादेश पारित गर्न खोजे हामी सरकारबाट बाहिरिन्छौँ : मनीष मिश्र, महासचिव लोसपा नेपाल