नेसपा र नेकपालाई यसरी अलमल्याउँदै छन् प्रचण्ड

किरण पौडेल १ फागुन २०८१ २१:२५
52
SHARES
नेसपा र नेकपालाई यसरी अलमल्याउँदै छन् प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेसपाका नेताहरूलाई फागुन १ सम्ममा एकता गर्ने आश्वासन दिएका थिए। सोही आश्वासनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट अलग भएका महिन्द्र राय यादव र गंगानारायण यादव बिलखबन्दमा छन्।

एक वर्षअघि भट्टराईसँग अलग भएका यादव र श्रेष्ठको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) सुस्त छ। यसबीचमा भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निर्माण गरेर पहिलो महाधिवेशनसमेत सम्पन्न गरिसकेका छन्। नेसपा भने निष्क्रियजस्तै बनेको हो। लामो समय भट्टराई साथमा रहेका गंगानारायण माओवादी केन्द्रसँग एकता गर्न भनेर गत चैतमा अलग भएका थिए। महिन्द्र-गंगानारायण समूहको दाबी थियो- हामी आधिकारिक नेसपा हौँ, माओवादीसँग चाँडै एकता गर्छौँ।

दुवै नेता माओवादीको चुनाव चिह्न हँसियाहथौडा लिएर निर्वाचित भएका नेता हुन्। श्रेष्ठ प्रदेशसभा सांसद हुन्। उनी २०७९ को चुनावमा सिन्धुली (२, ख) बाट निर्वाचित भएका थिए। यसैगरी राय प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-२ बाट निर्वाचित भएका थिए। उनीहरू माओवादीमा मिसिने निधो गर्दै बाबुरामबाट विभाजित भएका थिए। उनीहरू विभाजित बनेको पनि एक वर्ष हुन लाग्दा पनि माओवादीसँग एकता हुने सुरसार छैन। नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड एकता एकता गर्ने पक्षमा छैनन्। त्यसैले एकता कहिले हुन्छ भन्ने कसैलाई थाहा छैन।

नेसपाका नेताहरूसमेत तत्काल एकता भइहाल्ने बताउन छाडेका छैनन्। ‘माओवादीको अबको महाधिवेशन एकता महाधिवेशन हुनेछ। हामी त्यसअघि नै एकता गर्नेछौँ,’ नेसपा नेता  श्रेष्ठ भन्छन्। माओवादीको महाधिवेशन भने अनिश्चित छ। माघमा बसेको माओवादी केन्द्रीय समिति बैठकले एक वर्षपछि महाधिवेशन गर्ने निर्णय गरेको थियो। ‘माओवादीको महाधिवेशन प्रचण्डलाई मन लाग्दा हुन्छ। विगतमा भएको पनि यस्तै हो,’ माओवादीका एक पदाधिकारी भन्छन्।

केही महिनाअघिसम्म प्रचण्डले माओवादीको केन्द्रीय समिति बैठकबाट महाधिवेशन तोकिने बताएका थिए। माघमा बसेको केन्द्रीय समिति बैठकले मिति तोक्नु त परको कुरा महाधिवेशन एक वर्ष धकेल्यो। माओवादी नेताहरूको बुझाइ छ- जति महाधिवेशनको मिति धकेलिन्छ त्यति नै एकता ढिला हुन्छ।

माओवादीसँग एकताको चर्चा चलेको अर्को पार्टी हो विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। माओवादीले नेकपासँग एकताका लागि वार्ता समितिसमेत बनाएको छ। एकताका लागि अन्य कुनै काम अघि बढेको छैन। नेकपाले एकताका लागि प्रचण्ड तयार नभएको आरोप लगाउँदै आएको छ।

प्रचण्डले भने आफू एकताका लागि तयार नभएको निराधार हल्ला भन्दै खण्डन गर्दै आएका छन्। यद्यपि उनले एकीकृत समाजवादीसँग एकताको कुरा उठाएका छन्।

किन भएन एकता?

जानकारहरूका अनुसार नेसपा र नेकपासँग एकता धकेलिनुको प्रमुख कारक प्रचण्ड हुन्। नेसपाका एक नेता भन्छन्, ‘प्रचण्डले चाहे अहिल्यै एकता हुन्छ।’ ती नेताको बुझाइमा प्रचण्ड हतारिएर एकता गर्ने पक्षमा छैनन्। प्रचण्डले विगतमा हतारिँदै एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्घटना भएको बताउने गरेका छन्।

नेसपाका ती नेताका अनुसार एकता नहुनुको कारण माओवादीभित्रको असन्तुष्टि मुख्य हो, जुन प्रचण्डकै लागि घातक बन्दैछ। ‘प्रचण्डपछिका दोस्रो स्तरका नेताको गुट लडाइँले पनि एकता धकेलिएको हो,’ ती नेता भन्छन्, ‘पद संकटमा पर्ने डर दोस्रो स्तरका नेताको छ। यसैले एकता नभएको हो।’

उनका अनुसार प्रचण्ड, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनबीच समन्वय नहुँदा एकतामा ढिलाइ भइरहेको छ। ‘भोलि विप्लवलाई ल्याएर महासचिव बनाए भाग पुग्दैन भन्ने लागेको छ’, ती नेता भन्छन्।

विप्लव नेकपाका नेताहरू पनि एकता नहुनुको मूल कारण प्रचण्ड नै भएको बताउँछन्। ‘हामीले बैठकमै भनेका हौँ, हामी जति सक्रिय छौँ, त्यति सक्रिय प्रचण्ड भएनन्’, नेकपा नेता सुमन सिंह सी भन्छन्।
सिंहका अनुसार माओवादीसँग नेकपाको एजेन्डामा समेत एकरूपता भएको छैन। ‘हाम्रो त पहिलो प्राथमिकता एकतामै छ। समाजवादका विषय खोजअनुसन्धान गर्ने जोकोहीसँग एकता हुन्छ तर माओवादी गम्भीर भएन’, सिंह भन्छन्।

ध्रुवीकरण बदलिन खोजपछि तर्सिए नेसपा-नेकपा

प्रचण्ड एकीकृत समाजवादीसँग समेत एकता हुने दाबी गरिरहेका छन्। समाजवादी मोर्चामा रहेका सबै दलसँग ‘बृहत् ध्रुवीकरण’ गर्ने प्रचण्डको भनाइ छ। गत माघ १९ मा चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले एकीकृत समाजवादीसँग एकता गर्ने तयारी भएको बताएका थिए। समाजवादी भने तत्काल एकताका पक्षमा छैन। समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकता भइहाल्ने वातावरण नबनेको दाबी गर्छन्। विप्लवसहितका नेता पनि समाजवादी मोर्चालाई एक बनाउने पक्षमै छन्।

‘सैद्धान्तिक रूपमा एकता गर्न हामी तयार छौँ। कार्यनीतिक रूपमा माओवादीसँग तत्काल एकता हुँदैन,’ समाजवादीका एक नेता भन्छन्। नेसपा र नेकपासँग जति एकताको कुरा अघि बढेको छ, त्यो स्तरमा समाजवादीसँग अघि बढेको छैन। यदि समाजवादीसँगै सबैको एकता हुने हो भने नेकपा-नेसपासँग पनि एकता झनै टाढिने नेताहरू बताउँछन्।

‘एकतामा ढिलाइ भइरहेकै छ। अब समाजवादीसँगै एकता गर्ने हो भने त झनै ढिला हुन्छ’, नेसपाका एक नेता भन्छन्। प्रचण्डले समाजवादीसँगै एकता गर्ने भन्नुको अर्थ अन्य पार्टीसँग एकता धकेलिनु हो भन्ने नेसपाका नेताहरूको बुझाइ छ। ‘जति धेरै सिद्धान्तका कुरा गरे पनि माओवादीले संसदीय दलसँग नै आकर्षित देखिन्छ,’ नेकपाका नेता सिंह भन्छन्, ‘हामी समाजवादी कार्यक्रम लागू भए मात्र एकता गर्छौँ।’

एकता कहिले हुन्छ थाहा छैन : मातृका यादव

माओवादीभित्र एकताको चर्चा चल्नै छाडेको नतोहरू बताउँछन्। ‘पार्टीभित्र एकताको कुरा मैले सुनेको छैन, चलिरहेको होला’, माओवादीका उपमहासचिव मातृका यादव भन्छन्।’ यादव कार्यदल बनेकाले भित्रभित्रै काम भइरहेको अनुमान गर्छन्।

माओवादीले एकताका लागि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल गठन गरेको छ। महरा समेत पछिल्लो समय एकताका लागि सक्रिय नभएको माओवादीका अर्का एक नेताले बताए।

प्रकाशित: १ फागुन २०८१ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast